खबरदार ! गगन थापाको यात्रा रोक्ने चेष्टा नगरियोस्

प्रिया स्मृती गजमेर
प्रिया स्मृती गजमेर ३० श्रावण २०८३, शनिबार
6 Min Read
Aa

नेपाली कांग्रेस आज एउटा महत्वपूर्ण मोडमा उभिएको छ । देशको सबैभन्दा पुरानो लोकतान्त्रिक पार्टीका रूपमा कांग्रेसले लामो राजनीतिक इतिहास बोकेको छ । अनेकौँ संघर्ष, आन्दोलन र परिवर्तनको नेतृत्व गरेको कांग्रेससँग गौरवपूर्ण इतिहास छ । तर इतिहास जति गौरवपूर्ण भए पनि वर्तमानको चुनौती र भविष्यको आवश्यकता बुझ्न नसक्ने हो भने इतिहास मात्र बोकेर राजनीति अगाडि बढ्न सक्दैन । आज कांग्रेसलाई नयाँ सोच, नयाँ ऊर्जा, नयाँ पुस्ता र समयको आवाज बुझ्ने नेतृत्व आवश्यक छ । वर्तमान कांग्रेसका सभापति गगन कुमार थापा एउटा नेताको नाम होइन, कांग्रेसभित्र परिवर्तन र पुस्तान्तरणको बलियो सम्भावनाका रूपमा उभिएका छन ।

गगन थापा आजको समयको माग हुन । उनी युवाहरूको ढुकढुकी हुन । उनीसँग सहमत हुने र असहमत हुने दुवै पक्ष हुन सक्छन्, तर एउटा कुरा स्वीकार गर्नैपर्छ- नेपाली राजनीतिमा नयाँ पुस्ताको आकांक्षा, प्रश्न र बेचैनीलाई स्पष्ट रूपमा अभिव्यक्त गर्ने नेतामध्ये गगन थापा अग्रपंक्तिमा छन ।

कांग्रेसका केही पुराना नेताहरूले गगन थापाको राजनीतिक यात्रामाथि प्रश्न उठाउने, आलोचना गर्ने वा उनको नेतृत्व क्षमतालाई कमजोर देखाउने प्रयास गरिरहेका छन । सिटौला, निधि, बस्नेत, कान्छाराम, कोइरालालगायतका नेताहरूले गगनको आलोचना गर्दैमा उनको यात्रा रोकिने छैन । किनकि कुनै पनि नेताको राजनीतिक भविष्य केही व्यक्तिको आलोचनाले मात्र निर्धारण गरेको हुँदैन । अन्तिम निर्णय गर्ने अधिकार पार्टीका कार्यकर्ता र जनतासँग हुन्छ ।

अब पुराना पुस्ताका नेताहरूलाई एउटा गम्भीर खबरदारी आवश्यक छ समय बदलिइसकेको छ । राजनीतिको शैली बदलिइसकेको छ । मतदाताको चेतना बदलिइसकेको छ । सूचना प्रविधिको विकाससँगै जनताले नेताको भाषण मात्र होइन, व्यवहार, कार्यक्षमता, दृष्टिकोण र राजनीतिक इमानदारीलाई समेत नजिकबाट नियालिरहेका छन ।

त्यसैले गगन थापालाई रोक्ने प्रयास गर्नुभन्दा कांग्रेसभित्र नयाँ पुस्ताको आवाज किन बलियो हुँदै गएको छ भन्ने प्रश्नमा आत्मसमीक्षा गर्नु उपयुक्त हुन्छ ।

८४ वर्ष पार गरेका वा दशकौँदेखि पार्टी नेतृत्वमा रहेका नेताहरूलाई सम्मान गर्नुपर्छ । उनीहरूले नेपाली कांग्रेसका लागि गरेको योगदानको मूल्यांकन पनि हुनुपर्छ तर सम्मान र नेतृत्वको निरन्तरता एउटै कुरा होइन । कुनै व्यक्तिले लामो समय राजनीति गरेको छ भन्दैमा सधैँ नेतृत्वमा रहिरहनुपर्छ भन्ने हुँदैन । लोकतन्त्रमा पुस्तान्तरण स्वाभाविक प्रक्रिया हो ।

कांग्रेसलाई आज इतिहास सुनाउने नेतृत्वभन्दा भविष्य देखाउने नेतृत्व चाहिएको छ । जनताको वर्तमान पीडा बुझ्ने नेतृत्व चाहिएको छ । बेरोजगारी, भ्रष्टाचार, शिक्षा, स्वास्थ्य, सुशासन, आर्थिक अवसर र युवाको विदेश पलायनजस्ता विषयमा स्पष्ट दृष्टिकोण राख्ने नेतृत्व चाहिएको छ । पुराना राजनीतिक शैली र परम्परागत समीकरणमा मात्र अल्झिएर कांग्रेसले नयाँ पुस्ताको विश्वास जित्न सक्दैन ।

