दाङ – नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थप गरेको छ । पार्टीलाई थप सुदृढ र जीवन्त बनाउने उद्देश्यका साथ सदस्यता अद्यावधिक गर्ने समय २०८३ भाद्र १५ देखि १९ गतेसम्मका लागि थप गरिएको हो ।
क्रियाशील सदस्यता व्यवस्थापन समितिका संयोजक एवं पार्टी महामन्त्री प्रदीप पौडेलले पार्टीको साङ्गठनिक प्रक्रियाबाट कोही पनि साथी वञ्चित हुनु नपरोस् भन्ने उद्देश्यले समय थप गरिएको बताए । ‘नेपाली कांग्रेसलाई थप सुदृढ र जीवन्त बनाउन हाम्रो साझा यात्रामा कोही पनि साथी नछुटुन् भन्ने हाम्रो दृढ सङ्कल्प छ,’ पौडेलले भने ।
उनले पार्टी संरचनाको जुनसुकै तहमा रहेर पार्टी र आम नागरिकका हितमा कार्य गरिरहेका सबै सदस्यहरूलाई साङ्गठनिक प्रक्रियामा समेट्न पार्टी संवेदनशील रहेको बताए । सबैलाई समेटेर अघि बढ्ने पार्टीको बृहत्तर हित र एकतालाई कांग्रेसले केन्द्रमा राखेको उनको भनाइ छ ।
महामन्त्री पौडेलले सदस्यता अद्यावधिक गर्न छुटेका सम्पूर्ण नेता तथा कार्यकर्तालाई तोकिएको समयभित्र आफ्नो क्रियाशील सदस्यता अद्यावधिक गरी पार्टीको साङ्गठनिक महाअभियानमा जोडिन आह्वान समेत गरे ।

प्रतिक्रिया दिनुहोस्