दाङ – बगार बाबा धार्मिक पर्यटन विकास क्षेत्र नेपाल सरकारको एकसय गन्तव्यमा पर्न सफल भएको धार्मिक स्थल हो । यहाँ माघ १ गते ठुलो मेला लाग्ने गर्दछ । रिहारमा मेला आउन अब मात्र ९ दिन बाँकी छ । नेपालका विभिन्न जिल्ला र छिमेकी देश भारत बाट समेत ठुलो संख्यामा तिर्थालु भक्तजन आउने गर्दछन । ऐतिहासिक महत्व बोकेको रिहार जिल्लाकै प्रसिद्द धार्मिक स्थल मध्यकै एक हो ।
लामो समय लथालिंग अवस्थामा रहेको बगार बाबा धार्मिक पर्यटन विकास क्षेत्रमा निर्वाचन पछि नयाँ र युवा कार्यसमिति आएपछि उक्त क्षेत्रमा केहि सुधार हुने संकेत देखिएको छ । राजनीतिक चपेटामा परेको रिहार धाम वर्षौं सम्म विकासको लहरले छुन सकेको थिएन । अब क्रमिक रुपमा यहाँ सुधार हुन लागेको छ ।
माघे संक्रातीका दिन अर्थात माघ १ गते लाग्ने मेलालाई लक्षित गर्दै जिर्ण अवस्थामा रहेका यहाँका मठ मन्दिर, वरपरको वातावरण सरसफाई गर्ने कार्य तिब्रगतिमा भैरहेको बगार बाबा धार्मिक पर्यटन विकास क्षेत्रका सचिव नन्दलाल वलीले जानकारी दिनु भयो । पहिले लाग्ने मेला र यो वर्ष लाग्ने मेलामा आगन्तुकहरुले धेरै फरक पाउनु हुनेछ’- वहाँले भन्नु भयो ।
मेलालाई आकर्षित गराउनका लागि मठ मन्दिर रंगरोगन गर्ने, मर्मत गर्ने, सरसफाई गर्ने काम गरेका छौं’- सचिव वलीले भन्नु भयो । त्यस्तै मेलामा थारु परिकार घोंगी र ढीक्री, रुकुम जिल्लाको प्रख्यात मयुर नांचको लागि स्टल निशुल्क गरिएको छ । त्यस्तै यो वर्ष रिहार तालमा डुंगा ल्याईएको छ । मेलाका दिन तालमा डुंगा सयरका लागि तयारि अवस्थामा राखिएको छ ।
मेलालाई मध्यनजर गर्दै दुईवटा प्रवेशद्वार निर्माण गर्न लागेको छ । बाँके र दाङ जिल्लाको सीमा नजिकै शिव खोला र अर्जुनखोला नजिकै दुईवटा प्रवेशद्वार निर्माण गर्न लागिएको समितिले जनाएको छ ।
बगार बाबा धार्मिक पर्यटन विकास क्षेत्रभित्र रहेका सम्पूर्ण मठ–मन्दिरहरू र मुर्तिहरूको मर्मत सम्भार भइरहेको छ । मन्दिर परिसरभित्र रहेको भइने पर्शु, बगार बाबा, शिव मन्दिर, गणेश, काली, बराह, झाँक्री, तप्तकुण्ड, सुर्य कुण्ड, मामेसौरी लगायतका विभिन्न मठ–मन्दिरहरू मर्मतसम्भार भइरहेको बगार बाबा धार्मिक पर्यटन विकास क्षेत्र समितिका अध्यक्ष रविन्द्र खत्रीले जानकारी दिनु भयो ।




प्रतिक्रिया दिनुहोस्