विभेदरहित संस्कृति निर्माणमा साहित्य कलाकाे भूमिका

दाङ समाचार
दाङ समाचार २६ आश्विन २०८२, आईतवार
3 Min Read
Aa

दाङ – लुम्बिनी वाङ्मय प्रतिष्ठान नेपालबाट १२ जिल्लामा गरिने जिल्लाव्यापि कार्यक्रमहरुकाे मासिक शृङ्खला दाङ जिल्लाकाे भक्ति थापा स्मृति पार्कमा शनिबार सम्पन्न भएकाे छ ।

उक्त कार्यक्रममा दाङ जिल्लामा साधनारत नारी स्रष्टाहरुकाे पहिचान र याेगदान विषयमा सन्ध्या रेग्मी र विभेदरहित सँस्कृति निर्माणमा साहित्य र कलाकाे भूमिकाकाे विषयमा ऋषि आजादले कार्यपत्र प्रस्तुत गर्नु भएकाे थियाे ।

दाङ जिल्लाका स्रष्टाकाे पहिचान कार्यपत्रमाथि बुनु लामिछानेले टिप्पणी गर्नु भएकाे थियाे भने विभेदरहित संस्कृति निर्माणकाे विषयमा सबै वक्ताहरुले आ-आफ्नाे धारणा राख्नु भएकाे थियाे ।

कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेशका साधगी जीवनशैलीका प्रेरक सभामुख माननीय तुलबहादुर घर्तीमगरले नारी स्रष्टाकाे भूमिकाकाे विषयमा बाेल्दै विभेदरहित संस्कृति निर्माणमा लाग्न साहित्यकार र कलाकारलाई आग्रह गर्नु भयाे ।

समाजमा अहिले पनि उत्पीडित वर्ग उत्पीडक वर्ग बिच मनाेवैज्ञानिक दरार छ, त्यही दरारबाट समाज विभक्त बनेकाे छ, त्यही नै विभेदकाे मूल कारण हाे भन्दै २०६३ सालले उत्पीडित वर्ग र समुदायलाई समानुपातिक समावेशीका आधारमा सत्तामा त ल्यायाे तर विभेद हटाउने विषयमा निष्ठापूर्वक काम हुन सकेन । फलत: समाजमा अहिले असन्ताेष उत्पन्न भयाे भन्नु भएकाे छ ।

उहाँले पदानुक्रमिक विभेदकाे विषयमा छलफल चलाउँदै समतलीय संस्कृति निर्माणमा लुम्बिनी वाङ्मय प्रतिष्ठान, नेपालकाे प्रशंसा गर्दै वर्तमान अवस्थामा गरिदै आएकाे उचनिचकाे संरचना हटाएर कार्यक्रमहरु प्रदेश सभा सञ्चालनकाे माेडलमा जान उत्तम हुने बताउनु भयाे ।
कार्यक्रममा लुम्बिनी वाङ्मय प्रतिष्ठान नेपालका संस्थापक पुरुषाेत्तम खनालले आफूहरुले मेहनत गरेर स्थापना गरेकाे संस्था निरन्तर क्रियाशील भइरहँदा खुसी लागेकाे बताउँदै रचनात्मक क्रियाकलापमा याे संस्थाकाे भूमिका महत्वपूर्ण रहने छ भन्दै शुभकामना दिनु भयाे ।

त्यसै गरी डा. टिकाराम उदासीले नारीस्रष्टाकाे विषयमा एकमुष्ट विवरणसहित तथ्य प्रस्तुत गर्नु भएकाेमा सन्ध्या रेग्मीज्यू र टिप्पणीकर्ता बुनु लामिछानेलाई धन्यवाद दिंदै विभेदरहित सँस्कृति निर्माणमा साहित्यकार र कलाकारले भूमिका खेल्नुपर्ने विषयमा महत्वका साथ विचार प्रस्तुत गर्नु भयाे ।

उहाँले नेपाल बहुसाँस्कृतिक मुलुक हाे, त्यसैले यहाँ एकमा एकता हैन अनेकतामा एकता ल्याई राष्ट्रिय एकता बलियाे बनाउन साहित्यकार र कलाकारकाे महत्वपूर्ण भूमिका छ भन्नुभयाे ।

कार्यक्रममा उत्तम कृष्ण मजगैंयाले कार्यपत्रमाथि सुधारकाे सुझावसहित विभेदलाई एकमुष्ट रुपमा प्रस्तुत गरिएकाे भन्दै विभेदरहित संस्कृति निर्माणमा साहित्य र कलाकाे भूमिका छ भन्नु भयाे । साहित्यकार र कलाकारले जसरी रच्छन्, समाजमा त्यसरी नै सकारात्मक प्रभाव पर्छ भन्नुभयाे ।

कार्यक्रममा लुम्बिनी वाङ्मय प्रतिष्ठान नेपालका उपाध्यक्ष तिलक लामिछाने, महासचिव पुरुषाेत्तम पाण्डेयले रचना वाचनका साथ संस्थाका भावी याेजनाहरु बताउनु भयाे ।

कार्यक्रममा रामगोपाल यादव, केशरी यादव, शनिराम चाैधरी, तीला पन्थी “सुस्मिता”, पुरन शर्मा, शारदा शर्मा, डा. कृष्णराज डिसी, चन्द्रबहादुर थापा, दीपक शर्मा समीरले कविता वाचन तथा विचार प्रस्तुत गर्नु भएकाे थियाे । कार्यक्रममा केशरी यादव, शनिराम चाैधरी, तीला पन्थी ‘सुस्मिता’लाई संस्कृति संरक्षण र साहित्यमा विशेष याेगदान दिएकाे भन्दै सम्मान गरिएकाे थियाे ।

यस कार्यक्रममा अवधी संस्कृति संरक्षण प्रतिष्ठान गढवाका कलाकारहरुकाे विशेष सांस्कृतिक प्रस्तुति दिएका थिए । कार्यक्रम लुम्बिनी वाङ्मय प्रतिष्ठान दाङका अध्यक्ष साहित्यकार नीमबहादुर थापाकाे अध्यक्षता,उपाध्यक्ष राधा गाैतमकाे स्वागत र सचिव गुरुप्रसाद कुमाल ‘बुलबुलकाे सञ्चालनमा सम्पन्न भएकाे थियाे ।

कार्यक्रममा केन्द्रीय सल्लाहकार हरि पाेखरेल र पूर्व महासचिव अर्जुन शर, देउखुरी साहित्य तथा साँस्कृतिक मन्चका उपाध्यक्ष याेगमाया शाहीकाे उपस्थिति थियाे ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्