दाङ – “धानबालीमा सघनता : खाद्य सुरक्षा र आत्मनिर्भरता” भन्ने नाराका साथ लमही नगरपालिकाले २२ औं राष्ट्रिय धान दिवस विभिन्न कार्यक्रम गरी मनाएको छ। कृषि शाखा, किसान, जनप्रतिनिधि र स्थानीयको सहभागितामा रोपाइँ कार्यक्रम आयोजना गर्दै दिवसको अवसर मनाइएको हो।
कार्यक्रममा नगरप्रमुख जोगराज चौधरीले धान नेपाली समाज, अर्थतन्त्र र संस्कृतिमा अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गर्दै, स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्नुपर्नेमा जोड दिए । उनले जलवायु परिवर्तन, उत्पादनमा गिरावट, मल–बीउको अभाव जस्ता चुनौतीबीच आत्मनिर्भरता हासिल गर्न आधुनिक कृषि प्रणाली अवलम्बन गर्नुपर्ने धारणा राखे ।
उनले भने, “धान दिवसलाई केवल परम्परागत उत्सवका रूपमा नभई, कृषि सुधार, आत्मनिर्भरता र आर्थिक समृद्धिको अवसरको रूपमा लिनुपर्ने समय आएको छ ।”
त्यसैगरी, उपप्रमुख लक्ष्मी योगीले तराई क्षेत्रलाई देशको अन्नको भण्डारको रूपमा चिनिँदै आएको उल्लेख गर्दै, बाँझो जमिनमा खेती प्रवर्द्धन गर्नुपर्ने बताइन् । “हाम्रो तराई क्षेत्र उब्जाउ जमिनले भरिएको छ । तर ती जमिन खाली राख्दा हामी खाद्यान्नमा परनिर्भर हुँदै गएका छौं,” उनले भनिन्, “अब नगरपालिकाले बाँझो जमिनमा खेती प्रवर्द्धन गर्दै खाद्यान्न आयात घटाउने र निर्यात बढाउनेतर्फ ध्यान दिन जरुरी छ ।”
प्रमुख प्रशासकीय अधिकृत प्रकाश देवकोटाले लमही नगरपालिकाले कृषिमा यान्त्रीकरण, सहकारी प्रवर्द्धन तथा मल–बीउको सहज आपूर्ति लगायत कार्यक्रममार्फत किसानलाई सहयोग गर्दै आएको जानकारी दिए । उनले कृषि क्षेत्रमा युवालाई आकर्षित गर्न र आधुनिक प्रणाली लागू गर्न आवश्यक रहेको बताए ।
“कृषि क्षेत्रलाई आधुनिक बनाउन यान्त्रिक उपकरणको प्रयोग, सहकारी संस्था मार्फत उत्पादन र वितरण प्रणालीको विकास तथा बीउ र मलको भरपर्दो आपूर्तिले मात्र किसानलाई आत्मनिर्भर बनाउन सकिन्छ,” देवकोटाले भने । उनले कृषिलाई व्यवसायिक बनाउने लक्ष्यसहित कृषि उद्यमशीलता विकासमा नगरपालिकाले विशेष ध्यान दिँदै आएको पनि बताए । कार्यक्रममा लमही नगरपालिका-१ का वडा अध्यक्ष दामोदर पौडेल र ६ का वडा अध्यक्ष श्याम नारायण चौधरीको समेत उपस्थिति थियो ।
धान दिवसको अवसरमा उत्कृष्ट कृषकका रूपमा लमही नगरपालिका–१, २, ३ का तर्फबाट लबरु चौधरी (लौसुमा पशुपंक्षी तथा तरकारी फर्म), वडा नं. ४, ५, ६ का तर्फबाट बसन्त प्रकाश चौधरी (पुष्प नर्सरी) र वडा नं. ७, ८, ९ का तर्फबाट देउमनि चौधरी (संवृद्धि पशुपंक्षी तथा कृषि फर्म) लाई नगद ३ हजार रुपैयाँ र प्रमाणपत्रद्वारा सम्मान गरिएको छ । नगरपालिकाले आगामी वर्षमा धान दिवसलाई अझ प्रभावकारी र सहभागीमूलक बनाउने तयारी गरिने जनाएको छ । कार्यक्रमको सहजीकरण कृषि शाखा प्रमुख कमलराज विसीले गरेका थिए ।








प्रतिक्रिया दिनुहोस्