सडक आन्दोलनका नायकदेखि संसद्का प्रभावशाली नेतासम्म ‘गगन थापा’

प्रिया स्मृती गजमेर
प्रिया स्मृती गजमेर ९ भाद्र २०८३, मंगलवार
3 Min Read
Aa

नेपाली कांग्रेसका सभापति गगन कुमार थापा समकालीन राजनीतिका प्रखर वक्ता तथा चुनौती मोल्न सक्ने नेताका रूपमा परिचित हुनुहुन्छ । कुनै पनि विषयमा स्पष्ट दृष्टिकोण राख्ने थापाले लोकतान्त्रिक आन्दोलनदेखि संसदीय राजनीतिसम्म आफ्नो अलग पहिचान बनाउनुभएको छ ।

२०४६ सालको पञ्चायतविरुद्धको आन्दोलनमा स्कुले विद्यार्थीकै रूपमा सहभागी हुनुभएका थापा त्यसयता राजनीतिप्रति आकर्षित हुँदै आउनुभयो । विद्यालय तहदेखि नै नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) मा आबद्ध उहाँ उच्च शिक्षा अध्ययनका क्रममा पनि विद्यार्थी राजनीतिमा सक्रिय रहनुभयो ।

पिता महेन्द्रकुमार थापा र माता रामेश्वरी थापाका माइला छोराका रूपमा २०३३ साल साउन ४ गते काठमाडौंको प्रसूति गृहमा जन्मिनुभएका गगनको बाल्यकालको केही समय सिन्धुपाल्चोकमा बित्यो । पिता विद्युत् प्राधिकरणका इन्जिनियर भएकाले परिवारमा प्राविधिक शिक्षा अध्ययन गर्ने वातावरण थियो तर गगनले आफ्नो रुचि राजनीतिमा भेट्टाउनुभयो ।

इन्जिनियरिङ अध्ययनको प्रारम्भिक सोच छाडेर उहाँले त्रिचन्द्र क्याम्पसबाट विज्ञान विषयमा बीएस्सी गर्नुभयो भने त्रिभुवन विश्वविद्यालयबाट मानवशास्त्र तथा समाजशास्त्रमा स्नातकोत्तर गर्नुभयो ।

२०५१ सालमा त्रिचन्द्र क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन सदस्यमा निर्वाचित हुनुभएका थापा २०५३ सालमा सचिव र २०५५ सालमा सभापति बन्नुभयो । त्यसपछि उहाँको नेविसंघको केन्द्रीय राजनीतिमा सक्रियता बढ्यो । नेविसंघको विभिन्न महाधिवेशनबाट उपाध्यक्ष हुँदै महामन्त्री बन्नुभएका उहाँले २०५९ देखि २०६१ सालसम्म महामन्त्रीको जिम्मेवारी सम्हाल्नुभयो ।

राजाको प्रत्यक्ष शासनविरुद्धको आन्दोलनमा उहाँ सडकको अग्रपंक्तिमा रहेर नेतृत्व गर्नुभयो। आन्दोलनका क्रममा पटकपटक पक्राउ पर्नुभयो र राज्यबाट मुद्दासमेत खेप्नुभयो। शाही शासनको समयमा अर्धभूमिगत शैलीमा लोकतान्त्रिक आन्दोलनमा सक्रिय रहँदा उहाँलाई राजद्रोहको मुद्दासमेत लगाइएको थियो। त्यस समयमा एम्नेष्टी इन्टरनेसनलले उहाँलाई आस्थाको बन्दी घोषणा गरेको थियो। लोकतान्त्रिक आन्दोलनमा उहाँको प्रखर वक्तृत्व र साहसिक भूमिकाले उहाँलाई युवा पुस्तामाझ लोकप्रिय बनायो।

पहिलो संविधानसभामा समानुपातिक सभासद बन्नुभएका थापा दोस्रो संविधानसभामा काठमाडौं क्षेत्र नम्बर ४ बाट निर्वाचित हुनुभयो । सभासद बनेपछि उहाँले कृषि तथा जलस्रोत समितिको सभापतिको जिम्मेवारी सम्हाल्नुभयो । स्वास्थ्य मन्त्रालयको समेत जिम्मेवारी कुशलता पूर्वक निर्वाह गर्नु भयो । समितिलाई नीतिगत बहसको प्रभावकारी थलो बनाउने तथा मन्त्रालयलाई संसद्प्रति जवाफदेही बनाउने प्रयास उहाँको संसदीय भूमिकाको उल्लेखनीय पक्ष मानिन्छ ।

लेखन तथा वैचारिक क्षेत्रमा पनि उहाँको सक्रियता रहँदै आएको छ । उहाँले ‘संविधान सभामा नेपाली काँग्रेस’ पुस्तक लेख्नुभएको छ भने ‘नेपाली काँग्रेसका ऐतिहासिक दस्तावेज’ पुस्तकको सहलेखन गर्नुभएको छ । विभिन्न सञ्चारमाध्यममा उहाँका सयौं लेख तथा विचार प्रकाशित भएका छन ।

राजनीतिसँगै नेपालको स्वास्थ्य नीति र स्वास्थ्य क्षेत्र सुधारका विषयमा पनि थापाले लामो समयदेखि विमर्श गर्दै आउनुभएको छ । परिवारबाट डाक्टर वा इन्जिनियर बन्न प्रेरित भए पनि उहाँले राजनीतिलाई आफ्नो कर्मक्षेत्र बनाउनुभयो । स्पष्ट विचार, प्रखर अभिव्यक्ति र चुनौती सामना गर्ने स्वभावका कारण गगन थापा नेपाली राजनीतिमा चर्चित युवा नेताका रूपमा स्थापित हुनुहुन्छ ।

प्रिया स्मृती गजमेर

प्रतिक्रिया दिनुहोस्