दाङ – यस वर्षको बडादसैँमा तिथि वृद्धि भई दुई दिन अष्टमी परेकाले नवरात्रको नवौँ दिन अर्थात् आज (कात्तिक २ गते सोमबार) पनि महाअष्टमीकै कर्म दोहोर्याइने भएको छ ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएको पात्रोअनुसार कात्तिक १ र २ गते दुवै दिन महाअष्टमी परेकाले पूजा कोठा तथा दसैँ घरहरूमा आठौँ दिनकै विधिअनुसार पूजा आराधना गर्नुपर्ने समितिले जनाएको छ ।
समितिका पूर्वसदस्य एवं वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका प्रमुख प्रा. डा. देवमणि भट्टराईका अनुसार पात्रोमा दुई दिन अष्टमी उल्लेख गरिएकाले हिजो गरिएको महाअष्टमीको कर्म आज पनि निरन्तर गर्नुपर्छ ।
आज नवरात्रको नवौँ दिन भए पनि नवदुर्गामध्येकी आठौँ देवी महागौरीकै पूजा आराधना गर्नुपर्ने र महाअष्टमीकै अन्य धार्मिक कर्महरू दोहोर्याउनुपर्ने उनले जानकारी दिए ।
यसरी तिथि बढ्दा यसपालिको नवरात्र १० दिन (दशरात्र) को बनेको छ भने देवीको साधना तथा आराधनामा एक दिन थपिँदा कुनै फरक नपर्ने धर्मशास्त्रविद्हरूको भनाइ छ । deshsanchar

प्रतिक्रिया दिनुहोस्