पार्टीमा काम गर्न नसके आलु खेती गर्छु, तर पार्टी विभाजनको पक्षमा लाग्दैन – कांग्रेस पूर्व सहमहामन्त्री राठौर

दाङ समाचार
दाङ समाचार १८ जेष्ठ २०८३, सोमबार
7 Min Read
Aa

दाङ – नेपाली कांग्रेसका पूर्व सहमहामन्त्री किशोर सिंह राठौरले आफुले कांग्रेसको चारतारे झण्डा नछोड्ने बताएका छन् । देउवा समूहले मंगलबार दाङको लमहीमा आयोजना गरेको लुम्बिनी प्रदेशको भेलालाई सम्बोधन गर्दै पूर्व सहमहामन्त्री राठौरले जाँगर हुनेले अर्को पार्टी खोल्न र आफु त्यतातिर नलाग्ने बताएका छन् ।

कार्यक्रमका प्रमुख अतिथि बनेर आएका पूर्वसहमहामन्त्री किशोरसिंह राठोरले नयाँ पार्टी खोल्नेहरूलाई आफूले वास्ता नगर्ने र साथ दिन नसक्ने मात्रै जनाएनन् । आफूले सदस्यता अद्यावधिक गरेर पार्टी भित्रै लड्ने बताएपछि कार्यक्रममा सहभागीले नै प्रश्न उठाएका थिए । ‘मैले सदस्यता अद्यावधि गर्छु, सके कांग्रेसमा लड्छु नभए आलु खेती गरेर बस्छु, अर्को पार्टी बनाउनेतिर लाग्दिन, हिजो देउवा पक्षमा लागेकै हो, अहिलेसम्म साथ दिएकै हो तर अब म अर्को पार्टी कसैले बनाएर साथ दिन सक्दैन ।’ उनले भने–‘लड्ने पार्टीभित्र हो, भोट हाल्ने रुखमै हो, मैले आफू सदस्यता अद्यावधिक गर्छु, सबैले अद्यावधिक गरौँ, अनि लडौँ, मैले पूर्णबहादुर दाईसहित सबैलाई भनेको छु ।’

उनले मन्चबाट यसो भनिरहँदा तलबाट सहभागीले जिम्मेवार नेताहरूले पनि यस्तो भन्ने बताएपछि उनले प्रतिक्रिया दिनेलाई समेत जवाफ दिएका थिए– तपाई भ्रममा नबस्नुस्, यस्तो बेला अर्को पार्टी बनाउने, सदस्यता नवीकरण नगर्ने म गर्न सक्दिन, त्यसरी पार्टी बन्दैन, कसैले उचालेर म अघि बढ्न सक्दिन ।’ करिब २५ मिनेट सम्बोधन गरेका नेता राठोरले सधैंभरी एकै अवस्था नरहेको जनाए ।

‘हिजो र अहिलेको अवस्था फरक छ, म नेविसंघदेखि ४० वर्ष भयो राजनीति गरेको, सबैलाई प्रष्ट भनेर गरेको हुन्छु, पार्टी छाडेर लडाई हुँदैन है साथीहरू, कांग्रेस त्यसै सकिन लागेको छ अनि किन चाहियो अर्को पार्टी, कांग्रेस कमजोर भएर लोकतन्त्र बलियो हुँदैन है ।’ उनले भने–‘बालेनले सत्ता दिए पनि हामी संहाल्नसक्ने अवस्थामा छैनौँ, एमाले–माओवादी मिल्ने भन्दैछन्, हामी फुट्ने कुरा गरेर कसरी पार लाग्छ ? मैले कांग्रेस छाड्न सक्दिन, रुख चिन्ह छाड्दिन चार तारे झण्डा छाड्दिन, पार्टी अर्को बनाएर हुँदैन, मैले सदस्यता अद्यावधिक गरेर जान्छु, मैले प्रष्ट भनेको छु ।’

