सहकारी र पत्रकारबीच मैत्रीपूर्ण क्रिकेट : आयोजक ३ विकेटले विजयी

दुखहरण यादव
दुखहरण यादव १३ फाल्गुन २०८२, बुधबार
2 Min Read
Aa

दाङ – गढवामा आयाम बहुउद्देश्यीय सहकारी संस्थाको ११औँ वार्षिकोत्सवको अवसरमा आयोजित सहकारी र पत्रकारबीचको मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ । खेलकुदमार्फत सहकार्य, आपसी सम्बन्ध सुदृढीकरण र सामाजिक सद्भाव प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजित प्रतियोगितामा आयोजक सहकारी टोलीले रोमाञ्चक प्रतिस्पर्धापछि ३ विकेटले विजय हासिल गरेको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको पत्रकार टोलीले निर्धारित १० ओभरमा १०२ रनको प्रतिस्पर्धात्मक लक्ष्य प्रस्तुत गर्‍यो । पत्रकार तर्फका कप्तान दुखहरण यादवले ३४ रन तथा हेमराज शर्माले आक्रामक ३६ रन बनाउँदै टोलीलाई सम्मानजनक स्कोरमा पुर्‍याएका थिए । प्रिया स्मृती गजमेर १३ र दशरथ घिमिरे १२ रन बनाउदै मध्यमक्रममा योगदान दिए पनि ठूलो साझेदारी हुन नसक्दा लक्ष्य सीमित रह्यो ।

१०३ रनको लक्ष्य पछ्याएको सहकारी टोलीले सुरुवातमै केही विकेट गुमाएर दबाब सामना गर्‍यो तर सहकारीका अध्यक्ष ओमप्रकाश बसेलले २२ बलमा ४२ रनको उत्कृष्ट इनिङ खेल्दै खेलको मोड आफ्ना पक्षमा फर्काए । उनलाई पंकज चौधरी १७, समीर खान १६ र श्याम शर्मा ६ जोड्दै साथ दिएका थिए । आयोजक टोलीले १३ औँ ओभरमै लक्ष्य भेट्टाउँदै रोमाञ्चक जित दर्ता गर्‍यो ।

बलिङतर्फ पत्रकार टोलीका प्रिया स्मृती गजमेर र हेमराज शर्माले समान २–२ विकेट लिए भने दशरथ घिमिरे र दुखहरण यादवले १–१ विकेट हात पारे । उत्कृष्ट अलराउण्ड प्रदर्शन गरेका ओमप्रकाश बसेल ‘म्यान अफ द म्याच’ घोषित भए । खेलमा विशाल दुधराज र बिनोद खत्रीले अम्पायरिङ गर्दै प्रतियोगितालाई अनुशासित र व्यवस्थित बनाउन योगदान दिएका थिए ।

प्रतियोगिता केवल खेलकुदमा सीमित नभई सहकारी संस्था र सञ्चारकर्मीबीच सम्बन्ध सुदृढ गर्ने माध्यमका रूपमा समेत स्थापित भएको सहभागीहरूले बताएका छन । संस्थाले स्थापना दिवसको अवसरमा रक्तदान, छात्रवृत्ति वितरण, जनचेतनामूलक अभियान तथा खेलकुद गतिविधि सञ्चालन गर्दै आएको छ । यस वर्षको मैत्रीपूर्ण क्रिकेटले सामाजिक एकता, सहकार्य र सकारात्मक सन्देश प्रवाह गर्न सफल भएको आयोजकको भनाइ छ ।

दुखहरण यादव

प्रतिक्रिया दिनुहोस्