संकटमा पर्यो कुमाल समुदायको पुर्ख्यौली पेसा, बिक्नै छाडे माटोको भाँडा

प्रिया स्मृती गजमेर
प्रिया स्मृती गजमेर १० श्रावण २०७९, मंगलवार
8 Min Read
Aa

दाङ – गढवा गाउँपालिका वडा नम्बर ५ गढवा बजार देखि थोरै दक्षिण पुर्व तर्फ ठुलो कुमाल बस्ति छ । जो बाह्रै महिना माटोको भाँडा बनाएर आफ्नो दैनिकी चलाई रहेका छन । माटो कुमाल समुदायको सारथि हो, जो साँझ बिहान त्यहि माटो संग खेल्नु पर्ने उनीहरुको बाध्यता हो । त्यहाँ झन्डै एक सय बढी घर संख्या छ । कुनै समय त्यो गाउँ निकै प्रख्यात थ्यो माटोको भाँडा पाइन्छ भनेर ।

त्यहाँ बनाइएका माटोको भाँडा दाङका मुख्य शहर घोराही, लमही तुलसीपुर, भालुबांग हुँदै सल्यान, प्युठान, नेपालगंज, कैलाली, कंचनपुर सम्म पुग्ने गर्दथे । बजारमा प्लाष्टिकका भाँडाहरु पाइन् शुरु गरेपछि माटोको भाँडा बिक्न छोडेका छन । सस्तो र टिकाउ हुने भएकोले मानिसहरु प्लाष्टिकका भाँडा प्रयोग गर्न थाएका छन । यसरी प्लाष्टिकका भाँडा प्रति मानिसको आकर्षण बढ्दा कुमाल समुदायको पेशा नै संकटमा पर्न थालेको हो । माटो बाटै जीवन धानेका यो समुदायले आफुले बनाएका माटोका भाँडाहरुलाई पनि राज्यले बजारीकरणमा सहयोग गरि दिनु पर्ने बताए ।

No description available.

गढवा गाउँपालिका वडा नम्बर ६ का धनराज कुमालको माटाको भाँडा बनाउने काम पुर्ख्यौली पेशा हो । बाबु बाजेले गर्दै आएको उक्त पेशा धनराजले पनि गर्दै आएको आधा दशक भयो । यहि पेशाबाट उनले सोह्र जनाको परिवार पाल्दै आएका छन् । मासिक यति नै कमाई हुन्छ भन्ने स्थिति भने छैन । उनले माटोबाट मट्का, ठेकी, गमला, खुत्रुके, घैटा बनाएर बिक्रि गर्ने गर्दछन । निर्जीव माटोलाई प्रयोग गर्दै सीपमा परिणत गरेर उनले बिभिन्न आकार दिएर चिटिक्क परेका भाँडा बनाउने गर्दछन ।

मट्का दुई देखि दुई सय पचास रुपैयाँ, ठेकी एक देखि डेढ सय रुपैयाँ सम्म, गमला एक सय रुपैया, खुत्रुके सानो पचास र ठुलो एक सय रुपैयाँमा बेच्ने गर्दछन । यिनै सामाग्रीमा पनि बिचौलिया लाग्ने गरेको धनराजको भनाई छ । हामी संग सस्तोमा लगेर दोब्बर नाफामा बेच्ने गर्दछन तर के गर्नु हामीले सस्तोमा बेच्नु पर्ने बाध्यता छ नत्र यत्तिकै गलेर जान्छन“– धनराजले भने ।

No description available.

बाबु बाजे देखिको पुर्ख्यौली पेशा संकटमा पर्ने होकी भन्ने पनि धनराजलाई चिन्ता छ । युवा पिढीले यो पेशा तिर पटक्कै मन लगाउदैनन, उनीहरु यो काम भन्दा जिल्ला बाहिर गैर काम गर्न मन पराउछन”– धनराजले भने । धनराजका तीन भाई छोराहरु सबै यो पेशाबाट टाढा छन । उनीहरु ज्यामी काम गर्न कोहि भारत पुगेका छन भने कोहि नेपालकै बिभिन्न जिल्लामा पुगेका छन ।

पन्ध्र वर्ष अगाडी माटाका भाँडाहरु बोकेर दाङको घोराही, तुलसीपुर, बाँकेको नेपालगंज, कैलाली कंचनपुर पुग्ने गरेको उनको भनाई छ । त्यो ताका मानिसले माटाको भाँडाहरु खुब किन्ने गरेको उनले सुनाए, अबत सबै सुखी ऐस आराम गर्ने लाएक भए त्यहि भएर हामीले बनाएका माटाको भाँडा बिक्न छोडे उनले गुनासो सुनाए ।

तीन महिना अगाडी बनाएका माटोको भाँडाहरु असरल्ल गरि बाहिर राखिएका छन । भित्र राख्ने ठाउँ छैन, त्यहि भएर बाहिर राखेको हो, धनराजकी श्रीमतीले भनिन । पानीले सबै भिजाई दियो, हाम्रो मेहनत खेर गयो अब के गर्ने ? उनले भनिन ।

No description available.

