दाङ– समाजमा हुने आपराधिक घटना, अन्याय तथा विभेद न्यूनीकरण गर्दै नागरिकलाई कानुनी अधिकार र कर्तव्यबारे सचेत बनाउने उद्देश्यले दाङको राजपुर गाउँपालिकामा समुदायस्तरीय कानुनी साक्षरता कार्यक्रम सञ्चालन गरिएको छ । नागरिकलाई प्रचलित कानुनी व्यवस्था, अधिकार र दायित्वबारे जानकारी गराई कानुनको सम्मान तथा पालना गर्ने संस्कार विकास गर्न गाउँपालिकाले कार्यक्रम सञ्चालन गरेको हो ।
कार्यक्रममा बोल्ने वक्ताहरूले समाजमा कानुनी ज्ञान र चेतनाको कमी हुँदा विभिन्न प्रकारका हिंसा, अन्याय तथा आपराधिक गतिविधिले प्रश्रय पाउने गरेको धारणा व्यक्त गरेका थिए । सामान्य विवादसमेत कानुनी प्रक्रिया र समाधानका उपायबारे जानकारी नहुँदा गम्भीर अपराधमा परिणत हुने अवस्था देखिएकाले समुदायस्तरमै कानुनी शिक्षा विस्तार गर्नुपर्नेमा उनीहरूले जोड दिएका थिए ।
पछिल्लो समय दाङको राजपुर गाउँपालिका २ क्षेत्रमा एक व्यक्तिलाई जिउँदै जलाइएको जस्तो अमानवीय तथा गम्भीर आपराधिक घटनाले समाजमा कानुनी चेतना, मानवता र सामाजिक उत्तरदायित्वको आवश्यकतालाई थप उजागर गरेको छ । यस्ता घटना आगामी दिनमा समाजमा दोहोरिन नदिन नागरिकलाई कानुनबारे सचेत बनाउनु आवश्यक रहेको कार्यक्रमको उद्देश्य रहेको छ ।
कानुनको अज्ञानता कुनै पनि गैरकानुनी कार्यको औचित्य वा उन्मुक्तिको आधार बन्न नसक्ने भएकाले प्रत्येक नागरिकले कानुनबारे आधारभूत जानकारी राख्नुपर्ने प्रशिक्षक अधिवक्ता किरण पौडेलले बताउनुभयो । उहाँले नागरिकका मौलिक हक, मानव अधिकार, कानुनी उपचारका प्रक्रिया, अपराध र त्यसको कानुनी परिणामलगायत विषयमा जानकारी गराउनुभएको थियो ।
साथै अन्यायमा परेका व्यक्तिले न्याय प्राप्त गर्न अपनाउनुपर्ने कानुनी प्रक्रिया र राज्यका न्यायिक निकायको भूमिकाबारे पनि सहजीकरण गर्नुभएको थियो । गाउँपालिकाकी उपाध्यक्ष धनपति देवी यादवले कानुनी साक्षरता न्यायपूर्ण, सभ्य र सुरक्षित समाज निर्माणको महत्वपूर्ण आधार भएको बताउनुभयो ।
राजपुर गाउँपालिकाको आयोजनामा सम्पन्न कार्यक्रममा वडा नम्बर २ का अध्यक्ष ओमप्रकाश यादवको सभाध्यक्षता तथा गाउँपालिकाकी उपाध्यक्ष धनपति देवी यादवको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा अधिवक्ता किरण पौडेलले प्रशिक्षकका रूपमा सहजीकरण गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन दुर्गा यादवले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्