दाङ – देउखुरी उद्योग वाणिज्य संघ लमहीले नवनिर्वाचित सांसदहरुलाई स्वागत तथा बधाई दिएको छ । संघले भर्खरै निर्वाचित हुनु भएका प्रतिनिधि सभा सदस्य मेटमणि चौधरी, लुम्बिनी प्रदेश सभा सदस्यद्वय इन्द्रजित थारु र अनुराग खड्कालाई स्वागत सम्मान गरेको हो ।
स्वागत सम्मान कार्यक्रममा बोल्दै नवनिर्वाचित सांसदहरुले समग्र दाङको विकासका लागि पहलकदमी थाल्ने बताउनु भएको छ । बेरोजगार युवालाई रोजगार सिर्जना गर्ने, शिक्षा, स्वास्थ्य, कृषि, यातायात जस्ता अत्यावश्यक कुरालाई पहिलो प्राथमिकतामा राखेर कार्ययोजना बनाउने समेत उहाँहरुको भनाई छ ।
जनताले दिएको लोकप्रियतालाई आत्मसाथ गर्दै जनताको आशा अपेक्षाहरु पुरा गर्नु आफुहरुको दायित्व भएको तिनै जना सांसदहरुको ठहर छ, ‘यो लोकप्रियतालाई आगामी पांच वर्ष सम्म बरकरार राखेर हामी मैदानमा हुनेछौं’- उहाँहरुले भन्नु भयो ।
देउखुरी उद्योग वाणिज्य संघका अध्यक्ष खगेश्वर खनालको अध्यक्षता, सहरी विकास मंत्री मेटमणि चौधरीको प्रमुख आतिथ्यता तथा लुम्बिनी प्रदेशका स्वास्थ्य मंत्री इन्द्रजित थारु र लुम्बिनी प्रदेशका सांसद अनुराग खड्काको विशिष्ट आतिथ्यतामा भएको स्वागत भेटघाट कार्यक्रममा उद्योग वाणिज्य संघका उपाध्यक्ष केशवराज पोखरेलले स्वागत गर्नु भएको थियो भने कार्यक्रमको सहजीकरण पत्रकार प्रिया स्मृती गजमेरले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्