एमालेसँग प्रदेश सरकारमा साझेदारी गर्ने सहमतिमा नेपाली कम्युनिस्ट पार्टीभित्र देखियो असन्तुष्टि

दाङ समाचार
दाङ समाचार ११ श्रावण २०८३, सोमबार
1 Min Read
Aa

दाङ – नेकपा एमालेसँग प्रदेश सरकारहरूमा साझेदारी गर्ने सहमतिमा नेपाली कम्युनिस्ट पार्टीभित्र असन्तुष्टि देखिएको छ । संयोजक पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग गरेको सहमतिमा सहसंयोजक माधवकुमार नेपाल असन्तुष्ट बनेको नेताहरू बताउँछन् । यद्यपि पूर्वप्रधानमन्त्री नेपालले यसबारे केही बोलेका छैनन् ।

उनी निकट नेता सुदेश पराजुलीले भने सामाजिक सञ्जाल फेसबुकमै स्टाटस लेखेर असन्तुष्टिको संकेत दिएका छन् । ‘हिजो हामीले गरेका गल्ती कमजोरीको आत्मालोचना सहित सहमतिको पत्रमा कहिले हुन्छ कमरेड हस्ताक्षर ?,’ पराजुलीले लेखेका छन्, ‘हाम्रा अघि पद/कुर्सी छ भने मात्र हुने हो हाम्रो सहमति र हस्ताक्षर ?’

ओली र प्रचण्डबीच शनिबार ५ प्रदेशमा भागबण्डा र बाँकी दुई प्रदेशमा अरु दलहरुसँग छलफल गर्नेगरी ३ बुँदे सहमतिपत्रमा हस्ताक्षर भएको छ । लगत्तै, पराजुलीले विगतका गल्ती कमजोरीप्रति आत्मलोचनाको प्रसंग उठाए । ३ बुँदे सहमति हुँदा माधव नेपाल अनुपस्थित हुनु र उनी निकट नेताले यस्तो स्टाटस लेख्नुलाई चासोका साथ हेरिएको छ ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्