दाङ – देउखुरीमा सञ्चालित सामाजिक उद्यमी महिला सहकारी संस्थाहरूले गरिरहेका कार्य, अभ्यास र उपलब्धिबारे जिल्ला स्तरीय अनुगमन गरिएको छ । अनुगमन टोलीले सहकारीहरूले संस्थागत उद्देश्यअनुसार गरेका गतिविधि, उपलब्धि र आगामी योजनाहरूको बारेमा विस्तृत जानकारी लिएको हो ।
अनुगमनको नेतृत्व गर्दै जिल्ला समन्वय समिति दाङका प्रमुख नित्यानन्द शर्माले महिलालाई उद्यमशील बनाउँदै आत्मनिर्भर बनाउने प्रयासले सार्थकता पाएको बताउनुभयो । उहाँले छोटो समयमै करोडौँको कारोबार गर्दै सामाजिक तथा आर्थिक क्षेत्रमा महिलाहरूले पुर्याएको योगदान प्रशंसनीय रहेको उल्लेख गर्नुभयो ।
लमही नगरपालिकाका उपप्रमुख लक्ष्मी योगीले महिला सशक्तिकरणका लागि स्थानीय सरकार र परियोजनाबीचको समन्वय फलदायी भएको बताउनुभयो । उहाँले उत्पादन र बजारीकरणको प्रक्रिया अझ व्यवस्थित गर्न स्थानीय सरकारले सक्रिय भूमिका खेल्नुपर्ने धारणा राख्नुभयो । उपप्रमुख योगीका अनुसार, उत्पादनमा आधारित महिला उद्यमशीलताको प्रवर्द्धनसँगै आत्मनिर्भरता र सामाजिक सहभागिता समेत उल्लेखनीय रूपमा बढेको छ ।
सहकारीहरूको विस्तार र उपलब्धि
ग्रामीण महिला उत्थान केन्द्र दाङ र हेफर इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालित “तरकारीको मूल्य श्रृंखलामा नवप्रवर्द्धनमार्फत ग्रामीण महिलाहरूको प्रतिस्पर्धात्मक क्षमता विकास परियोजना ( इअल्व्च )” अन्तर्गत सहकारीहरूले उल्लेखनीय प्रगति गरेका छन ।
लमही नगरपालिका – ७ कप्तानगञ्जस्थित दिपन सामाजिक उद्यमी महिला सहकारीकी अध्यक्ष पुनम घर्ती मगरका अनुसार, २५ सदस्यबाट सुरु भएको सहकारी अहिले करिब १ हजार २ सय सदस्यसम्म विस्तार भइसकेको छ भने कुल पूँजी ६ करोड ७६ लाख २१ हजार पुगेको छ । राप्ती कृषक सहयोगी समूहकी अध्यक्ष रुविया चौधरीले व्यवसायिक तरकारी खेतीबारे प्राप्त ज्ञानपछि वार्षिक १६ लाख रूपैयाँभन्दा बढी आम्दानी गर्न सफल भएको जानकारी दिनुभयो ।
लमही नगरपालिका – २ केरुनियास्थित समुन्नति सामाजिक उद्यमी महिला सहकारीकी अञ्जु चौधरीले सहकारीप्रतिको विश्वासका कारण अहिले करोडौँको कारोबार गर्न सक्ने अवस्था सिर्जना भएको बताउनुभयो । उहाँका अनुसार, निकट भविष्यमा तरकारी प्रशोधन केन्द्र सञ्चालन गर्ने तयारी समेत भइरहेको छ । यसको पूर्वाधार निर्माणका लागि संघीय सरकारले १ करोड रुपैयाँ बजेट विनियोजन गरिसकेको छ ।
लमही नगरपालिका – १ सुन्डबरीस्थित नीलकमल सामाजिक उद्यमी महिला सहकारीकी अध्यक्ष सीता पौडेलले एक दशकअघि ५१ सदस्यबाट सुरु भएको सहकारी हाल १ हजार ५ सय सदस्यसम्म विस्तार भएको बताउनुभयो । सहकारीले दैनिक २ हजार लिटर दूध संकलन गरी दुग्धजन्य वस्तु- दही, घिउ, पनिर, कुल्फी, खुवा आदि उत्पादन गरी बजारीकरण गरिरहेको छ ।
हरित उत्पादनतर्फ उन्मुख
हेफर इन्टरनेशनलका वरिष्ठ कार्यक्रम अधिकृत महेश कुमार आचार्यले परियोजनाले महिलाहरूलाई आत्मनिर्भर बनाउँदै उद्यमशीलतामा प्राथमिकता दिएको जानकारी दिनुभयो । उहाँले विषादीको प्रयोग घटाएर हरित उत्पादनतर्फ ध्यान केन्द्रित गर्दै प्राङ्गारिक तरकारी खेतीलाई विशेष प्राथमिकतामा राखिएको बताउनुभयो । हाल ३ कट्ठामा तरकारी फलाउँदै आएका किसानहरू परियोजना समापनसम्म ६ कट्ठामा उत्पादन विस्तार गर्न सक्षम हुने लक्ष्य राखिएको छ ।
ग्रामीण महिला उत्थान केन्द्रकी अध्यक्ष आसमानी चौधरीले परियोजनामार्फत सहकारीमा आवद्ध किसानहरूले एकद्वार प्रणालीअनुसार उत्पादन र बजारीकरणमा उल्लेखनीय सफलता हासिल गरिरहेको बताउनुभयो । यसरी देउखुरी क्षेत्रका महिलाहरूले सहकारीमार्फत देखाएको आत्मनिर्भरताको मार्ग, आर्थिक योगदान र सामाजिक सहभागिता उल्लेखनीय छ । यस्ता अभ्यासहरूले दीर्घकालीन रूपमै ग्रामीण समृद्धिमा टेवा पुर्याउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्