दाङ – लमही नगरपालिकाको आर्थिक विकास समितिले सहकारी क्षेत्रलाई थप सुदृढ, पारदर्शी र जनमुखी बनाउने उद्देश्यले यही माघ २० गते सहकारी क्षेत्रका सरोकारवालासँग बृहत छलफल कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ ।
नगर प्रमुख जोगराज चौधरीको अध्यक्षतामा बसेको बैठकमा नगर प्रमुख जोगराज चौधरीले सहकारीलाई स्थानीय आर्थिक विकासको मेरुदण्डका रूपमा स्थापित गर्नुपर्नेमा जोड दिनुभयो । सहकारीलाई व्यवस्थित र जवाफदेही बनाउँदै नगरपालिकासँगको सहकार्यलाई बलियो बनाउनु आजको आवश्यकता भएकोले यसका माध्यमबाट स्थानीय नागरिकको जीवनस्तर सुधारमा ठोस योगदान पुग्ने उहाँको भनाई छ ।
उपप्रमुख लक्ष्मी योगीले सहकारी र कृषकबीचको सम्बन्धलाई अझ बलियो बनाउँदै उत्पादन र बजार व्यवस्थापनमा सहजीकरण गर्नुपर्ने बताउनुभयो । कृषकको आर्थिक अवस्था सुधार गर्न सहकारी र नगरपालिका एकआपसमा हातेमालो गर्दै अघि बढ्नुपर्छ । कृषि तथा पशुपालनसँग सम्बन्धित सेवा प्रवाहलाई सरल र प्रभावकारी बनाइने उहाँले भन्नुभयो ।
त्यसैगरी प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्र बहादुर डाँगीले बैठकका निर्णय सार्वजनिक गर्दै कृषि तथा सहकारी क्षेत्रलाई प्राथमिकतामा राखेर काम अघि बढाइने जानकारी दिनुभयो । उहाँका अनुसार आगामी वर्षे धानबालीका लागि आवश्यक धानको बीउ समयमै खरिद तथा व्यवस्थापन गरिने र बसन्ते मकैको बीउ वितरणका लागि कृषि शाखाले तत्काल व्यवस्था मिलाउने निर्णय बैठकले गरेको छ ।
माघ २० गते हुने बृहत छलफल कार्यक्रममा सहकारी क्षेत्रसँग आबद्ध नागरिकका आशा, अपेक्षा र गुनासोलाई अन्तरक्रिया र सहसंवादमार्फत उजागर गरी समाधानतर्फ अग्रसर हुने नगरपालिकाले जनाएको छ । यसले सहकारी प्रशासनलाई चुस्त, दुरुस्त र गतिशील बनाउँदै स्थानीय आर्थिक विकासमा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्