शिवु खनाल
दाङ – देउखुरीमा १६ फिट लामो अजिङ्गरको सकुशल उद्धार गरिएको छ । शुक्रबार दिउँसो राप्ती गाउँपालिका वडा नम्बर ५ कालापानी बस्ती नजिकै खरकट्टी क्षेत्रमा करिब ४५ देखि ५० किलाे भन्दा बढी तौलको अजिङ्गरको फेला परेको हो ।
खरकट्टीमा च्याउ टिप्न गएको बेला अजिङ्गरले वनमा चरिरहेको चित्तललाई खाएर बसेकाे देखेपछि स्थानीयले तत्काल डिभिजन वन कार्यालय देउखुरीमा खबर गरेका थिए । सूचना प्राप्त हुनासाथ पत्रकार तथा वन्यजन्तु उद्धारकर्ता शिवु खनालको नेतृत्वमा डिभिजन वन कार्यालयको टोली घटनास्थल पुगेको थियो ।
टोलीले स्थानीयको सहयोगमा अजिङ्गरलाई सुरक्षित रूपमा नियन्त्रणमा लिएर सकुशल उद्धार गरेको हो । उद्धारपछि अजिङ्गरलाई डिभिजन वन कार्यालय देउखुरीमा बुझाइएको छ भने आवश्यक प्रक्रिया पूरा गरी प्राकृतिक वासस्थानमा छाडिने जनाइएको छ । घटनापछि स्थानीयमा केही समय त्रासको अवस्था सिर्जना भए पनि समयमै उद्धार टोली पुगेकाले थप क्षति हुन पाएन ।
उद्धारकर्ता शिवु खनालले वन्यजन्तु देखिएमा आत्तिने वा मार्ने प्रयास नगरी सम्बन्धित निकायलाई तत्काल जानकारी गराउन आग्रह गर्नुभयाे । उहाँका अनुसार अजिङ्गर विषालु नभए पनि निकै बलियो हुने भएकाले आफैं नियन्त्रणमा लिन खोज्दा जोखिम हुन सक्छ ।
डिभिजन वन कार्यालय देउखुरीका अनुसार अजिङ्गर नेपालमा संरक्षित वन्यजन्तुको सूचीमा रहेको प्रजाति हो । त्यसैले यसको संरक्षणसँगै मानव र वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरणका लागि जनचेतना आवश्यक रहेको कार्यालयले जनाएको छ ।
डिभिजनल वन अधिकृत गणेश बहादुर थारूका अनुसार देउखुरी क्षेत्रबाट हालसम्म एक दर्जनभन्दा बढी अजिङ्गरको उद्धार गरी सुरक्षित प्राकृतिक वासस्थानमा छाडिएको छ । गत र चालु आर्थिक वर्षको साउनयता मात्रै पाँच वटा अजिङ्गरको सफल उद्धार गरिएको उहाँले जानकारी दिनुभयाे ।
देउखुरीका सिमसार, नदी, खोला, तालतलैया, उखुखेती र पर्याप्त आहाराका कारण यो क्षेत्र अजिङ्गरका लागि उपयुक्त वासस्थान बनेको छ । पछिल्ला वर्षहरूमा लमही, गढवा, राजपुर र राप्ती क्षेत्रबाट पनि अजिङ्गर उद्धारका घटना बढ्दै गएका छन् ।
वन कार्यालयले स्थानीयलाई वन्यजन्तु देखिएमा हतारमा कुनै कदम नचाल्न, सुरक्षित दूरी कायम राख्न र तत्काल वन कार्यालय वा उद्धारकर्तालाई खबर गर्न आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्