सबैबाट आशिर्वादको अपेक्षा लिएको छु – अनुराग खड्का

प्रिया स्मृती गजमेर
प्रिया स्मृती गजमेर ३० आश्विन २०७९, आईतवार
5 Min Read
Aa

प्रदेश र प्रतिनिधि सभा निर्वाचन आउँन अब थोरै दिन बाँकी छ । उक्त निर्वाचनलाई कसरी आफ्नो पोल्टामा पार्न सकिन्छ भनेर सबै राजनीतिक दल जोडबलका साथ लागेका छन । सत्ताधारी दल नेपाली कांग्रेसले देशैभर नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा लगायतका दलसंग गठबन्धन गरेर चुनाव लड्दै छ । दाङका तीन वटै क्षेत्रमा गठबन्धन भएको छ, दाङ– १ मा प्रतिनिधि सभा तर्फ एकीकृत समाजवादी, प्रदेश ‘क’ मा नेकपा माओवादी केन्द्र र प्रदेश ‘ख’ नेपाली कांग्रेसको भागमा परेको छ । यसैविच हामीले दाङ –१ ‘ख’ का उम्मेदवार, नेपाली कांग्रेसका युवा नेता अनुराग खड्कासंग भलाकुसारी गरेका छौं ।

१– सर्बप्रथम यहाँलाई स्वागत छ, अन्ततः टिकट लिन सफल हुनु भयो हैन !
धन्यवाद, हजुर हो, टिकट पाउनु पर्छ भनेर म पनि लविङ्ग गरेकै हो । टिकट पाउनु मात्र ठुलो कुरा हैन, यहाँ जितेर देखाउनु महत्वपुर्ण कुरा हो । हुनत यो क्षेत्रमा म भन्दा पनि दिग्गज आदरणीय नेताहरु हुनुहुन्छ, तर पार्टी नेतृत्वले मलाई बिश्वास गरेर यो क्षेत्रमा कांग्रेसको संगठन मजबुत बनाउन, संगठन विस्तार गर्न मेरो आवश्यकता देख्यो, यो क्षेत्रका जनतालाई एक ढिक्का बनाएर राख्नका लागि मलाई जिम्मेवारी दिएर पठाएको छ भन्ने मेरो बुझाई छ । र सबैबाट आशिर्वादको पनि अपेक्षा लिएको छु ।

२– यहाँको उम्मेदावरी केका लागि हो ? एजेन्डा के–के छन ? आम कार्यकर्तालाई कसरी बिश्वस्त पार्नु हुन्छ ?
यहाँले निकै गम्भीर प्रश्न गर्नु भयो, खासगरी पछिल्लो समय हाम्रो पार्टी भित्र जुन खालको तिक्तता छ, हाम्रो पार्टी भित्र जुन प्रकारको फ्याक्चर छ, एकले अर्कालाई सक्नु पर्छ भन्ने प्रवृत्ति छ हो यसलाई रोक्नु पर्छ, यस्ता गलत सस्कारको अन्त्य हुनु पर्छ र अब देश होस् या पार्टी, यी दुबैको नेतृत्व युवाले गर्नु पर्छ भन्ने संदेश दिनका लागि मेरो उम्मेदवारी हो । अब एजेन्डाका कुरा गर्ने हो भने मुलतः देउखुरी क्षेत्रलाई कृषिमा आत्मनिर्भर गराउने, देउखुरीका किसानले उत्पादन गरेका खाद्य बस्तुको बजारीकारण गर्ने, देउखुरी क्षेत्रका सबै गाउँमा बाटोघाटो, सडक बत्ति, खानेपानी, बिजुली, शिक्षा स्वास्थ्य जस्ता महत्वपूर्ण कुरालाई मैले प्रमुखताका साथ लिको छु । हिजो मेरो बुवा स्वर्गीय खुमबहादुर खड्काले संगठित गरेको दाङ, अहिले केहि फरक पाएको छु, मेरो बुवाले मार्गदर्शन गराएको बाटो नबिराएर अगाडी बढ्नेछु, मेरो बुवालाई चिन्ने, मान्ने, उहाँका शुभ चिन्तकहरुको मन दुखाउने गरि कुनै काम गर्ने छैन, मलाई जग बसाल्नु छ । मलाई सबै सबैले नचिन्न पनि सक्नु हुन्छ, किनभने मेरो बसाई बाहिर भयो, केहि समय मलाई मेरो निर्वाचन क्षेत्रका जनतासंग नजिक हुने समय लाग्ने छ । यस्तै कुराले जनतालाई कन्भेन्स गर्ने र बिश्वस्त पार्ने कोशिस गर्नेछु ।

३– पढे लेखेको युवा, अन्य क्षेत्रमा पनि सेटल हुन् सक्नु हुन्थ्यो फेरी राजनीति नै किन रोज्नु भयो ?
तपाईले भनेको जस्तै मैले युकेबाट मार्केटिंग विषयमा मास्टर्स गरेको छु । मार्केटिंग भनेको बजार व्यवस्थापन हो । जस्तै राजनीतिक पनि मार्केटिंग भित्रै पर्छ । हरेक कुरालाई व्यवस्थापन कसरी गर्न सकिन्छ भन्ने बारे यो मार्केटिंग विषयमा पढाई हुन्छ । पढे लेखेको युवा हुँ, चाहेको भए युरोपमै बसेर ऐस आरामको जिन्दगी बिताउन पनि सक्थे तर मलाई मेरो जन्मभूमि नै प्यारो लाग्यो । म जहाँ जन्मिए त्यहि ठाउँको विकास गर्नु पर्छ भन्ने मनमा नेपालीपनको आभास भयो जसले गर्दा मलाई मेरो प्यारो नेपालको हावा पानीले तान्यो र म नेपाल आए । उसैपनि मेरो पारिवारिक पृष्ठभूमि तपाईलाई थाहै छ, कुनै बेला मेरो बुवाले नेपालको राजनीतिमा बलियो प्रभाव जमाउनु भएको थियो त्यसैगरी मेरो आमा पनि नेपाली कांग्रेसको केन्द्रीय सदस्य हुनुहुन्छ । परिवारनै राजनीतिमय भएकोले मलाई पनि यतैतिर तान्यो ।

४– हामी भलाकुसारीको अन्त्यमा छौं, निर्वाचन नजिकिंदै छ, केही भन्न चाहानुहुन्छ ?
यस्तो महत्वपुर्ण समयमा मेरा कुराहरु राख्ने मौका दिनु भयो यसका लागि तपाई र दाङ समाचार अनलाइन परिवारलाई बिशेष धन्यवाद दिन चाहान्छु । यहि मङ्सिर ४ गते हुन् गैरहेको निर्वाचनमा दाङ –१ मा पांच दलिय गठबन्धनका सबै उम्मेदवारलाई मत दिएर सहयोग गरि दिनका लागि म सबै मतदातालाई हार्दिक अपिल गर्दछु । धन्यवाद, जय नेपाल ।।

प्रिया स्मृती गजमेर

प्रतिक्रिया दिनुहोस्