गुरुप्रसाद कुमाल ( बुलबुल )
दाङ – लुम्बिनी वाङ्मय प्रतिष्ठान जिल्ला शाखा दाङको आयोजना, लुम्बिनी वाङ्मय प्रतिष्ठान केन्द्रको सहकार्य र देउखुरी साहित्य तथा सांस्कृतिक मञ्चको संयोजनमा असोज २५ गते आयोजना हुने “जिल्ला विशेष तथा स्रष्टा सम्मान कार्यक्रम”को तयारीका लागि संयुक्त बैठक मंगलबार सम्पन्न भएको छ।
देउखुरी साहित्य तथा सांस्कृतिक मञ्चको सभाहलमा सम्पन्न उक्त बैठकले कार्यक्रमको सम्पूर्ण संयोजन र समन्वय देउखुरी साहित्य तथा सांस्कृतिक मञ्चले गर्ने निर्णय गरेको छ। कार्यक्रम भक्ति थापा स्मृति पार्क, रातोडाँडामा आयोजना गरिने छ।
थारू सांस्कृतिक प्रस्तुतिका लागि साहित्यकार शिवहरि चौधरी र शनिराम चौधरीलाई, अवधी सांस्कृतिक प्रस्तुतिका लागि गीतकार तथा गायक रामगोपाल यादव र केशरी यादवलाई जिम्मेवारी दिइएको छ। त्यस्तै, “दाङका नारी स्रष्टा” शीर्षकको कार्यपत्र प्रस्तुतीकरणको जिम्मा साहित्यकार सन्ध्या रेग्मीलाई दिइएको छ।
बैठकले दाङमा क्रियाशील साहित्य, कला, संगीत तथा संस्कृतिका साधकमध्ये थारू समुदाय, अवधी समुदाय र एक जना महिला गरी तीन जना स्रष्टालाई सम्मानका लागि सिफारिस गर्ने निर्णय गरेको छ।
कार्यक्रममा खाजा तथा जलपान व्यवस्थापनका लागि विजया पोख्रेल, राधा गौतम र शंकर पाण्डेयलाई जिम्मेवारी तोकिएको छ। आर्थिक सहयोगका लागि साहित्यकार रविलाल आचार्य, शंकर पाण्डेय, हरि पोख्रेल, हरेकृष्ण ज्ञवाली, गंगानाथ कोइराला, बालमुकुन्द आचार्य, राधा गौतम, योगमाया शाही, दीपा खत्री, खगेश्वर शर्मा, गिरिराज खनाल, शिवहरि चौधरी, नीमबहादुर थापा र गुरुप्रसाद कुमाल (बुलबुल) लाई धन्यवाद व्यक्त गरिएको छ।

प्रतिक्रिया दिनुहोस्