लमही नगरपालिका-६ द्वारा २ महिने निःशुल्क कम्प्युटर तालिमको शुभारम्भ

दाङ समाचार
दाङ समाचार १० बैशाख २०८२, बुधबार
2 Min Read
Aa

दाङ – सूचना प्रविधिको युगसँगै स्थानीय स्तरमा सीपमूलक तालिममार्फत युवाहरूलाई सक्षम बनाउने उद्देश्यले लमही नगरपालिका–६ मा दुई महिने निःशुल्क कम्प्युटर तालिम सुरु भएको छ । उक्त तालिमको बुधबार लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीले उद्घाटन गर्नु भएको हो ।

निःशुल्क कम्प्युटर तालिमको उद्घाटन गर्दै लमही नगरपालीकाका प्रमुख जोगराज चौधरीले भन्नु भयो “आजको युग प्रविधिको युग हो । हाम्रा युवाहरू प्रविधिसँग साक्षर नभएसम्म समृद्धिको सपना अपुरो रहन्छ । यसरी स्थानीय तहमै निःशुल्क तालिम प्रदान गर्नु हाम्रो युवालाई सक्षम बनाउने अभियानको महत्वपूर्ण पाइलो हो ।”

उहाँले थप भन्नुभयो, “हामी युवालाई आत्मनिर्भर बनाउने, उनीहरूलाई रोजगारमूलक सीपमा दक्ष बनाउने र डिजिटल साक्षरतामा पहुँच पुर्‍याउने लक्ष्यमा छौँ। यस्ता तालिमहरू निरन्तर सञ्चालन गर्दै जानेछौँ ।”

लमही नगरपालिकाका उपप्रमुख लक्ष्मी योगीले स्थानीय स्तरमै यस्तो सीपमूलक तालिम सञ्चालन हुनु आफैँमा सकारात्मक पहल हो । सहभागीहरूले पनि यो अवसरलाई सदुपयोग गर्दै भविष्यमा प्रविधिको क्षेत्रमा नयाँ ढोका खोल्ने अपेक्षा व्यक्त गर्नु भएको छ ।

कार्यक्रममा वडा अध्यक्ष श्याम नारायण चौधरीले स्थानीय युवा शक्तिलाई प्रविधिमा दक्ष बनाउन यस्तो तालिम प्रभावकारी हुने विश्वास व्यक्त गर्नु भएको छ । “यो तालिमले युवाहरूलाई आत्मनिर्भर बनाउँदै रोजगारको अवसर समेत सृजना गर्नेछ,” उहाँले भन्नुभयो । लमही नगरपालिका वडा नम्बर ६ को आर्थिक सहयोग तथा सक्सेस टेक्निकल ट्रेनिङ सेन्टरको प्राविधिक सहयोगमा सञ्चालन भएको उक्त तालिममा वडाका युवा तथा विद्यार्थीहरूलाई प्राथमिकता दिइने छ ।

तालिममा कम्प्युटरको आधारभूत ज्ञान, माइक्रोसफ्ट अफिस प्याकेज, इन्टरनेटको प्रयोग, टाइपिङ अभ्यास, तथा अन्य आवश्यक डिजिटल सीपहरू सिकाइने छ ।

कुल ४२ जना सहभागी रहेको तालिम आगामी दुई महिनासम्म सञ्चालन हुनेछ । सहभागीहरू तालिमपछि प्रमाणपत्र प्राप्त गर्नेछन्, जसले उनीहरूको रोजगार तथा स्वरोजगारमा टेवा पुर्‍याउने विश्वास लिइएको छ ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्