कांग्रेसलाई बलियो बनाउन आत्मसमीक्षा, सहकार्य र एकता आवश्यक : सहमहामन्त्री चौधरी

प्रिया स्मृती गजमेर
प्रिया स्मृती गजमेर ८ कार्तिक २०८३, शनिबार
4 Min Read
Aa

दाङ – नेपाली कांग्रेसका सहमहामन्त्री योगेन्द्र चौधरीले कांग्रेसलाई बलियो बनाउन आत्मसमीक्षा, सहकार्य र एकता आवश्यक रहेको बताउनु भएको छ । नेपाली कांग्रेस दाङ क्षेत्र नं १ प्रदेश क काे आयोजनामा शनिबार गढवामा सम्पन्न शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले विगतमा पार्टीका गतिविधि र कामकारबाही अपेक्षाअनुसार हुन नसकेको स्वीकार गर्दै उहाँले अब आपसी आरोप–प्रत्यारोपमा अल्झिनुभन्दा एकले अर्कालाई सहयोग गर्दै पार्टीलाई बलियो बनाएर अगाडि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

उहाँले नेपाली कांग्रेसले जुन पुस्तालाई लक्षित गरेर विभिन्न योजना र कार्यक्रममार्फत काम गर्‍यो, आज त्यही पुस्ता पुराना राजनीतिक दलको विरुद्धमा उभिनु गम्भीर रूपमा विश्लेषण गर्नुपर्ने विषय भएको बताउनुभयो । “हामीले जुन पुस्ताका लागि काम गर्‍यौँ, आज त्यही पुस्ता हामीसँग सन्तुष्ट हुन सकेन । आखिर किन यस्तो अवस्था आयो ? हामी कहाँ चुक्यौँ र उनीहरूको विश्वास जित्न किन सकेनौँ भन्ने विषयमा गम्भीर समीक्षा गर्न जरुरी छ,” उहाँले भन्नुभयो ।

चौधरीले राजनीतिक परिवर्तन र जनताको अपेक्षालाई बुझ्न नसक्दा पुराना दलप्रति असन्तुष्टि बढेको हुन सक्ने धारणा राख्नुभयो । उहाँका अनुसार कुनै व्यक्तिलाई छोटो समयका लागि एउटा महानगरपालिकाको नेतृत्वमा उभ्याउँदा तीन वर्षपछि त्यही व्यक्तिको हातमा देशको नेतृत्व पुग्ने अवस्था सिर्जना हुनु सामान्य विषय होइन । यसले जनताको बदलिँदो मनोविज्ञान, नयाँ पुस्ताको चाहना र राजनीतिक दलप्रतिको विश्वासमा आएको परिवर्तनलाई स्पष्ट रूपमा देखाएको उहाँको भनाइ थियो ।

उहाँले सामाजिक सञ्जालमा फैलिने भ्रामक सूचना, गलत प्रचार र त्यसको दुरुपयोगले राजनीतिक दलप्रति जनताको धारणा प्रभावित पार्न सक्ने भए पनि पार्टीको कमजोरी ढाकछोप गरेर मात्रै अघि बढ्न नसकिने बताउनुभयो । जनताको विश्वास पुनः प्राप्त गर्न कांग्रेसले आफ्ना कमजोरी स्वीकार गर्दै संगठनलाई सुधार गर्नुपर्ने, युवा पुस्ताका भावना र अपेक्षालाई सम्बोधन गर्नुपर्ने तथा नेताकार्यकर्ताबीच सहकार्य र एकता कायम गर्नुपर्ने उहाँको धारणा थियो ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य कमल किशोर घिमिरेले सुशासनको नारा दिने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पेट्रोलियम पदार्थ, ग्यास र खाद्यान्नको चरम अभाव सिर्जना गरेको आरोप लगाउनुभएको छ । उहाँले वैचारिक स्पष्टता र दक्षताका आधारमा ३५ वर्षमुनिका युवाहरूको पार्टी केन्द्रीय समितिमा समेत उपस्थिति रहेको उल्लेख गर्दै हिजो र आजको कांग्रेसमा फरक देखिने विश्वास व्यक्त गर्नुभयो ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य किरण किशोर घिमिरेले नेपाली कांग्रेसभित्र पर्याप्त सम्भावना रहेको उल्लेख गर्दै पार्टीलाई थप सुदृढ र जनमुखी बनाउन आपसी सहकार्य, समन्वय र एकता आवश्यक रहेको बताउनुभएको छ । उहाँले पार्टीभित्र रहेका विभिन्न विचार, अनुभव र क्षमतालाई एकीकृत गर्दै साझा उद्देश्यका साथ अघि बढ्न सके कांग्रेसलाई थप बलियो बनाउन सकिने धारणा व्यक्त गर्नुभयो ।

कार्यक्रममा नेपाली काङ्ग्रेस गढवा गाउँपालिका-६ का वडा सभापति हुकुम राज यादव, राप्ती गाउँपालिका सभापति विद्या शरण चौधरी, राजपुर गाउँपलिका सभापति राम प्रताप यादव, गढवा गाउँपालिका सभापति पुरण प्रसाद चौधरी, लुम्बिनी प्रदेश प्रतिनिधि प्रकाश चन्द्र अधिकारी, प्रदेश ख का सभापति लालवीर खड्का, केन्द्रीय महाधिवेशन प्रतिनिधि धनपतिदेवी यादव, जगदम्बा कुमारी चौधरी , शारदा कुमारी चौधरी, नारायण विसी, गुलाम मोहम्मद जागा मुसलमान, अनुराग यादव, क्षेत्रीय सभापति दिनेश गिरी, लुम्बिनी प्रदेश सभा सदस्य तथा केन्द्रीय महाधिवेशन प्रतिनिधि लोका विश्वकर्मा, जिल्ला सचिव बालिका लम्साल, अर्जुन कुमार योगी, लुम्बिनी प्रदेश सदस्य देव नारायण चौधरी, जिल्ला सभापति शंकर डाँगी, पूर्व केन्द्रीय सदस्य प्रदीपराज शर्मालगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

नेपाली काङ्ग्रेस क्षेत्र नम्बर १ प्रदेश “क” द्वारा आयोजित शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । नेपाली काङ्ग्रेस क्षेत्र दाङ नम्बर १ प्रदेश क का सभापति किरण पौडेलको सभापतित्व तथा नेपाली काङ्ग्रेसका केन्द्रीय सहमहामन्त्री योगेन्द्र चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा प्रदेश उपसभापति तिर्थराज ज्ञवालीले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रमको सहजीकरण प्रदेश क का सचिव ओम प्रकाश बसेलले गर्नु भएको थियो ।

प्रिया स्मृती गजमेर

प्रतिक्रिया दिनुहोस्