रोल्पा – नेपाली कांग्रेसका युवा नेता अनुपम जिसीले बदलिँदो समय, प्रविधिको विकास र नागरिकको अपेक्षाअनुसार नेपाली कांग्रेसलाई थप डिजिटल, प्रविधिमैत्री र आधुनिक बनाउनुपर्ने बताएका छन् । उनले पार्टीका नीति, विचार, कार्यक्रम र नेतृत्वका सकारात्मक सन्देश नागरिकमाझ प्रभावकारी रूपमा पुर्याउन डिजिटल प्रविधिको अधिकतम उपयोग गर्नुपर्नेमा जोड दिएका छन् ।
नेपाली कांग्रेस प्रदेशसभा क्षेत्र नं. १, रोल्पाले सुलिचौरमा आयोजना गरेको कार्यक्रममा बोल्दै नेता जिसीले कांग्रेस अब परम्परागत राजनीतिक कार्यशैलीमा मात्र सीमित रहन नहुने बताए । नयाँ सोच, नवीन विचार र आधुनिक सञ्चार प्रविधिलाई आत्मसात् गर्दै जनतामाझ पुग्न सके पार्टीप्रतिको विश्वास र आकर्षण थप बढाउन सकिने उनको भनाइ थियो ।
उनले कांग्रेसकै नेतृत्वमा नेपालले शान्ति प्रक्रिया र संविधान निर्माणजस्ता ऐतिहासिक उपलब्धि हासिल गरेको स्मरण गराउँदै बदलिँदो राजनीतिक परिवेशअनुसार पार्टीले आफ्नो भूमिका, कार्यशैली र प्राथमिकतामा समयसापेक्ष परिवर्तन गर्नुपर्ने धारणा राखे ।
नेता जिसीले वर्तमान समय सूचना र प्रविधिको युग भएकाले पार्टीका गतिविधि, नीति तथा राजनीतिक दृष्टिकोणलाई डिजिटल माध्यमबाट नागरिकसम्म पुर्याउनु आवश्यक रहेको बताए । विशेषगरी युवा पुस्ताको चाहना, प्रविधिको तीव्र विकास र नागरिकको बदलिँदो राजनीतिक चेतनालाई सम्बोधन गर्न कांग्रेसले आफ्नो संगठनात्मक र सञ्चार शैलीमा व्यापक सुधार गर्नुपर्ने उनको धारणा थियो ।
उनका अनुसार डिजिटल प्रविधिको प्रभावकारी प्रयोगले पार्टी र नेतृत्वका सन्देशलाई छिटो, सहज र विश्वसनीय रूपमा जनतामाझ पुर्याउन सकिन्छ। यसले संगठनलाई थप सक्रिय, पारदर्शी र जनमुखी बनाउनसमेत सहयोग पुर्याउनेछ ।
जिसीले कांग्रेसभित्र रूपान्तरण र पुस्तान्तरणको प्रक्रिया अघि बढिरहेको उल्लेख गर्दै यसलाई व्यवहारमा उतारेर पार्टीलाई थप गतिशील, परिणाममुखी र नागरिकको अपेक्षाअनुरूप बनाउनुपर्ने आवश्यकता औँल्याए ।
फरक प्रसंगमा नेता जिसीले पार्टीको मूलप्रवाहबाट अलग भएका साथीहरू ढिलोचाँडो पुनः एकताबद्ध भएर कांग्रेसमा फर्किने विश्वास व्यक्त गरे। उनले कांग्रेस नागरिकको विश्वास, सहभागिता र अगुवाइबाट स्थापित भएको पार्टी भएकाले जनताकै भरोसाका आधारमा पुनः बलियो राष्ट्रिय शक्तिका रूपमा स्थापित हुने दाबी गरे।
पार्टीलाई समयानुकूल रूपान्तरण गर्दै संगठनात्मक एकता, नवीन सोच, युवा सहभागिता र प्रविधिको प्रभावकारी प्रयोगलाई प्राथमिकता दिन सके कांग्रेसले नागरिकको विश्वास अझ मजबुत बनाउन सक्ने उनको भनाइ थियो ।
नेता जिसीको अभिव्यक्तिले कांग्रेसभित्र डिजिटल रूपान्तरण, पुस्तान्तरण, युवा नेतृत्वको भूमिका र संगठनात्मक एकताको आवश्यकतालाई उजागर गरेको छ । बदलिँदो राजनीतिक परिवेशमा पार्टीलाई आधुनिक, प्रविधिमैत्री र जनअपेक्षाअनुरूप बनाउने बहसका रूपमा उनको धारणा अर्थपूर्ण देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्