त्यस्तै धनराजका छिमेकी चौकु कुमाल पनि माटोको भाँडा बनाउने दक्ष कलिगढ़ हुन् । अहिले उनि ४७ वर्ष पुगे । माटो बाटै उनले जेनतेन ५ जनाको परिवार पालेका छन । एक छोरी र एक छोराले ब्याचलर पास गरेर घरमै बसेका छन् अर्को छोरीले भर्खरै बाह्र कक्षाको परिक्षा दिएकी छन । पढ्ने मात्र त् हो जागिर पाइन्न, कसले दिन्छ हाम्लाई जागिर ? चौकु भन्छन ।

न लेख्न पढ्न सकियो न अन्य कुनै काम सिक्न सकियो, बाबुले गर्दै आएको देखेर मैले पनि सिकिहाले अब छोड्न पनि सकिदैन र अन्य पेशा अंगाल्न पनि सकिदैन” – उनि भन्छन । उनि लामो समय भक्तपुर ठिमीमा रहेको कृष्ण आर्टस सेरामिल नामक कम्पनीमा कालिगढ़को काम गरेर गाउँ फर्किएका हुन । आफ्नै गाउँ घरमा केहि गरौँ भन्ने सोच लिएर गाउँ फर्किएको चौकुले तर सोचे जस्तो यता हुन् नसकेको बताए । सामुदायिक वनले दाउरा र माटो लिन प्रतिबन्ध लगायो, जसका कारण हामीलाई माटोको भाँडा बनाएर जिविका धान्न गाह्रो भयो”– चौकुले भने ।

No description available.

चौकुले कछुवा, भ्यागुतो, चारा, खरायो, त्यस्तै पानी खाने अम्खोरा, प्लेट, खाना राख्ने हटकेस जस्ता निकै आकर्षक माटोका सामाग्री बनाएर घरको अगाडी सजाएर राखेका छन । माटोको महत्व बुझ्नेले घरै आएर किन्ने गरेको उनले बताए । माटोको भाँडा प्रयोग गर्दा स्वास्थ्यलाई पनि राम्रो गर्छ, अन्य भाँडाहरुमा बिभिन्न रसायन मिसावट हुन्छ तर मान्छेले त्यो कुरा बुझ्दैनन – उनले भने । दशैँ तिहार ताका अल्लि बढी बिक्रि हुने गर्दछ ।

कुमाल समुदायमा पछिलो पुस्ताका युवाहरु पढाई लेखाई तिर पनि लाग्ने गरेको पाइन्छ । अब छोराछोरीलाई पढाउनु पर्छ भन्ने कुरा हाम्रो समुदायमा थोरै भएपनि चेत पलाएको स्थानीय लखन कुमालको बुझाई छ । हामीले लेख्न पढ्न सकिनौ त्यहि भएर अहिले आफ्नै ज्यान पाल्न गाह्रो छ”– लखन भन्छन ।

धनराज जस्तै चौकुलाई पनि आफ्नो पेशा ओझेलमा पर्दा दुःख लागेको सुनाए । पढाई लेखाई गरेर अन्य कुनै पेशा रोजगार अथवा जागिर गर्न सक्नु एकदमै राम्रो पक्ष हो त्यसका साथ् साथै आफ्नो समुदायको पुर्ख्यौली पेसा, रितिरिवाज सस्कारलाई पनि संरक्षण गर्न सक्नु पर्ने चौकुको तर्क छ । कुमाल समुदायको आथिर्क स्थिति सबल गराउने भन्दै केहि समय अघि स्वच्छ व्यवसाय समूह नेपालले तीन महिने माटोको भाडा बनाउने तालिम दिएको थियो । उक्त तालिममा झन्डै तीस जना कुमाल समुदायका मानिसले सिप सिक्ने अवशर पाएका थिए । उनीहरुले बनाएका भाडालाई परम्परागत किसिमले भट्टामा पोल्दै आएका थिए । सोहि संस्थाले आधुनिक भट्टा निर्माण गर्नका लागि ९ लाख रुपैयाँ सहयोग गरेको छ । भट्टा निर्माधीन अवस्थामा रहेको र भट्टा निर्माण भएसंगै उनीहरुलाई भाँडा पोल्न सहज हुने उनीहरुको भनाई छ ।

पुर्ख्यौली पेशा अंगालेर बसेका कुमाल समुदायको पेशालाई संरक्षण सम्बर्द्धनका निम्ति स्थानीय सरकारले चासो राख्नु पर्ने कुमाल समुदायको भनाई छ । उनीहरुले यहि पेशाबाट हाल सम्म जिविका चलाउदै आएको बताउदैं यहि पेशालाई सम्बर्द्धन गर्न स्थानीय सरकारले सहज रुपमा दाउरा, माटो उपलब्ध गराई दिनु पर्ने त्यस्तै आधुनिक औजार, व्यवस्थित पाल्नका लागि भट्टाको व्यवस्था हुनु पर्ने उनीहरुको माग छ । केहि दिन अघि मात्र वडा नम्बर ५ र गढवा गाउँपालिकामा आफ्ना मागहरु सहित ज्ञापनपत्र लगेर बुझाएको चौकु कुमालले बताए ।

हामी सकारात्मक छौं – अध्यक्ष थापा
गढवा गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष लेखबहादुर थापाले कुमाल समुदायको हक हित र संरक्षणमा आफु तत्पर रहेको बताए । “पुर्खा देखि अंगाल्दै आएको पेशाप्रति सरकार गम्भीर बन्नु पर्छ, कुनै समुदायले हामीले हाम्रो पहिचान, सस्कृति, रितिरिवाज जोगाउनु पर्छ भनेर कुरा उठाउनु जायज हो, उनीहरुको जीवन गुजारा चलाउन कसरी सहज हुन्छ हामीले सकेको सहयोग गर्छौं”– थापाले भने । थापाले कुमाल समुदायका युवा पिढीका जो यो पेशा प्रति आकर्षक छन उनीहरुको लागि सीप आर्जन गर्नका लागि वडाबाट तालिमको व्यवस्था गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्