नेपाली कांग्रेसले सामाजिक सञ्जालमा गतिविधि गरेको भन्दै तीन नेतासँग स्पष्टीकरण माग्यो

दाङ समाचार
दाङ समाचार २ श्रावण २०८२, बिहीबार
1 Min Read
Aa

दाङ – नेपाली कांग्रेसको अनुशासन समितिले सामाजिक सञ्जालमार्फत पार्टीविरुद्ध टिप्पणी, स्टाटस, कमेन्ट तथा लाइक गरेको भन्दै तीन नेतासँग स्पष्टीकरण मागेको छ ।

अनुशासन समितिका संयोजक आनन्द ढुङ्गानाले नवलपरासीका पार्टी प्रवक्ता तथा महासमिति सदस्य राधेश्याम पाठकलाई सामाजिक सञ्जालमा लेखिएको स्टाटसको आधारमा स्पष्टिकरण दिन पत्र लेखेका छन् । उनलाई सात दिनभित्र आफ्नो पक्ष राख्न अनुरोध गरिएको छ ।

त्यस्तै, २०८० सालको वैशाखमा तनहुँमा भएको उपनिर्वाचनका बेला राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा. स्वर्णिम वाग्लेलाई सामाजिक सञ्जालमार्फत समर्थन गरेको भन्दै कांग्रेस नवलपरासीका जिल्ला सदस्य झविन्द्र ज्ञवालीसँग पनि स्पष्टीकरण मागिएको छ । ज्ञवालीले वाग्लेले लेखेको स्टाटसमा पार्टी हितविपरीत कमेन्ट गरेको भन्दै पत्र पठाइएको हो ।

यसैगरी, लुम्बिनी प्रदेश समिति सदस्य विष्णु पोखरेललाई निर्वाचनमा अन्तर्घात गरेको आरोपसहित बुधबार स्पष्टीकरण सोधिएको छ । निर्वाचनमा पार्टी प्रत्याशीविरुद्ध कार्य गरेको भन्ने उजुरीको आधारमा समितिले स्पष्टिकरण मागेको हो ।

पार्टी अनुशासन उल्लंघनसम्बन्धी उजुरीहरूलाई छानबिन गर्दै आएका समितिले यस्ता कार्यले पार्टीको छवि र एकता कमजोर पार्ने भन्दै आवश्यक कारबाही प्रक्रिया अघि बढाउने चेतावनी दिएको छ ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्