कल्पनालाई प्रविधिमा रूपान्तरण गर्दै: मेरो मोबाइल एप विकासको यात्रा

दाङ समाचार
दाङ समाचार ९ मंसिर २०८३, मंगलवार
5 Min Read
Aa

नरेन्द्र कुमार गुप्ता

मोबाइल एप विकास मेरो लागि आम्दानीको माध्यम मात्र होइन, यो ज्ञान, सीप र सिर्जनशीलतालाई निरन्तर निखार्दै अघि बढ्ने एउटा अर्थपूर्ण यात्रा हो । यस यात्रामा निरन्तर सिकाइ, नयाँ प्रविधिको अन्वेषण, प्रयोग, चुनौती, असफलताबाट प्राप्त अनुभव र नवीन सोचमार्फत केही नयाँ सिर्जना गर्ने अवसरहरू जोडिएका छन् ।

विगत करिब ६ वर्षदेखि Android मोबाइल एप विकासको क्षेत्रमा निरन्तर क्रियाशील रहँदै आएको छु । यस अवधिमा प्रविधिको बदलिँदो स्वरूपसँग आफूलाई अद्यावधिक गर्दै, नयाँ ज्ञान र सीप आत्मसात् गर्दै तथा प्रयोगकर्ताका आवश्यकता र अपेक्षालाई सम्बोधन गर्ने उपयोगी, प्रभावकारी र नवीन मोबाइल एपहरू निर्माण गर्ने प्रयास गर्दै आएको छु ।

मेरो लागि प्रत्येक परियोजना केवल एउटा एप निर्माण गर्नु मात्र होइन, नयाँ कुरा सिक्ने, अनुभव बटुल्ने र आफ्नै क्षमतालाई अझ फराकिलो बनाउने अर्को अवसर पनि हो ।

सुरुका दिनमा धेरै कुरा आफैं सिक्नुपर्ने अवस्था थियो । Programming, Android Studio, UI Design, Database, Firebase, Google Play Console, विज्ञापन प्रणालीलगायतका विभिन्न विषय सिक्दै र प्रयोग गर्दै आजसम्म आइपुगेको छु ।

एउटा एप बनाउनुभन्दा त्यसलाई प्रयोगकर्ताले सजिलै चलाउन सक्ने बनाउनु, समस्या समाधान गर्नु, विभिन्न मोबाइलमा परीक्षण गर्नु, Google Play का नियमहरू पालना गर्नु र समय–समयमा नयाँ Version उपलब्ध गराउनु अझ चुनौतीपूर्ण काम हो । कतिपय एपमा धेरै समय लगाएर काम गरे पनि अपेक्षित डाउनलोड वा आम्दानी नहुन सक्छ तर त्यसले अर्को एप अझ राम्रो बनाउने अनुभव भने दिएको छ ।

आम्दानीभन्दा पहिले सिकाइ

मैले विकास गरेका धेरैजसो एपहरू सर्वसाधारणले निःशुल्क प्रयोग गर्न सकून् भन्ने उद्देश्यले बनाउँदै आएको छु । एपबाट हुने आम्दानीका लागि मुख्य रूपमा Google AdMob प्रयोग गर्दै आएको छु । AdMob मार्फत एपमा विभिन्न प्रकारका विज्ञापन राखेर त्यसबाट आम्दानी गर्न सकिन्छ ।

तर मोबाइल एपबाट आम्दानी गर्नु सोचे जस्तो सजिलो छैन । एप बनाएर Play Store मा राख्दैमा ठूलो आम्दानी सुरु हुँदैन । प्रयोगकर्ता ल्याउनुपर्छ, एप उपयोगी हुनुपर्छ, प्रयोगकर्ताले लामो समयसम्म प्रयोग गर्नुपर्छ र विज्ञापनको प्रदर्शनबाट पर्याप्त revenue उत्पन्न हुनुपर्छ । त्यसैले मेरो लागि कमाइभन्दा पहिले एप निर्माण, सिकाइ र प्रयोगकर्ताको प्रतिक्रिया महत्वपूर्ण रहँदै आएको छ ।