गगन थापाको सबैभन्दा ठूलो राजनीतिक शक्ति यही हो कि उनी प्रश्न गर्न डराउँदैनन । समय र परिस्थितिले मागेको विषयमा आफ्नो धारणा राख्न उनी पछि हट्दैनन । कांग्रेसलाई एकीकृत गर्ने, संगठनलाई चलायमान बनाउने र नयाँ पुस्तालाई पार्टीसँग जोड्ने चुनौती पनि उनले स्वीकार गर्नुपर्छ ।

सिटौला, निधि, बस्नेत, कान्छाराम, कोइरालालगायतका वरिष्ठ नेताहरूलाई पनि आग्रह – गगनलाई गाली गरेर कांग्रेस बलियो हुँदैन । उनलाई कमजोर बनाएर कांग्रेसको भविष्य सुरक्षित हुँदैन । बरु नयाँ पुस्तासँग संवाद गर्नुहोस्, उनीहरूको ऊर्जा प्रयोग गर्नुहोस् र पार्टीलाई पुस्ताबीचको सहकार्यको नमुना बनाउनुहोस् ।

कसैलाई निरन्तर आलोचना गरेर उसको राजनीतिक उचाइ घटाउन सकिँदैन । बरु कहिलेकाहीँ आलोचकको आफ्नै राजनीतिक इतिहास जनताको मूल्यांकनमा आउँछ । नेपाली जनता धेरै सचेत छन । कसले कति लामो समय अवसर पायो, कसले के गर्‍यो र कसले समयअनुसार आफूलाई परिवर्तन गर्न सक्यो जनताले सबै हिसाब राखेका छन ।

त्यसैले बेसारलाई धेरै कोट्याइरहनु पर्दैन, पहेँलो हुन्छ भन्ने कुरा सबैलाई थाहा छ । गगन थापाको राजनीतिक यात्रालाई रोक्न अनेकौँ आरोप, आलोचना र अवरोध सिर्जना गरिए पनि त्यसले उनको वास्तविक क्षमता जनताबाट लुकाउन सक्दैन ।

गगन थापा चम्किलो हिरा हुन । हिराको वास्तविक चमक अन्धकारमा अझ स्पष्ट देखिन्छ । राजनीति पनि त्यस्तै हो । कठिन परिस्थिति, आलोचना र चुनौतीका बीचमा जसले आफ्नो दृष्टिकोण, साहस र विश्वास कायम राख्न सक्छ, त्यही नेतृत्वले भविष्य निर्माण गर्न सक्छ ।

अब कांग्रेसले रोज्नुपर्ने बाटो स्पष्ट छ व्यक्तिगत गुट, पुरानो अहंकार र पुस्तागत वर्चस्वको राजनीति कि नयाँ पुस्ता, नयाँ सोच र जनताको अपेक्षासँग जोडिएको राजनीति ?

कांग्रेसका पुराना नेताहरूलाई खबरदारी यही हो गगनको यात्रा रोक्ने प्रयास नगर्नुस् । बरु आफ्नो अनुभव गगनजस्ता नयाँ पुस्ताका नेताहरूलाई हस्तान्तरण गर्नुस् । इतिहास तपाईंहरूको हो, तर भविष्य नयाँ पुस्ताको हो । इतिहास र भविष्यबीच पुल बन्न सक्नुभयो भने कांग्रेस बलियो हुनेछ । अन्यथा समयले आफैँ नयाँ नेतृत्वको बाटो खोल्नेछ ।

गगन थापा एक्लैको यात्रा होइन, यो कांग्रेसभित्र पुस्तान्तरणको बहस हो । यो युवाको आवाज हो । यो परिवर्तनको चाहना हो र सबैभन्दा महत्वपूर्ण कुरा गगन समयको माग हो ।

अब निर्णय गगनले मात्र होइन, कांग्रेसका लाखौँ कार्यकर्ता र आम नेपाली जनताले गर्नेछन् । आलोचनाले यात्रा रोकिँदैन । समयको आवाज दबाउन सकिँदैन । जनताको चाहनालाई लामो समयसम्म थुन्न सकिँदैन । कांग्रेस बदलिनैपर्छ र त्यो परिवर्तनलाई रोक्ने होइन सही दिशामा नेतृत्व गर्ने साहस अब गगन पुस्ताले देखाउनुपर्छ ।

प्रिया स्मृती गजमेर

प्रतिक्रिया दिनुहोस्