नेपाल–भारत सीमा सुरक्षाकर्मीबीच मैत्रीपूर्ण भलिबल:- नेपाल एपीएफको जित, एसएसबी २–१ ले पराजित

दाङ समाचार
दाङ समाचार ४ आश्विन २०८३, आईतवार
1 Min Read
Aa

दाङ – भारतको रुपैडिहास्थित ४२औँ वाहिनी सशस्त्र सीमा बल (एसएसबी) को बीओपी परिसरमा नेपाल र भारतका सीमा सुरक्षाकर्मीबीच मैत्रीपूर्ण भलिबल प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा नेपाल सशस्त्र प्रहरी बल (एपीएफ) ले भारतीय सशस्त्र सीमा बल (एसएसबी) लाई २–१ सेटले पराजित गरेको छ ।

दुई देशका सीमा सुरक्षाकर्मीबीच आपसी सद्भाव, सहकार्य, समन्वय तथा भाइचारा अभिवृद्धि गर्ने उद्देश्यले मैत्रीपूर्ण भलिबल प्रतियोगिता आयोजना गरिएको हो । खेलको शुभारम्भ नेपाल र भारतका राष्ट्रिय गान बजाएर गरिएको थियो ।

प्रतियोगितामा दुवै टोलीका खेलाडीले उत्कृष्ट खेल प्रदर्शन गरेका थिए । प्रतिस्पर्धात्मक बनेको खेलमा नेपाल एपीएफले महत्वपूर्ण क्षणमा उत्कृष्ट प्रदर्शन गर्दै २–१ सेटको जित निकाल्न सफल भएको हो ।

सीमा क्षेत्रमा हुने यस्ता मैत्रीपूर्ण खेल तथा कार्यक्रमले सुरक्षा निकायबीचको औपचारिक सम्बन्धसँगै व्यक्तिगत तहमा समेत आपसी चिनजान, विश्वास र सहकार्यको वातावरण निर्माण गर्न सहयोग पुग्ने सहभागीहरूले बताएका छन् ।

सीमा सुरक्षा, अपराध नियन्त्रण, अवैध गतिविधि नियन्त्रण तथा सीमासँग सम्बन्धित विभिन्न विषयमा नेपाल र भारतका सुरक्षा निकायबीच नियमित समन्वय हुँदै आएको अवस्थामा खेलकुदजस्ता कार्यक्रमले सम्बन्धलाई थप आत्मीय र प्रभावकारी बनाउन योगदान पुग्ने अपेक्षा गरिएको छ ।

प्रतियोगिताको समापनसँगै दुवै पक्षका सुरक्षाकर्मीले खेलकुदलाई केवल प्रतिस्पर्धाको माध्यम नभई दुई देशबीचको मित्रता, सद्भाव र सहकार्यलाई थप मजबुत बनाउने माध्यमका रूपमा अघि बढाउनुपर्ने धारणा व्यक्त गरेका छन् ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्