अहिलेसम्म १५/१६ भन्दा बढी एपहरू

यस निरन्तर यात्रामा मैले विभिन्न प्रकारका १५/१६ वटा भन्दा बढी Android एपहरू Google Play Store मा उपलब्ध गराइसकेको छु । यी एपहरूमा खेल, शिक्षा, मोबाइल उपयोगिता, Programming र सामान्य प्रयोगका एपहरू समावेश छन् ।

केही प्रमुख एपहरू:

Save Alfa – Android Action/Game

Mobile Health – मोबाइलमा देखिन सक्ने विभिन्न समस्या तथा Mobile Health सम्बन्धी जानकारी दिने एप

Football Quiz – फुटबलसम्बन्धी ज्ञान तथा Quiz Game

CCompiler – मोबाइलबाट C Programming अभ्यास गर्न सहयोग गर्ने एप

Text to Lens – Text तथा मोबाइल Camera/Lens सम्बन्धी उपयोगिता

विभिन्न Quiz तथा Educational Apps

अन्य Utility तथा प्रयोगात्मक Android Applications

यी सबै एपहरू एउटै उद्देश्यबाट बनेका होइनन् । कतिपय एप प्रयोगकर्ताको समस्या समाधान गर्न, कतिपय नयाँ Programming Concept सिक्न, कतिपय मनोरञ्जनका लागि र कतिपय नयाँ प्रविधि परीक्षण गर्न बनाइएका हुन् ।

असफलताबाट पनि धेरै सिकाइ

मोबाइल एप निर्माणमा सबैभन्दा ठूलो चुनौती भनेको एप बनाउनु मात्र होइन, त्यसलाई सफल बनाउनु हो । कहिलेकाहीँ धेरै समय लगाएर बनाएको एपमा डाउनलोड निकै कम हुन्छ । कहिलेकाहीँ विज्ञापनबाट हुने आम्दानी अपेक्षाकृत न्यून हुन्छ । कुनै एपमा Technical समस्या आउँछ भने कुनैमा Play Store का नीति तथा आवश्यकताहरू बुझेर सुधार गर्नुपर्छ । यस्ता चुनौतीहरू पार गर्दै जाँदा Android Development सँगै Marketing, ASO, User Experience र Monetization सम्बन्धी ज्ञान पनि बढ्दै गएको छ ।

विशेषगरी अहिले Save Alfa जस्ता आफ्नै Game Project मा काम गर्दा Game Design, Character, Camera, Gameplay, Ads Integration, User Feedback र नयाँ Challenge थप्ने विषयमा थप सिकिरहेको छु । मेरो लागि एप निर्माण भनेको निरन्तर यात्रा हो

आजसम्म बनाएका १५/१६ भन्दा बढी एपहरूलाई हेर्दा ती सबै पूर्ण रूपमा सफल भए भन्ने होइन तर प्रत्येक एपले मलाई केही न केही नयाँ सिकाएको छ ।

कुनै एपले Programming सिकायो, कुनैले User Interface, कुनैले Database, कुनैले Advertising, कुनैले Google Play सम्बन्धी ज्ञान र कुनैले प्रयोगकर्ताको आवश्यकता बुझ्न सिकायो । त्यसैले मेरो मोबाइल एप निर्माणको यात्रा “एप बनाएर पैसा कमाउने” भन्दा पनि “समस्या समाधान गर्दै सिक्ने र नयाँ कुरा सिर्जना गर्ने” यात्रा हो ।

आगामी दिनमा पनि उपयोगी, सरल र सकेसम्म निःशुल्क Android एप तथा Game निर्माण गर्ने मेरो प्रयास जारी रहनेछ। प्रयोगकर्ताबाट प्राप्त हुने Feedback र सुझावलाई आधार बनाएर एपहरूमा सुधार गर्दै नयाँ Version र नयाँ Features थप्ने मेरो योजना छ ।

मेरो विश्वास छ ठूलो कम्पनी वा ठूलो बजेट नभए पनि आफ्नो रुचि, निरन्तर मेहनत र सिक्ने इच्छाशक्ति भएमा एक व्यक्तिले पनि संसारभरका प्रयोगकर्ताका लागि उपयोगी डिजिटल उत्पादन बनाउन सक्छ । लेखक लमही नगरपालिकाका सूचना प्रविधि अधिकृत हुन ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्