चौधरीको परिवारलाई कांग्रेसको सहयोग, आवास निर्माण तथा बालबालिकाको जिम्मेवारी लिने प्रतिबद्धता

प्रिया स्मृती गजमेर
प्रिया स्मृती गजमेर २ मंसिर २०८३, मंगलवार
4 Min Read
Aa

दाङ – राजपुर गाउँपालिका २ बेला बलुवाडाँडा निवासी स्वर्गीय रुपलाल चौधरीको परिवारलाई नेपाली कांग्रेसका नेताहरूले नगदसहित खाद्यान्न तथा शैक्षिक सामग्री सहयोग गरेका छन् । चौधरीको निधनपछि आर्थिक तथा पारिवारिक समस्यामा परेको परिवारलाई राहत पुर्‍याउने उद्देश्यले कांग्रेस नेताहरूले घरमै पुगेर सहयोग गरेका हुन् ।

नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधिहरू गिरिजादेवी न्यौपाने र धनपतिदेवी यादव, नेपाली कांग्रेस क्षेत्र नम्बर १ प्रदेश (क) का सभापति किरण पौडेल, प्रदेश (ख) का सभापति लालवीर खड्का, जिल्ला सदस्य बालिकाकुमारी पोख्रेल, निवर्तमान क्षेत्रीय सचिव प्रकाशकुमार जिसी, राजपुर गाउँपालिका २ का वडा अध्यक्ष ओमप्रकाश यादव र वडा नम्बर २ का सभापति धीरबहादुर यादव लगायतका नेताहरू स्वर्गीय चौधरीको घरमै पुगेर परिवारलाई सहयोग हस्तान्तरण गरेका हुन् ।

नेताहरूले परिवारलाई १५ हजार रुपैयाँ नगद, १५ बोरा चामल, तेल तथा बालबालिकाका लागि कापी र कलम सहयोग गरेका छन् । सहयोग हस्तान्तरणका क्रममा नेताहरूले स्वर्गीय चौधरीको निधनप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेका थिए ।

सो अवसरमा नेपाली कांग्रेसकी महाधिवेशन प्रतिनिधि गिरिजादेवी न्यौपानेले स्वर्गीय चौधरीका बालबालिकाको भविष्यप्रति चासो व्यक्त गर्दै उनीहरूको लालनपालन तथा शिक्षादीक्षाको जिम्मेवारी आफूले लिने प्रतिबद्धता जनाएकी छन् । परिवारले भोग्नुपरेको पीडालाई मध्यनजर गर्दै बालबालिकाको भविष्य अन्योलमा पर्न नदिन आफूले आवश्यक जिम्मेवारी लिने उनको भनाइ थियो ।

त्यस्तै नेपाली कांग्रेसकी अर्की महाधिवेशन प्रतिनिधि तथा राजपुर गाउँपालिकाका उपाध्यक्ष धनपतिदेवी यादवले पीडित परिवारका लागि आवासको व्यवस्था गर्न स्थानीय सरकारसँग समन्वय तथा पहल गर्ने बताएकी छन् । परिवारलाई सुरक्षित आवासको आवश्यकता रहेकाले स्थानीय सरकारमार्फत घरको बन्दोबस्त गर्न आफूले पहल गर्ने उनको प्रतिबद्धता थियो ।

नेपाली कांग्रेस क्षेत्र नम्बर १ प्रदेश (क) का सभापति किरण पौडेलले स्वर्गीय चौधरीको निधनले परिवारमा ठूलो पीडा थपिएको उल्लेख गर्दै दुःखको यस घडीमा परिवारलाई एक्लो महसुस हुन नदिन सबैले मानवीय सहयोग गर्नुपर्ने धारणा राखेका थिए ।

त्यसैगरी क्षेत्र नम्बर १ प्रदेश (ख) का सभापति लालवीर खड्काले पनि चौधरीको निधनप्रति दुःख व्यक्त गर्दै शोकमा रहेको परिवारप्रति समवेदना प्रकट गरेका थिए । उनले पीडित परिवारलाई आवश्यक सहयोग र सहजीकरणका लागि सामाजिक तथा राजनीतिक क्षेत्रबाट चासो र पहल आवश्यक रहेको बताएका थिए ।

नेपाली कांग्रेसका निवर्तमान क्षेत्रीय सचिव प्रकाशकुमार जिसीले परिवारले भोगिरहेको दुःखप्रति सहानुभूति व्यक्त गर्दै विपद् र संकटमा परेका परिवारलाई सहयोग गर्नु सबैको सामाजिक दायित्व भएको धारणा राखेका थिए । आफु पनि सोहि वडाबासी भएको नाताले सक्दो सहयोग गर्ने र सहयोगका लागि सबै संग समन्वय गर्ने बताए ।

यसैगरी राजपुर गाउँपालिका २ का वडा अध्यक्ष ओमप्रकाश यादवले घटनापछि परिवारले भोग्नुपरेको अवस्थाप्रति दुःख व्यक्त गर्दै बालबालिकाको संरक्षण, आवास तथा आवश्यक सहयोगका विषयमा स्थानीय तहबाट हुन सक्ने सहजीकरण र पहल महत्वपूर्ण रहेको बताएका थिए ।

केही दिनअघि आफ्नै छिमेकी त्रिलोक सिंह कार्कीले पेट्रोल छर्केर आगो लगाउँदा गम्भीर घाइते भएका रुपलाल चौधरीको उपचारका क्रममा मृत्यु भएको थियो । घटनामा संलग्न भएको आरोपमा कार्की अहिले प्रहरी हिरासतमा रहेका छन् ।

चौधरीको निधनपछि परिवारमा आर्थिक, सामाजिक तथा पारिवारिक संकट थपिएको छ । विशेषगरी बालबालिकाको लालनपालन, शिक्षादीक्षा र आवासको व्यवस्थापन परिवारका लागि चुनौती बनेको छ । यस्तो अवस्थामा कांग्रेस नेताहरूले नगद तथा खाद्यान्न सहयोग गर्नुका साथै बालबालिकाको भविष्य र परिवारको आवास व्यवस्थापनमा समेत प्रतिबद्धता जनाएका हुन् ।

पीडित परिवारलाई तत्कालीन राहतसँगै दीर्घकालीन सहयोगको आवश्यकता रहेको देखिन्छ । बालबालिकाको शिक्षादीक्षा, संरक्षण र सुरक्षित आवासको व्यवस्थापनमा जनप्रतिनिधि, राजनीतिक दल, स्थानीय सरकार तथा सामाजिक संघसंस्थाले निरन्तर चासो र सहयोग गर्नुपर्ने देखिन्छ ।

प्रिया स्मृती गजमेर

प्रतिक्रिया दिनुहोस्