दाङ – लमही नगरपालिकाले युवायुवतीलाई लक्षित गर्दै निशुल्क लोकसेवा तयारी कक्षा कार्यक्रम औपचारिक रूपमा सुरु गरेको छ । “जनतासँग मेयर” कार्यक्रम अन्तर्गत सञ्चालन गरिएको उक्त कक्षाको उद्घाटन लमही नगरपालिकाका प्रमुख जोगराज चौधरी तथा प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्र बहादुर डाँगीले संयुक्त रूपमा गर्नु भएको हो ।
नगरपालिकाको १ देखि ९ नम्बर वडा सम्मका गरि करिब १ सय ८४ जना विद्यार्थीहरूको उत्साहजनक सहभागितामा कक्षा सुरु गरिएको हो । कार्यक्रम सञ्चालनको जिम्मेवारी भिक्टोरिया ट्युसन सेन्टरलाई दिइएको नगरपालिकाले जनाएको छ । विद्यार्थी संख्या धेरै भएकोले दुई चरणमा विभाजन गरि कक्षा संचालन गरिने सेन्टरका संचालक सत्यपाल यादवले बताउनु भयो ।
उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख जोगराज चौधरीले राज्यले गरेको लगानीलाई सार्थक बनाउने गरी कडा मेहनत गर्न प्रशिक्षार्थीहरूलाई आग्रह गर्नु भयो । “तपाईंहरूको योग्यता प्रमाणित गर्ने संस्था लोकसेवा आयोग हो, त्यसैले निरन्तर मेहनत गरेर सफलता हासिल गर्नुस्,” उहाँले भन्नु भयो, “सीप र क्षमता भएका युवाहरूले विदेश जानुभन्दा देशमै बसेर सरकारी सेवामार्फत राष्ट्र र जनताको सेवा गर्नुपर्छ ।”
त्यसैगरी प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्र बहादुर डाँगीले लोकसेवा कक्षाप्रति युवाहरूको बढ्दो आकर्षणले आफूहरूलाई थप उत्साहित बनाएको बताउनु भयो । अपेक्षा भन्दा दोब्बर सहभागिता देखिएको उल्लेख गर्दै उहाँले आगामी दिनमा अझ व्यवस्थित रूपमा कार्यक्रम सञ्चालन गरिने जानकारी दिनु भयो । “हामीले आशा गरेका छौँ, आगामी वर्ष लोक सेवा आयोगमार्फत विभिन्न सरकारी निकायहरूमा तपाईंहरू सिफारिस भएको खबर सुन्न पाइयोस्,” उहाँले भन्नु भयो ।
उहाँले यस कार्यक्रमलाई केवल रहरको रूपमा नलिएर भविष्य निर्माणको महत्वपूर्ण अवसरका रूपमा उपयोग गर्न प्रशिक्षार्थीहरूलाई सुझाव दिनु भयो । “हरेक वर्ष सञ्चालन हुँदै आएको यो कार्यक्रम तपाईंहरूको उज्ज्वल भविष्य निर्माणका लागि हो, त्यसैले यसलाई गम्भीरतापूर्वक लिएर निरन्तर अध्ययनमा लाग्नुपर्छ,” उहाँले थप्नु भयो ।
लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रमको सञ्चालन प्रशासन प्रमुख गायत्री थापाले गर्नु भएको थियो । नगरपालिकाले युवाहरूलाई प्रतिस्पर्धी बनाउन र सरकारी सेवामा आकर्षित गराउने उद्देश्यसहित यस्ता कार्यक्रमलाई निरन्तरता दिंदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्