गढवामा चेम्बर अफ कमर्स गठन, प्रथम अध्यक्षमा कौशल

दाङ समाचार
दाङ समाचार २६ जेष्ठ २०८२, आईतवार
2 Min Read
Aa

दाङ – गढवामा चेम्बर अफ कमर्स गठन भएको छ । आज शनिबार गढवामा बसेको भेलाले प्रथम अध्यक्षमा सन्तोष कौशललाई चयन गरेको छ । कौशलको अध्यक्षतामा पन्ध्र सदस्यीय कार्यसमिति सदस्य गठन गरिएको हो । जसको वरिष्ठ उपाध्यक्षमा प्रवल रसाइली, उपाध्यक्षमा शिवलाल पोख्रेल, सचिवमा प्रतीक्षा पौडेल, कोषाध्यक्ष समिर खान, सह-कोषाध्यक्ष ओम प्रकाश चौधरी चयन भएका छन। त्यसैगरी सदस्यमा होमराज रिजाल, चन्द्रकान्त शर्मा, देवेन्द्र श्रेष्ठ, चुरामणि चौधरी, वेद नारायण चौधरी, कुस्सु चौधरी, कृष्ण बहादुर आले र जागेश्वर चौधरी रहेका छन ।

गढवामा रहेका उद्योगी तथा व्यवसायीहरूको हकहित, संरक्षण र व्यवसायिक वातावरण सुदृढ गर्नका लागि नेपाल चेम्बर अफ कमर्स गढवा चेम्बर अफ कमर्स गठन गरिएको हो ।

नेपाल चेम्बर अफ कमर्स लुम्बिनी प्रदेशका सचिव अजय न्यौपानेले चेम्बर गठनको प्रमुख उद्देश्य गढवा क्षेत्रका साना तथा ठूला व्यवसायीहरूलाई एकीकृत गर्दै उनीहरूको समस्या समाधान, व्यवसायिक हकहितको संरक्षण र स्थानीय आर्थिक विकासमा टेवा पुर्‍याउनु रहेको बताए ।

उनका अनुसार गढवा क्षेत्रमा रहेका व्यवसायीहरू विगतदेखि नै विभिन्न समस्याहरूको सामना गर्दै आएका थिए । बजारमा प्रतिस्पर्धा, करसम्बन्धी जटिलता, नीति निर्माणमा पहुँचको अभावजस्ता विषयहरूले व्यवसायीहरू अप्ठ्यारोमा परेका थिए । अब चेम्बरको गठनपछि यी समस्याहरू सम्बोधन गर्न सजिलो हुनेछ ।

गढवा चेम्बर अफ कमर्सले स्थानीय उद्योग, व्यापार तथा सेवा क्षेत्रका व्यवसायीहरूलाई सदस्यता दिई संयुक्त रूपमा आवाज उठाउने, नीति निर्मातासँग सहकार्य गर्ने, तालिम, गोष्ठी तथा अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने जनाएको छ । नेपाल चेम्बर अफ कमर्स लुम्बिनी प्रदेशका सचिव अजय न्यौपानेको प्रमुख आतिथ्यतामा पदाधिकारी चयन गरिएको हो । सो क्रममा लमही चेम्बरका अध्यक्ष सितल भुसाल, महासचिव केशव राज अधिकारी समेतको उपस्थिति रहेको थियो ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्