दाङ– लमही नगरपालिका–३ का वडा अध्यक्ष मनोज कुमार चौधरीले स्नातकोत्तर तहसम्मको शिक्षाको जिम्मेवारी राज्यले लिनुपर्ने बताउनुभएको छ । शिक्षामा सबै नागरिकको समान पहुँच सुनिश्चित गर्न सरकारले विद्यालय तहमा मात्रै नभई उच्च शिक्षामा समेत लगानी बढाउनुपर्ने उहाँको भनाइ छ ।
शुक्रबार पत्रकारहरूसँग कुराकानी गर्दै वडा अध्यक्ष चौधरीले आर्थिक अभावकै कारण विद्यार्थीले बीचमै पढाइ छाड्नुपर्ने बाध्यता अन्त्य गर्न राज्यले उच्च शिक्षाको सम्पूर्ण जिम्मेवारी लिनुपर्ने धारणा राख्नुभयो । उहाँले अहिलेको शैक्षिक अवस्थालाई हेर्दा कक्षा १० सम्म अभिभावकले जेनतेन आर्थिक व्यवस्थापन गरेर आफ्ना छोराछोरीलाई पढाउन सक्ने भए पनि त्यसपछिको उच्च शिक्षाको आर्थिक भार थेग्न नसक्ने अवस्था रहेको बताउनुभयो ।
विशेषगरी स्नातक र स्नातकोत्तर तहमा अध्ययन गर्न चाहने विद्यार्थीले विभिन्न शीर्षकमा शुल्क तिर्नुपर्ने भएकाले आर्थिक रूपमा कमजोर परिवारका विद्यार्थी उच्च शिक्षा हासिल गर्ने अवसरबाट वञ्चित हुनुपरेको उहाँको भनाइ छ । हरेक वर्ष लाग्ने चर्को शैक्षिक शुल्क, परीक्षा शुल्क, यातायात भाडा तथा अन्य आवश्यक खर्चका कारण अभिभावकलाई ठूलो आर्थिक भार पर्ने गरेको उहाँले उल्लेख गर्नुभयो ।
“कक्षा १० सम्म अभिभावकले जेनतेन आर्थिक जोहो गरेर छोराछोरीलाई पढाउन सक्नुहुन्छ तर त्यसपछिको आर्थिक भार थेग्न सक्ने अवस्था सबै अभिभावकको हुँदैन । आर्थिक समस्याकै कारण धेरै विद्यार्थीले बीचमै पढाइ छाड्नुपर्ने बाध्यता छ । त्यसैले स्नातक तहदेखि माथिल्लो तहसम्मको शिक्षाको जिम्मा राज्यले लिनुपर्छ,” उहाँले भन्नुभयो ।
लामो समय शिक्षा क्षेत्रमा आबद्ध भएर काम गरेको अनुभव सुनाउँदै वडा अध्यक्ष चौधरीले शैक्षिक क्षेत्रका समस्या नजिकबाट बुझ्ने अवसर पाएको बताउनुभयो । शिक्षामा लगानी गर्नु भनेको नागरिकको भविष्य निर्माण गर्नु र देशको समग्र विकासको आधार तयार गर्नु भएकाले यसलाई राज्यले प्राथमिकतामा राख्नुपर्ने उहाँको तर्क छ ।
उहाँले शिक्षा क्षेत्रमा देखिएका आर्थिक तथा संरचनागत समस्या समाधान गर्न स्थानीय तहदेखि प्रदेश र संघीय सरकारसम्मले साझा नीति तथा कार्यक्रम बनाएर अघि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
“हरेक वर्षको चर्को शुल्क, परीक्षा शुल्क, यातायात भाडालगायत सबै खाले आर्थिक भार अभिभावकलाई मात्रै पार्नु हुँदैन । यदि हामीले शिक्षा क्षेत्रको अर्थ र मर्म बुझ्ने हो भने स्थानीय तहदेखि प्रदेश र केन्द्रसम्मका सरकारले यस विषयलाई गम्भीरतापूर्वक लिनु उपयुक्त हुन्छ,” उहाँले भन्नुभयो ।
उच्च शिक्षा हासिल गर्ने अवसर आर्थिक अवस्थाका आधारमा सीमित हुन नहुने बताउँदै उहाँले शिक्षालाई नागरिकको आधारभूत अधिकारका रूपमा व्यवहारमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो । आर्थिक अवस्था कमजोर भएकै कारण प्रतिभाशाली विद्यार्थीले आफ्नो अध्ययनलाई निरन्तरता दिन नसक्ने अवस्था आउनु राज्यका लागि पनि चुनौतीपूर्ण विषय भएको उहाँको भनाइ छ ।
लमही नगरपालिका वडा नम्बर ३ को कार्यालयले विगत केही वर्षदेखि प्राविधिक शिक्षा तथा स्नातक तहमा अध्ययनरत विद्यार्थीलाई आर्थिक सहायता उपलब्ध गराउँदै आएको छ । आर्थिक अभावका कारण विद्यार्थीको अध्ययन प्रभावित नहोस् भन्ने उद्देश्यले वडाले आफ्नो सीमित स्रोतसाधनबाट सहयोग गर्दै आएको वडा अध्यक्ष चौधरीले जानकारी दिनुभयो ।
वडाले उपलब्ध गराउँदै आएको सहयोगलाई आगामी दिनमा थप व्यवस्थित र प्रभावकारी बनाउने योजना रहेको उहाँले बताउनुभयो । विशेषगरी स्नातक तहदेखि माथिल्लो कक्षामा अध्ययन गर्न चाहने विद्यार्थीलाई लक्षित गरी विशेष कार्यक्रम निर्माण गरेर अघि बढ्ने तयारी भइरहेको उहाँको भनाइ छ ।
शिक्षा व्यक्तिगत उन्नतिको माध्यम नभई समाज र राष्ट्रको भविष्य निर्माण गर्ने महत्वपूर्ण आधार भएकाले आर्थिक अभावकै कारण कुनै पनि विद्यार्थी उच्च शिक्षाबाट वञ्चित हुन नहुने उहाँको जोड छ ।

प्रतिक्रिया दिनुहोस्