दाङ – पोखरेल वंश कल्याणकारी संस्था यदुपति, देउखुरी दाङको अठारौं वार्षिक भेला तथा दोस्रो अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ । अधिवेशनले आत्मराम पोखरेलको अध्यक्षतामा नयाँ केन्द्रीय कार्यसमिति सर्वसम्मत रूपमा निर्वाचित गरेको हो ।
नवगठित कार्यसमितिमा नारायण पोखरेल उपाध्यक्ष, कमलप्रसाद पोखरेल सचिव, सीता पोखरेल कोषाध्यक्ष तथा कमल पोखरेल सहसचिव पदमा चयन भएका छन् ।
प्युठानको सरुमारानी गाउँपालिका–७, दर्भानमा सम्पन्न अधिवेशनबाट आगामी तीन वर्षका लागि नयाँ नेतृत्व चयन गरिएको हो। निर्वाचन मण्डलका संयोजक तथा संस्थाका सल्लाहकार रामप्रसाद जैसी पोखरेलले सो जानकारी दिनुभयो ।
संस्थाका संस्थापक अध्यक्षकै नेतृत्वमा कार्यसमिति चयन हुनुले समाजको निरन्तरता र स्थायित्वलाई मजबुत बनाएको संस्थाका पदाधिकारीहरूले बताएका छन् ।
वंशावली पुस्तक विमोचन
सोही अवसरमा चौरपानी बुढाचौर मूलथलो भएका पोखरेल बन्धुहरूको वंशावली पुस्तक पनि विमोचन गरिएको छ। पुस्तक संस्थाका ज्येष्ठ सदस्य यदुपति पोखरेलले विमोचन गर्नुभएको हो ।
चार अध्यायमा विभाजित उक्त पुस्तकको पहिलो अध्यायमा जीवको उत्पत्ति, मानव विकास र कुल–कुटुम्बको सम्बन्धबारे चर्चा गरिएको छ। दोस्रो अध्यायमा वंशवृक्ष, तेस्रो अध्यायमा कुलायन संस्कृतिअन्तर्गत पूजा–आराधना विधि तथा मन्त्रहरू समावेश गरिएको छ। चौथो अध्यायमा संस्थाका संगठनात्मक गतिविधिहरू प्रस्तुत गरिएको छ ।
रामप्रसाद जैसीको संयोजकत्वमा रहेको प्रकाशन समितिबाट आत्मराम पोखरेलको पहलमा तयार गरिएको पुस्तक खेमराज पोखरेलले लेख्नुभएको हो ।
पुस्तक विमोचन समारोहमा दिवाकर पोखरेलले पुस्तकको समीक्षा गर्दै यसलाई मानव उत्पत्ति, खस आर्यको इतिहास तथा समाज–संस्कृतिको अध्ययनका लागि उपयोगी दस्तावेजको रूपमा मूल्याङ्कन गर्नुभयो ।
प्रकाशन समितिका संयोजक रामप्रसाद जैसी, वसन्ता शर्मा तथा लेखक खेमराज पोखरेलले आगामी संस्करणमा हाल छुटेका वा संशोधन आवश्यक रहेका विषयवस्तु समेटिने जानकारी दिनुभयो ।
झण्डै २ सय जनाको सहभागिता
कार्यक्रममा चौरपानी बुढाचौर मूलथलोबाट देश तथा विदेशमा बसोबास गरिरहेका पोखरेल समाजका झन्डै २०० सदस्यहरूको उपस्थिति रहेको थियो। संस्थाले ८४ वर्ष नाघेका ज्येष्ठ सदस्यहरूलाई सम्मान गर्ने परम्परालाई यसपटक पनि निरन्तरता दिएको छ । उद्घाटन सत्रको सञ्चालन संस्थाका सचिव दामोदर पौडेलले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्