दाङ – गोरखा मोडेल सेकेण्डरी स्कुलको आयोजनामा ३ दिने कथा लेखन कार्यशालाको समापन भएको छ । विद्यार्थीहरूलाई सिर्जनात्मक लेखनमा प्रोत्साहन दिनुका साथै उनीहरूको प्रतिभा निखार्ने अवसरका रुपमा यो कार्यक्रमको आयोजना गरिएको हो ।
विद्यार्थी भित्र भएको प्रतिभालाई प्रस्फुटन गराउने हेतुले यो कार्यक्रमको आयोजना गरिएको विद्यालयका प्राचार्य लोकमान रिजालले जानकारी दिनु भयो । कथा, कविता मार्फत पनि विद्यार्थीहरुले पढाईलाई जोड्न सकुन भन्ने कार्यक्रमको उदेश्य हो”- रिजालले भन्नू भयो ।
कार्यक्रमका प्रमुख अतिथि तथा नागरिक समाज दाङका संयोजक निम बहादुर थापाले बाल साहित्यकारहरूलाई आफ्नो रुचिका विधामा निरन्तरता दिन आग्रह गर्नुभयो। उहाँले बाल साहित्य लेखनमा समर्पित हुन चाहने सिर्जनशील व्यक्तिहरूलाई आत्मविश्वासका साथ अगाडि बढ्न प्रेरणा प्रदान गर्नुभयो।”
समापन कार्यक्रममा सहभागी बालबालिकाहरुले कथा कविता बाचन गर्नुका साथै तीन दिनसम्म सिकेको अनुभव उपस्थित भएका आफ्ना अभिभावक तथा अन्य अतिथिलाई सुनाएका थिए । कक्षा ६ देखि कक्षा १० सम्मका छत्तिस जना बालबालिका सहभागी भएका थिए ।
कार्यक्रममा प्रशिक्षक विजयराज आचार्य, पत्रकार तथा साहित्यकार छविलाल कोपिला, नेपाल पत्रकार महा संघका केन्द्रीय सदस्य लिला शाह, साहित्यकार हरि पोख्रेल लगायतले आफ्नो मन्तव्य राख्नु भएको थियो ।
साहित्यकार विजयराज आचार्यले प्रशिक्षण दिनु भएको थियो । स्वागत मन्तव्य विद्यालयका प्राचार्य लोकमान रिजालले गर्नु भएको थियो । कार्यक्रमको संचालन सुप्रिया घर्ती मगर र अनुस बुढाथोकीले गर्नु भएको थियो ।
गोरखा ग्रुपका एकेडेमी डाइरेक्टर दुर्गा बहादुर केसीले धन्यवाद ज्ञापन गर्नु भएको थियो भने नागरिक समाज दाङका संयोजक निम बहादुर थापाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । कथा लेखन कार्यक्रममा सहभागी भएका छत्तिस जना बालबालिकाका कथा कविता समेटेर विद्यालयले पुस्तक प्रकाशन गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्