दाङ – पर्यटक भिसामा नेपाल आएका ब्राजिल, क्यानडा र अमेरिकाका १० नागरिकले अनुमति नलिई स्वास्थ्य शिविर सञ्चालन गरेको आरोपमा उनीहरूमाथि अध्यागमनसम्बन्धी कारबाही प्रक्रिया अघि बढाइएको छ ।
मोरङको कानेपोखरी गाउँपालिका–७, बरगाछीमा ‘मर्सी डेभलपमेन्ट’ नामक संस्थामार्फत सञ्चालित स्वास्थ्य शिविरमा सहभागी विदेशी चिकित्सकसहित १० जनाका कागजात जफत गरी अध्यागमन विभाग पठाइएको गृह मन्त्रालयले जनाएको छ ।
कात्तिक ८ गतेदेखि चार दिनसम्म सञ्चालन गर्ने गरी सुरु गरिएको शिविरमा आवश्यक अनुमति नलिई पर्यटक भिसामा आएका विदेशी नागरिक सहभागी भएको पाइएको हो। उनीहरू धार्मिक गतिविधिमा समेत संलग्न रहेको आरोपमा प्रहरीले अनुसन्धान अघि बढाएको छ । स्थानीयस्तरमा अस्पताल निर्माण गर्ने उद्देश्यले प्रयोग गरिने भनिएको जग्गामा यसअघि धार्मिक कक्षा सञ्चालन हुँदै आएको थियो । उक्त स्थानमा निर्माण गरिएका छवटा भवन विभिन्न कार्यक्रमका लागि प्रयोग हुँदै आएको विवरणमा उल्लेख छ ।
यसअघि पनि पर्यटक भिसामा नेपाल आएर धार्मिक गतिविधिमा संलग्न भएको आरोपमा २४ दक्षिण कोरियाली नागरिकलाई अध्यागमन विभागले जनही ५० हजार रुपैयाँ जरिवाना गरी देशनिकाला गरेको थियो । उनीहरूलाई तीन वर्षसम्म नेपाल प्रवेश गर्न नपाउने निर्णयसमेत गरिएको थियो ।पर्यटक भिसाको सर्त उल्लङ्घन गरेको आरोपमा विदेशी नागरिकमाथि भएका पछिल्ला कारबाहीले नेपालमा भिसा अनुगमन र विदेशी नागरिकका गतिविधिबारे प्रश्न उठाएको छ ।

प्रतिक्रिया दिनुहोस्