उनले आफ्नो उमेरले पनि अब धेरै जिम्मेवारीमा नबस्ने बताए । ‘अब म बुढो भएँ धेरै गर्न सकिन्न, नयाँ पार्टी बनाउने काममा लाग्दिन, जति सक्छु यही पार्टी बनाउन लाग्छु, कांग्रेसमा भोट नहाल्नेहरू बस्न जरुरी छैन, सदस्यता अद्यावधिक नगर्ने, पार्टी फुटाउने आत्मसमर्पण गर्न सक्दिन, बालेनले यो व्यवस्था खाँदैछ, जनताले बुझाइसके । पछि चुप्प लागेर लड्नुपर्ने अवस्था आउँछ, अब खुरुखुरु पार्टी बलियो बनाउनेमा लागौँ, आउने महाधिवेशनको तयारी गरौँ, स्थानीय चुनावको तयारी गरौँ, आफ्नो वडा बलियो बनाउन लागौँ, सबै आरोप अरूलाई लगाएर हुँदैन ।’ उनले भने ।

लुम्बिनीमा नेपाली कांग्रेस इतर समूहमा यसअघि प्रभावशाली नेताहरू नखुलेका कारण भेलामा ढिलाइ भएको थियो । पार्टीमा बृहत् एकता कायम गर्ने, विशेष महाधिवेशनका कारण छोडिएका, निराश भएका नेता कार्यकर्तालाई पार्टीको मूल प्रवाहमा ल्याउने र समसामयिक राजनीतिको समीक्षा गर्ने ३ उद्देश्यसहित देउवा समूहले ७ प्रदेशमा भेला गर्ने निर्णय गरेको थियो ।

यसअघि ६ प्रदेशमा भेला गरिसकेको यो समूहले आज अन्तिम प्रदेश भेला गरेको हो । यो समूहका प्रदेश कार्यक्रम संयोजक पूर्व केन्द्रीय सदस्य गेहेन्द्र गिरीले सातै प्रदेशमा तय गरेका भेलाको अन्तिम भेला लमहीमा गरिएको र अपेक्षाभन्दा बढी सहभागी भएको जनाए ।

भेलामा लुम्बिनी प्रदेशका विशेष महाधिवेशनको पक्षमा नदेखिएका नेता कार्यकर्ता सहभागी भएका थिए । नेता देउवा अहिले विदेशमा रहेकाले समूहको नेतृत्व नेता पूर्णबहादुर खड्का आउने प्रचार गरिए पनि पूर्वसहमहामन्त्री किशोरसिंह राठोरको प्रमुख आतिथ्यतामा कार्यक्रम गरिएको थियो ।

भेलामा नेता गुरू बराल, प्रदेशका पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधलगायतका नेता सहभागी थिए । यसअघि प्रदेशबाट देउवा समूहमा साथ दिएका नेतृ पुष्पा भुसाल देउवाको साथ छाडेर संस्थापनमा उपसभापति बनेकी छन् भने बालकृष्ण खाण, विनोद चौधरी, देवेन्द्रराज कंडेललगायतका नेताले पनि संस्थापन समूहलाई नै साथ दिएका छन् ।

प्रदेशका विभिन्न जिल्लाबाट आएका नेता तथा कार्यकर्ताहरूको सहभागितामा आयोजना गरिएको उक्त भेलामा संगठनात्मक गतिविधि, पार्टीभित्रको एकता र आगामी निर्वाचन लक्षित तयारीबारे विस्तृत छलफल गरिएको सहभागी एक नेताले जानकारी दिएका छन् ।

पार्टीभित्र एकता अपरिहार्य रहेको, फुटेर होइन, जुटेर जानुपर्छ भन्नेमा जोड दिइएको जनाइएको छ । भेलाले केन्द्रीय नेताहरूलाई जिम्मेवार हुन सचेत गराएका छन् । कांग्रेसको बृहत् एकताका लागि अहिलेसम्म लचकता देखाएको देउवा पक्षीय नेता तथा कार्यकर्ताहरूले आवश्यक परेमा गम्भीर कदम पनि उठाउन सक्नेछ ।

