मौलिक तीज संस्कृतिको कथा बोकेको ‘तीजैमा दिदी’ सार्वजनिक

प्रिया स्मृती गजमेर
प्रिया स्मृती गजमेर १७ भाद्र २०८३, बुधबार
2 Min Read
Aa

दाङ – पछिल्लो समय तीज गीतमा मौलिकता हराउँदै गएको गुनासो भइरहेका बेला देउखुरीका नवउदियमान कलाकारहरूको विशेष अभिनय रहेको मौलिक तीज गीत ‘तीजैमा दिदी’ सार्वजनिक भएको छ ।

देउखुरीका कलाकार श्रीधर कंडेल, सिर्जना खड्का र सन्तोषकुमार गुप्ताको विशेष अभिनय रहेको ‘तीजैमा दिदी’ बुधबार दिउँसो ५ बजे गायक श्रीधर कंडेलको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

परिवार, दिदी–भाइबीचको आत्मीय सम्बन्ध र तीजमा माइतीघर फर्किने नेपाली मौलिक परम्परालाई कथावस्तु बनाइएको गीतले तीजको सांस्कृतिक महत्वलाई समेत उजागर गर्न खोजेको छ । गीतमा बुवाआमाले जसरी पनि दिदीलाई माइतीमा ल्याउन आग्रह गरेपछि भाइ दिदीलाई लिन जाने र भिनाजुलाई समेत फकाएर दिदीलाई माइती ल्याउन सफल भएको कथा प्रस्तुत गरिएको छ ।

गीतमा श्रीधर कंडेल, रेशु राई र मनोहर भण्डारीको स्वर रहेको छ । गीतका शब्द मनोहर भण्डारीले लेखेका हुन् भने संगीत श्रीधर कंडेलको रहेको छ । त्यस्तै संगीत संयोजन तथा एरेन्ज रमेश सेन्चुरीले गरेका छन् ।

गीतको भिडियोमा प्रमुख कलाकारका रूपमा श्रीधर कंडेल, सिर्जना खड्का र सन्तोषकुमार गुप्ताले अभिनय गरेका छन् । अन्य कलाकारका रूपमा हिराकुमारी वली र भागीराम वली रहेका छन् भने बाल कलाकार श्रीशु कंडेलको समेत अभिनय रहेको छ ।

गीतको निर्देशन पोषण भण्डारीले गरेका हुन् । भिडियोको छायांकन तथा सम्पादन हमार म्युजिक पहुराका सञ्चालक शिशिर चौधरीले गरेका छन् । गीतको मिक्सिङ तथा मास्टरिङ प्रकाशमान श्रेष्ठ र सन्तोष सुनामले गरेका छन् भने शृंगारतर्फ नम्रता चौधरीको भूमिका रहेको छ ।

गीतको रेकर्डिङ म्युजिक सिटी काठमाडौं र गुड भ्वाइस लमही दाङमा गरिएको हो । भिडियोको छायांकन भने बाँकेको राप्तीसोनारी गाउँपालिका–९, ढकेरी गाउँमा गरिएको निर्माण पक्षले जनाएको छ । तीज पर्वको मौलिकता, पारिवारिक सम्बन्ध र दिदी–भाइबीचको प्रेमलाई केन्द्रमा राखिएको ‘तीजैमा दिदी’ले दर्शक–श्रोताको मन जित्ने विश्वास निर्माण पक्षले लिएको छ । नयाँ पुस्ताका कलाकारहरूको अभिनय, मौलिक कथावस्तु र तीजको परम्परागत भावनालाई समेटिएको यो गीत यस वर्षको तीजमा दर्शक–श्रोताका लागि नयाँ स्वाद बन्न सक्ने देखिन्छ । पुरा गीत हेर्नका लागि तलको लिंक क्लिक गर्नुहोस ।

प्रिया स्मृती गजमेर

प्रतिक्रिया दिनुहोस्