दाङ – नेपाली कांग्रेसका केन्द्रीय सहमहामन्त्री योगेन्द्र चौधरीले सबै पुस्तालाई समेट्दै आलोचकहरूलाई समेत साथमा लिएर पार्टीलाई थप सुदृढ बनाउनुपर्ने बताउनुभएको छ ।
नेपाली कांग्रेस क्षेत्र नं. १ दाङले आइतबार लमहीमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा बधाई कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले पार्टी निर्माणका लागि अग्रज, युवा र नयाँ पुस्ताबीच सहकार्य, संवाद र सहअस्तित्व आवश्यक रहेको धारणा राख्नुभयो । पार्टीको आलोचना गर्नेहरूलाई पनि अलग राख्ने नभई उनीहरूका विचार र सुझावलाई समेटेर अघि बढ्नुपर्ने उहाँको भनाइ थियो ।
“कांग्रेसलाई जनतासँग जोडेर अघि बढ्नुपर्छ । अग्रजहरूलाई प्रश्न गर्ने छुट सबैलाई छ, तर त्यस्ता प्रश्न चोकचौराहमा होइन, पार्टी कार्यालय र पार्टीका औपचारिक कार्यक्रममा उठाउनुपर्छ,” उहाँले भन्नुभयो ।
उहाँले पार्टीभित्र स्वस्थ बहस, विचारको आदानप्रदान र रचनात्मक आलोचनालाई प्रोत्साहन गर्दै सबैलाई समेटेर अघि बढ्न सके मात्र कांग्रेसलाई थप बलियो र जनमुखी बनाउन सकिने सन्देश दिनुभयो ।
लमही नगरपालिका ८ का सभापति गणेश चौधरी, भारतीय भुपु सैनिक संघका अध्यक्ष मुम बहादुर रोका, लुम्बिनी प्रदेश प्रतिनिधि प्रकाश चन्द्र अधिकारी, राप्ती गाउँपालिकाका सभापति विद्या शरण चौधरी, लमही नगरपालिका सभापति सन्तोष बुढाथोकी, लमही नगरपालिकाका उपप्रमुख तथा केन्द्रीय महाधिवेशन प्रतिनिधि लक्ष्मी योगी, राजपुर गाउँ पालिका उपाध्यक्ष तथा केन्द्रीय महाधिवेशन प्रतिनिधि धनपतिदेकी यादव, मधु प्रसाद न्यौपाने, अर्जुन योगी, निवर्तमान केन्द्रीय सदस्य प्रदीपराज शर्मा लगायतले बोल्नु भएको थियो ।
नेपाली काङ्ग्रेस क्षेत्र नम्बर १ का सभापति दिनेश गिरीको सभापतित्व तथा नेपाली काङ्ग्रेसका केन्द्रीय सहमहामन्त्री योगेन्द्र चौधरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रदेश क का सभापति किरण पौडेलले स्वागत मन्तव्य राख्नु भएको थियो भने सहजीकरण प्रदेश ख का सभापति लालवीर खड्काले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्