दाङ – देउखुरी उद्योग वाणिज्य संघ लमहीले आयाेजना गरेकाे छैठौँ कृषि, पर्यटन तथा व्यापारीक महाेत्सवको तेस्रो दिन बहुचर्चित लोक दोहोरी गायक खेम सेन्चुरी र गायिका भूमिका गिरीसंग दर्शकहरु झुमेका छन् ।
आज शनिबारको दिन भएकाले दोस्रो दिनको तुलनामा तेस्रो दिन दर्शकहरुको राम्रै उपस्थिति रहेको देउखुरी उद्योग वाणिज्य संघ लमहीका महासचिव लेखराज केसीले जानकारी दिनु भयो । महासचिव केसीका अनुशार अब दर्शकहरुको संख्या दैनिक रुपले बढ्ने अनुमान छ। चर्चित गायक सेन्चुरी र चर्चित गायिका गिरी लमही महोत्सवमा आउने भएपछी आज शनिबार बिहानै देखि लमहीमा दर्शकहरुको घुइंचो लागेको थियो ।
पछिल्लो पुस्ताका निकै चर्चा कमाउन सफल गायकद्वय सेन्चुरी र गिरीको शनिबारिय प्रस्तुतिले दर्शक दीर्घामा निकै उत्साह थपिएको थियो । गायक सेन्चुरीले एक दर्जन गीत गाएर मनोरंजन दिलाउनु भएको थियो । गायक सेंचुरीको भर्खरै बजारमा आएको काँचो बेलौती बोलको गीतले बजार तताएको छ भने अन्य गीतले पनि स्रोताको मन जित्न सफल भएका छन् । झ्यालमा ऐना छ, ऐना टलल, कामी दाईको छोरा जस्ता अत्याधिक चर्चा बटुल्न सफल गीत हुन्।
त्यस्तै दाङको राजपुर स्थायी घर भएकी लोक दोहोरी गायिका भूमिका गिरी पनि पछिल्लो समय निकै व्यस्त कलाकार हुनुहुन्छ । गायिका गिरीले गोरखपुरको सलाई, चोली मैलो भो, देउरालीमा, फिक्का चिया जस्ता सर्वाधिक चलेका गीतहरु स्रोताको माझमा ल्याएर लोकप्रियता कमाई सक्नु भएको छ । आज शनिबार यिनै गीत गाएर गायिका गिरीले मनोरंजन दिनु भयो ।

त्यसैगरी लोक दोहोरी गायक प्रेम शर्माले पनि झन्डै आधा दर्जन गीत गाएर दर्शकलाई मनोरंजन दिनु भयो।
अजम्बरी सामुदायिक वनको पिकनिक स्थल (बिबिधता पार्क) मा सञ्चालित महोत्सवमा करिव ५० हजार दर्शकले अवलोकन गर्ने र १ करोड बराबरको कारोबार गर्ने लक्ष्य आयोजकले राखेको छ । तर महोत्सवको दोस्रो दिन शुक्रबार दर्शकहरूको सहभागीता न्यून रहेको आयोजकले बताएको छ । दर्शक कम भएपनि महोत्सवको महोत्सव अवधिभर विभिन्न जातजाती तथा भाषाभाषीको संस्कृती झल्किने साँस्कृतिक कार्यक्रमहरु, स्थानीय तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहने बताइएको छ ।

महोत्सवमा भोलि आइतबार राष्ट्रियस्तरका चर्चित कलाकार प्रताप दास लगायतको प्रस्तुति रहने छ भने कुशल कार्यक्रम संचालिका उमादेवी खनालले केहि दिन कार्यक्रमको संचालन गर्नु हुने छ । त्यस्तै यो महोत्सवमा प्रकाश सपुत, बद्रि पंगेनी, प्रमोद खरेल, रामजी खाँड, पशुपति शर्मा, मेलिन राई, प्रिति आले, रमेशराज भट्टराई लगायतका करिब ५० बढी राष्ट्रीय तथा स्थानीय कलाकार आउने साँस्कृतिक संयोजक पोख्रेलले जानकारी दिनु भएको छ ।

महोत्सव अवधीभर अपाङगता भएका र जेष्ठ नागरिकहरुलाई परिचय पत्रका आधारमा निशुल्क प्रवेशको व्यवस्था मिलाइएको आयोजकले जानकारी दिएको छ । त्यस्तै सर्वसाधारणका लागि रु. १ सय तथा विद्यार्थीको हकमा रु ८० रुपैयाँ टिकटदर कायम गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्