दाङ – लुम्बिनी प्रदेशको कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको आयोजनामा र सञ्चारिका समूह लुम्बिनी प्रदेशको सहकार्यमा सञ्चारकर्मीहरुसँग अन्तरक्रिया कार्यक्रम लमहीमा साेमवार सम्पन्न भएको छ ।
कार्यक्रम कृषि मन्त्रालयका सचिव यामनारायण देवकोटाको अध्यक्षतामा सम्पन्न भएको हो भने, प्रमुख अतिथि कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थी हुनुहुन्थ्यो ।
कार्यक्रमको प्रारम्भमा सञ्चारिका समूह लुम्बिनी प्रदेशकी अध्यक्ष अमृता अनमोलले विषय प्रवेश गराउनुभएको थियो। सो क्रममा घनश्याम चौधरीले लुम्बिनी प्रदेशको कृषि क्षेत्रको वर्तमान अवस्था बारेमा जानकारी दिनुभएको थियो ।
कार्यक्रममा बोल्दै मन्त्री पन्थीले कृषिमा देखा परेका समस्याहरूको समाधान खोज्न मन्त्रालय जुटिरहेको बताउनुभयो। उहाँले भन्नुभयो– “पछिल्ला वर्षहरूमा खेतबारीमा उत्पादन घटेको छ, यसप्रति पत्रकारले पनि जनताको आवाज उठाउनुपर्छ।”
उहाँले प्रदेश सरकारले कृषिमा अनुदान र प्रोत्साहनका कार्यक्रम ल्याएको उल्लेख गर्दै किसानलाई आत्मनिर्भर बनाउन र आम्दानीको बाटो खोल्न काम भइरहेको बताउनुभयो।
उनका अनुसार, “थोरै मानिसले कृषि गरेर आफ्नो परिवार पाल्न र बिक्रीमार्फत आम्दानी गर्न सफल भएका छन्।” प्रदेश सरकारले सात वर्षयता भएका राम्रा कार्यक्रमको निरन्तरतामा जोड दिएको र स्रोत अभावका कारण केही कार्यक्रम अघि बढ्न नसकेको जानकारी मन्त्रीले दिनुभयो।
“राम्रा कामलाई प्रोत्साहन र असफल कामलाई निरुत्साहित गर्न मन्त्रालय लागिपरेको छ,” मन्त्री पन्थीको भनाइ थियो। उहाँले माटोको उपचार सम्बन्धी काम सुरु गरिएको पनि जानकारी दिनुभयो।
मन्त्रीले सञ्चारकर्मीहरुलाई आग्रह गर्दै भन्नुभयो, “कृषिमा भएका कामबारे खोजी गरौँ, सुझाव दिऊँ – मन्त्रालय तयार छ सुन्न र सुधार गर्न।” कार्यक्रममा उपलब्धिकाे बारेका मन्त्रालयका बाली संरक्षण निर्देशक घनश्याम चाैधरीले प्रकाश पार्नु भएको थियाे ।

प्रतिक्रिया दिनुहोस्