दाङ १ मा कांग्रेसको क्षेत्रीय नेतृत्वका लागि गिरी र घिमिरे बीच प्रतिस्पर्धा, अधिकांश पदमा निर्विरोध

दाङ समाचार
दाङ समाचार १२ आश्विन २०८३, सोमबार
4 Min Read
Aa

दाङ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दाङ क्षेत्र नम्बर १ मा क्षेत्रीय कार्यसमिति, प्रदेश प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिका लागि उम्मेदवारी दर्ता प्रक्रिया सम्पन्न भएको छ। उम्मेदवारी दर्तासँगै क्षेत्रीय नेतृत्वका केही महत्वपूर्ण पदमा प्रतिस्पर्धा हुने भएको छ भने अधिकांश पदमा उम्मेदवारहरू निर्विरोध निर्वाचित भएका छन ।

दाङ क्षेत्र नम्बर १ को क्षेत्रीय सभापति पदका लागि दिनेश गिरी र कुमार घिमिरे गरी दुई जनाको उम्मेदवारी परेको छ । गिरी एक कार्यकाल प्रदेश ‘ख’ को सभापतिको जिम्मेवारी सम्हालिसकेका अनुभवी नेता हुन भने घिमिरे विद्यार्थी राजनीतिबाट उदाएका युवा नेता हुन ।

त्यस्तै, क्षेत्रीय सचिव पदका लागि प्रकाशकुमार जिसी, गोविन्दकुमार वली र आशिष पौडेल गरी तीन जनाको उम्मेदवारी परेको निर्वाचन अधिकृत अर्जुनकुमार अधिकारीले जानकारी दिएका छन । जिसी र वली अघिल्लो कार्यसमितिमा सहसचिवका रूपमा काम गरिसकेका छन भने पौडेल तरुण दलको राजनीतिबाट आएका युवा नेता हुन ।

यसैगरी, प्रदेश ‘क’ को सभापतिमा किरण पौडेलसहित सम्पूर्ण पदाधिकारी निर्विरोध निर्वाचित भएका छन ।

प्रदेश ‘ख’ को सभापति पदमा भने हरिहर शर्मा, लालवीर खड्का र किरण विक्रम शाह गरी तीन जनाको उम्मेदवारी परेको छ। शर्मा क्षेत्रीय सचिवका रूपमा काम गरिसकेका छन भने खड्का प्रदेश ‘ख’ का निवर्तमान सचिव हुन । शाह पत्रकारितामार्फत प्रेस युनियनको जिल्ला उपाध्यक्ष तथा नेपाल तरुण दल दाङ–१ का क्षेत्रीय अध्यक्षको जिम्मेवारी सम्हालिसकेका छन । उनी अघिल्लो कार्यकालमा नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर १ को क्षेत्रीय सदस्यसमेत थिए ।

दाङ क्षेत्र नम्बर १ मा सभापति, सचिव र प्रदेश ‘ख’ को सभापति पदबाहेक अन्य अधिकांश पदमा निर्विरोध निर्वाचन भएको निर्वाचन समितिले जनाएको छ ।

समावेशीतर्फ थारु समानुपातिकमा कांग्रेसका सहमहामन्त्री योगेन्द्र चौधरी, सुशिला चौधरी, शिवा चौधरी र हिरालाल चौधरी निर्विरोध निर्वाचित भएका छन । मधेसी समानुपातिकतर्फ एक पदका लागि अनुराग यादव र पवनकुमार नेपाली गरी दुई जनाको उम्मेदवारी परेको छ ।

त्यस्तै, केन्द्रीय महाधिवेशन प्रतिनिधिको खुलातर्फ २५ जनाको उम्मेदवारी परेको छ । श्रमिकतर्फ चार जना र पेशागत विज्ञतर्फ एक जनाको उम्मेदवारी परेको छ ।

समानुपातिक दलिततर्फ लोका कुमारी विश्वकर्मा निर्विरोध निर्वाचित भएकी छन भने महिला कोटामा ६ जनाको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ । समानुपातिक मुस्लिमतर्फ दुई जना निर्विरोध निर्वाचित भएका छन ।

यसैगरी, दलिततर्फ चार जना, अल्पसंख्यकतर्फ दुई जना, अपांगतातर्फ दुई जना, प्रजातन्त्र सेनानी तथा द्वन्द्व परिवार प्रभाविततर्फ चार जना, आदिवासी जनजातितर्फ तीन जना र खस–आर्यतर्फ पाँच जनाले केन्द्रीय महाधिवेशन प्रतिनिधिका लागि उम्मेदवारी दिएका छन । जेनजी युवा समूहबाट पाँच जनाको उम्मेदवारी परेको छ ।

उम्मेदवारी दर्ता भइसके पनि प्रतिस्पर्धा देखिएका पदहरूमा सहमतिको प्रयास जारी रहने नेताहरूले बताएका छन । सकेसम्म सबै पदमा सहमति कायम गरी सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास भइरहेको उनीहरूको भनाइ छ ।

१५औँ महाधिवेशनमा युवा पुस्ताको सक्रियता उल्लेख्य रूपमा बढेको देखिएको छ । दाङ क्षेत्र नम्बर १ मा पनि क्षेत्रीय सभापति, सचिव तथा प्रदेश ‘ख’ को सभापतिजस्ता महत्वपूर्ण पदमा देखिएको प्रतिस्पर्धाले अधिवेशनलाई थप चासोपूर्ण बनाएको छ ।

नेपाली कांग्रेसले १५औँ महाधिवेशनको निर्वाचन प्रक्रियामा समावेशी प्रतिनिधित्वलाई प्राथमिकता दिएको जनाएको छ । निर्वाचन निर्देशिका, २०८३ मा विभिन्न समुदाय तथा समूहका लागि समावेशी प्रतिनिधित्वको व्यवस्था गरिएको छ ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्