नयाँ अवधारणा सहित जन्मेको विद्यालयको नाम हो “चैतन्य पाठशाला” – डाक्टर जीवराज आचार्य

प्रिया स्मृती गजमेर
प्रिया स्मृती गजमेर ४ श्रावण २०८१, शुक्रबार
4 Min Read
Aa

पछिल्लो समययता दाङमा सुविधा सम्पन्न संस्थागत विद्यालय संचालन हुने क्रम बढ्दो छ । संस्कार सहितको गुणस्तरीय शिक्षा प्रदान गर्ने मुख्य उदेश्यका साथ ति विद्यालय संचालनमा आएको संचालकहरुको दावी छ । संस्थागत विद्यालयहरुकै भिडमा चैतन्य पाठशाला संचालनमा आएको छ । दाङ समाचारको नविनतम शृंखला ‘दाङ संवाद’ मा हामीले उक्त विद्यालयका प्रमुख डाक्टर जीवराज आचार्यसंग कुराकानी गरेका छौं।

सर्वप्रथम यहाँलाई दाङ समाचार संवादमा स्वागत छ। आराम हुनुहुन्छ ?
धन्यवाद, आराम छु र व्यस्त पनि छु।

विद्यालयको नाम कसरी जुर्यो चैतन्य पाठशाला ? छोटकरीमा जानकारी गराई दिनुस्न ।
चैतन्य भनेको चेतनाको उत्कर्ष अवस्था भएकोले एउटा नयाँ अवधारणा सहित जन्मेको विद्यालयको नाम “चैतन्य पाठशाला” नै उपयुक्त ठानियो।

निजी विद्यालयमा विद्यार्थी आकर्षित हुनुको कारण के ? तपाइको विद्यालयको अवस्था कस्तो छ ?
शिक्षालय, पाठशाला, विद्यालय जे भनेपनि जसरी भए पनि शिक्षा प्रदान गर्ने संस्था हुन् । पहिले त निजी र सामुदायिक, सार्वजनिक भनेर लगाइने रटान नै गलत छ, तथापि निजी लगानी र सरकारी लगानी भन्न खोज्नु भएको होला, निजी लगानीबाट सञ्चालित विद्यालयतर्फ अभिभावकहरू आकर्षित हुनुको कारण जिम्मेवारी बोध र व्यवस्थापकिय भिन्नता नै होला।

शिक्षा प्रणालीबारे राज्यले लिएको रणनीति र कार्यान्वयन कस्तो छ ? निजी विद्यालय समेटिएका छन् ?
राज्यको नीतिनै छैन नि। न दीर्घकालीन नीति छ, न दृष्टिकोण छ। मार्गदर्शक सिद्धान्तबिना नीति आउने कुरा भएन। त्यहि सिद्धान्त नहुँदा देखिने बेथिति मात्र व्याप्त छ। त्यो बेथितिको प्रहार निजी लगानीबाट सन्चालित विद्यालयतर्फ लक्षित देखिन्छ। सकारात्मक रुपमा समेटिएको र समेट्न खोजिएको पनि देखिन्न ।

निजि विद्यालयबाट उत्पादन भएका विद्यार्थी विदेश पलायन भइरहेका छन्, यो कस्तो शिक्षा दिनु भएको छ ?
प्रश्न अलि पूर्वाग्राही पो होकी ? सार्वजनिक विद्यालयबाट राम्रो ग्रेड लिएर उत्तीर्ण गरेकाहरु अझ पहिले पढ्न विदेश गएका छन् नि। उत्तीर्ण संख्या निजीमा बढी हुदा त्यस्तो देखिएको मात्र हो। यो विदेसिने कारण स्वदेशमा अवसर नदेखिनु हो। १८ वर्षको उमेरदेखि २४ वर्षको उमेरसम्म बाबु-आमालाई एकोहोरो आर्थिक भार पर्ने परिपाटी यसको मूल कारण हो, निजी स्कूल होइन।

के चैतन्य पाठशालामा निम्न वर्गका विद्यार्थीको पहुँच छ त ? भौतिक पूर्वाधारको अवस्था कस्तो छ ?
कुनै खास वर्गलाई लक्षित गरेर विद्यालय संचालन गर्ने कुरा होइन। निजी स्तरबाट विद्यालय संचालन गर्दा कस्तो प्रकारको शिक्षा दिने भन्ने निर्धारित हुन्छ, राज्यद्वारा र यथा अवस्थामा निजी क्षेत्रबाट समेत संचालित भएका विद्यालयले पूरा गर्न नसकेका कुरा समेट्ने हो। सबै तप्काका, वर्गका विद्यार्थी छन् चैतन्य पाठशालामा । भौतिक पूर्वाधार उत्कृष्ट छ। कक्षा कोठादेखि कार्यक्रम हल तथा खुला स्थान, प्रयोगशाला, खेल स्थल, भान्सा र क्यानटिन सबै उच्च गुणस्तरका छन् । सबै कक्षा कोठाहरू वातावरण अनुकूलित छन् ।

धेरै विद्यालयका ‘नारा’ नारामै सिमित भएका छन, यहाँहरुले कस्तो खालको शिक्षा प्रदान गर्नुहुन्छ ?
यो मुल्यांकन गर्ने अभिभारा अभिभावक र जनस्तरमै छोडौ। हामी बेग्लै तरिका अबलम्बन गरिरहेका छौ। बढी भन्दा बढी सिकाइलाई अनुभवमा परिणत गर्दै जाने अभ्यासमा छौ । कक्षा ११ मा समेत बढी भन्दा बढी व्यवहारवादी हुने योजनामा छौ।

देशैभरका विद्यालयहरुको अवस्था निरासजनक छ, यहाँहरुको विद्यालयको नतिजा कस्तो रह्यो ?
हामी पठनपाठनमा अगाडी बढेको नै वैशाख २०८१ देखि हो, त्यसैले चैतन्यको पाठशालाको परिणाम हुने कुरा भएन।

अन्त्यमा केहि भन्न चाहानुहुन्छ ?
मलाई तपाईको मिडिया मार्फत हाम्रो विद्यालयका गतिविधिहरु आम जनमानससम्म पुर्याउने मौका दिनु भएकोमा दाङ समाचार परिवारलाई मनैदेखि धन्यवाद दिन चाहान्छु ।

प्रिया स्मृती गजमेर

प्रतिक्रिया दिनुहोस्