विश्वकप छनोट: जित्नै पर्ने दबाबबीच नेपाल नेदरल्यान्ड्ससँग भिड्दै

दाङ समाचार
दाङ समाचार ९ असार २०८०, शनिबार
2 Min Read
Aa

काठमाडौँ– आइसिसी विश्वकप छनोटअन्तर्गत आफ्नो समूह चरणको अन्तिम खेलमा नेपाल शनिबार नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दै छ। जिम्बावेको ताकाशिंगा स्पोर्ट्स क्लबमा खेल आज १२:४५ मा सुरु हुँदै छ।

नेपाललाई समूह ‘ए’ मा शनिबार नेदरल्यान्ड्सलाई पराजित गर्नुबाहेक विकल्प छैन। नेपाल पराजित भएको खण्डमा समूह चरणबाटै बाहिरिने भएकाले ‘सुपर सिक्स’ का लागि नेदरल्यान्ड्सलाई हराएर आफ्नो आश कायम राख्न पनि जित्नु पर्ने दबाब रहेको छ।

नेपाल पहिलो खेलमा जिम्बावेसँग ८ विकेट र तेस्रो खेलमा वेस्ट इन्डिजसँग १ सय १ रनले पराजित भएको थियो। तर अमेरिकालाई ६ विकेटले हराएका कारण नेपालको सम्भावना कायम रहेको थियो। नेदरल्यान्ड्स जिम्बावेसँग ६ विकेटले पराजित हुँदा अमेरिकालाई ५ विकेटले हराएको थियो।

नेपालले आजको खेल जितेपछि समूहको शीर्ष तीनको तय भने नेदरल्यान्ड्स र वेस्ट इन्डिजबीच सोमबार हुने खेलले तय गर्ने छ। यदि अन्तिम खेलमा नेदरल्यान्ड्सले वेस्ट इन्डिजलाई पराजित गरेमा नेट रनरेट माथि रहने टिम ‘सुपर सिक्समा’ पुग्ने छ।

दुबै खेलमा नेपाल ब्याटिङभन्दा बलिङमा गरेको गल्तीका कारण पराजित भएकाले सोमबार बलिङ सुधार नेपालका लागि चुनौती रहेको छ। पछिल्लो समय सुध्रिएको ब्याटिङलाई कायम राख्दै आफ्नो धारिलो बलिङ छविलाई कायम राख्न सकेमा नेपाल शीर्ष तीनमा पुग्ने निश्चित छ।

तर नेदरल्यान्ड्सविरुद्ध पनि वेस्ट इन्डिजको गल्ती दोहोरिएमा नेपालको विश्वकप सपना छनोटको समूह चरणमा नै अन्त हुने पक्का छ।

नेपाल र नेदरल्यान्ड्ले एकदिवसीय अन्तर्राष्ट्रियमा अहिलेसम्म एक-अर्का विरुद्ध दुई पटक प्रतिस्पर्धा गरेका छन्। नेपाल एक खेलमा जित र एक खेलमा पराजित भएको छ।

नेपालले आफ्नो पहिलो ओडिआइमा २०१८ को १ अगष्टमा नेदरल्यान्ड्सविरुद्ध पहिलो खेल खेलेको थियो। यो खेल नेपालले एकदिवसीय मान्यता पाएपछिको पहिलो खेल थियो। तर नेपाल ऐतिहासिक खेलमा नेदरल्यान्ड्ससँग ५५ रनले पराजित भएको थियो।

सोही सिरिजको दोस्रो खेलमा ३ अगस्ट २०१८ मा भने नेपालले रोमाञ्चक एक रनको जित निकालेको थियो। नेपाल ४८ दशमलब ५ ओभरमा २ सय १६ रन बनाएको थियो। जवाफमा नेदरल्यान्ड्स निर्धारित ५० ओभरका २ सय १५ रनमा अलआउट हुँदा नेपालले १ रनको रोमाञ्चक जित निकालेको थियो। #Deshsanchar

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्