प्रधानमन्त्री शाहको सम्भावित भारत भ्रमणलाई लिएर कूटनीतिक चासो बढ्दै

दाङ समाचार
दाङ समाचार २ कार्तिक २०८३, आईतवार
1 Min Read
Aa

दाङ – प्रधानमन्त्री वालेन्द्र शाह आगामी मङ्सिरको दोस्रो सातातिर भारत भ्रमणमा जाने सम्भावनासँगै राजनीतिक तथा कूटनीतिक क्षेत्रमा चासो बढेको छ । परराष्ट्रमन्त्री शिशिर खनालले भ्रमणको तयारी भइरहेको जानकारी दिए पनि औपचारिक मिति भने तय भइनसकेको बताएका छन् ।

मन्त्री खनालका अनुसार वर्तमान सरकार गठन भएयता भारत सरकारसँग निरन्तर सम्पर्क र समन्वय भइरहेको छ । प्रधानमन्त्री शाहको भारत भ्रमणलाई प्रभावकारी, परिणाममुखी र उपलब्धिमूलक बनाउने सरकारको लक्ष्य रहेको उनले बताएका छन् ।

व्यापार, ऊर्जा र सीमा समस्याले पाउने प्राथमिकता
प्रधानमन्त्री शाहको सम्भावित भारत भ्रमणका क्रममा नेपाल–भारत सम्बन्धसँग जोडिएका विभिन्न महत्त्वपूर्ण विषयमा छलफल हुने अपेक्षा गरिएको छ । विशेषगरी व्यापार तथा पारवहन, ऊर्जा सहकार्य, पूर्वाधार निर्माण, कनेक्टिभिटी र सीमा सम्बन्धी विषयले प्राथमिकता पाउन सक्नेछन् ।

त्यस्तै नेपालले लामो समयदेखि उठाउँदै आएका व्यापार असन्तुलन न्यूनीकरण, थप हवाई प्रवेश बिन्दुको व्यवस्था तथा पञ्चेश्वर बहुउद्देश्यीय परियोजनालाई अघि बढाउने विषयमा समेत छलफल र प्रगतिको अपेक्षा गरिएको छ ।

यद्यपि भ्रमणका क्रममा कुन–कुन विषयलाई औपचारिक कार्यसूचीमा समेटिने भन्नेबारे अहिलेसम्म स्पष्ट जानकारी सार्वजनिक भएको छैन । प्रधानमन्त्री शाहको भारत भ्रमणले दुई देशबीचको सम्बन्धलाई थप सुदृढ बनाउनुका साथै आपसी हितका विषयमा ठोस उपलब्धि हासिल गर्ने अपेक्षा गरिएको छ ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्