दाङ – नेपाली काँग्रेसले १५औँ महाधिवेशनअन्तर्गत वडा तहदेखि केन्द्रसम्मका अधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ । पार्टीको केन्द्रीय निर्वाचन समितिले मंगलबार साँझ सार्वजनिक गरेको तालिकाअनुसार अधिवेशनको निर्वाचन प्रक्रिया भदौ २४ गते वडा अधिवेशनबाट सुरु हुनेछ ।
काँग्रेसको विधानले वडा अधिवेशनलाई पार्टीको सबैभन्दा तल्लो तहको अधिवेशन मानेको छ । वडा अधिवेशनबाट निर्वाचित क्षेत्रीय प्रतिनिधिले पालिका, प्रदेशसभा निर्वाचन क्षेत्र, प्रतिनिधिसभा निर्वाचन क्षेत्र र जिल्ला अधिवेशनमा प्रतिनिधित्व गर्नेछन् ।
निर्वाचन समितिको तालिकाअनुसार नेपाली जनसम्पर्क समितिका अधिवेशन भदौ मसान्तभित्र सम्पन्न गर्नुपर्नेछ । गाउँ तथा नगर अधिवेशन भदौ २७ गते र प्रदेशसभा क्षेत्रीय अधिवेशन भदौ ३१ गते निर्धारण गरिएको छ ।
प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन असोज ३ गते हुनेछ । सोही दिन एउटा मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लाको जिल्ला अधिवेशन पनि गर्ने कार्यतालिका छ । अन्य जिल्लाको जिल्ला अधिवेशन असोज ७ गते र प्रदेश अधिवेशन असोज १९ गते गर्ने उल्लेख छ ।


प्रतिक्रिया दिनुहोस्