कथित विशेष महाधिवेशन पक्षधरहरूले अध्यावधिकका नाममा आफ्ना विरोधीहरूलाई ठेगान लगाउने र बाँकीलाई अनुशासनको कारबाही गरेर भए पनि कांग्रेसलाई ध्वस्त पार्ने गतिविधि गरिरहेको भन्दै कांग्रेसका कार्यकर्ताहरूले आशंका गरेका छन् । प्रदेश भेला सकेर अब राष्ट्रिय भेला गर्ने जनाइएको छ ।

प्रमुख अतिथिको भावना विपरीत अन्य सहभागी नेता तथा अगुवा कार्यकर्ताहरूले १५ औँ महाधिवेशनका लागि क्रियाशील सदस्यता नवीकरण भइसकेको अवस्थामा अध्यावधिक आवश्यक नरहेको बताए । नेताहरूले क्रियाशील सदस्यता अध्यावधिक नगरेकै कारण कांग्रेसबाट कसैले निकाल्छ भने निकालोस् तर, कांग्रेसमा कसैको दास बन्न नसक्ने बताएका हुन् । उनीहरूले विधान विपरीतका कार्य नगर्न विशेष महाधिवेशन पक्षधरहरुलाई सचेत गराएका छन् ।

उनीहरूले कांग्रेसको बृहत् एकताका लागि १४ औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई व्यवस्थापन गर्नुपर्ने, क्रियाशील सदस्यता नवीकरण भइसकेको अवस्थामा अध्यावधिकको व्यवस्था गर्न नहुने, कांग्रेसमा बृहत् एकताका लागि केन्द्रीय नेताहरू व्यक्तिगत स्वार्थभन्दा माथि उठेर लचक हुन आग्रह गरेका हुन् ।

कांग्रेसका निबर्तमान केन्द्रिय सदस्य, नेता गेहेन्द्र गिरीको संयोजनमा भएको भेलामा नेताहरू किशोरसिंह राठौर, पूर्वमुख्यमन्त्री एवम् संसदीय दलका नेता डिल्लीबहादुर चौधरी, रेवतीप्रसाद भुसाल, गुरु बराल, कुन्दनराज काफ्ले, लक्ष्मी खतिवडा, लुम्बिनी प्रदेशको शहरी विकास तथा खानेपानीमन्त्री रोज राणा, कांग्रेसकी प्रमुख सचेतक जमुना ढकाल, सचेतक धनलक्ष्मी श्रेष्ठ, प्रदेश सांसदहरु माया पुन, लोका बि.क., सञ्जु चौधरी, सुशीला बादी, दाङ क्षेत्र नं. १ का क्षेत्रीय सभापति भेषराज पाण्डे लगायतको सहभागिता रहेको थियो ।

मुख्यमन्त्रीका दाबेदार इतर पक्षको भेलामा पुगेपछि…

लुम्बिनी प्रदेशमा नेपाली कांग्रेसका संसदीय दलका नेता तथा पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चौधरी आज दाङको लमहीमा भएको पार्टीको इतर पक्षको भेलामा पुगेपछि संस्थापन पक्षका नेताहरू आश्चर्यमा परेका छन् । लुम्बिनी प्रदेशमा सत्ता साझेदार दल नेकपा एमाले र कांग्रेसले आधा आधा कार्यकाल नेतृत्व लिने समझदारीअनुसार अब चौधरीको नेतृत्वमा सरकार बन्नुपर्ने दाबी कांग्रेसले गरिरहेको बेला विशेष महाधिवेशनपछि आफ्नो पक्षमा आउने ढुक्क भएका संस्थापन पक्षका नेताहरू आज चौधरी उताको भेलामा पुगेपछि आश्चर्यमा परेको जनाएका छन् ।

‘उहाँले सभापति गगन थापालाई पनि भेट्नुभएको हो, परिवर्तनको पक्षमा साथ दिन्छु भन्नुभएको सूचना पाएका थियौँ त्यही आधारमा हामीले पनि उहाँको नेतृत्वमा अघि सार्ने भनेका हौँ, तर आज अनपेक्षित भेलामा गएको सुनियो, अब सोच्नुपर्ने भयो’ कांग्रेस लुम्बिनीका एक पदाधिकारीले भने ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्