विवश रसाइली
दाङ – दङ्गीशरण गाउँपालिका–१ रामपुरका पाँच जना युवाले सामूहिक रूपमा व्यावसायिक तरबुजा खेती गर्दै उदाहरणीय काम गरेका छन् । बबई नदी किनारको विगतमा उजाड र बालुवामय बगर अहिले हरियाली तरबुजा खेतीले भरिएको छ ।
कृषक कृष्ण चौधरीसहित पाँच जना युवा पाँच वर्षदेखि कृषि व्यवसायमा सक्रिय छन् । उनीहरूले यस वर्ष १२ कठ्ठा क्षेत्रफलमा आहाना, पूजा, सरस्वती, दिव्या र स्वीटहनी जातका तरबुजा उत्पादन गरेका छन् । उत्पादन राम्रो भएपछि किसानहरू उत्साहित भएका छन् ।
कृषक चौधरीका अनुसार आहाना जातको तरबुजा प्रतिकिलो ८० रुपैयाँ तथा स्वीटहनी, सरस्वती, पूजा र दिव्या जात प्रतिकिलो ५० रुपैयाँमा गाउँमै बिक्री भइरहेको छ । दैनिक १०० देखि १५० किलोसम्म बिक्री हुने गरेको र हालसम्म आधाभन्दा बढी उत्पादन बिक्री भइसकेको उनले जानकारी दिए ।
बजारीकरणमा केही समस्या रहेको बताउँदै किसानहरूले बाहिरी देशबाट सस्तोमा आयात हुने तरबुजाले स्थानीय उत्पादन प्रभावित भएको गुनासो गरेका छन् । उनीहरूले सरकारले स्थानीय किसान संरक्षणका लागि आवश्यक पहल गर्नुपर्ने माग गरेका छन् ।
कम विषादीयुक्त तथा जैविक उत्पादन भएकाले स्थानीय उपभोक्ताको रोजाइमा परेको किसानहरूको भनाइ छ । स्थानीयवासीले पनि आफ्नै गाउँमा उत्पादित ताजा तरबुजा खरिद गर्न सहज भएको बताएका छन् ।
खेर गइरहेका बगरको सदुपयोग गर्दै तरबुजा खेतीमार्फत यी युवाले स्वदेशमै मेहनत र सीप भए आत्मनिर्भर बन्न सकिने सन्देश दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्