दाङ – नेपाली कांग्रेसका सहमहामन्त्री योगेन्द्र चौधरीले दाङको राजपुर गाउँपालिकामा आफ्नै छिमेकीमाथि पेट्रोल खन्याएर आगो लगाई गम्भीर घाइते बनाइएको घटना अत्यन्तै दुःखद र निन्दनीय भएको बताउनुभएको छ ।
आज दाङको राजपुर गाउँपालिका–२, बेलाका त्रिलोक सिंह कार्कीले आफ्नै छिमेकी रुपलाल चौधरीमाथि पेट्रोल खन्याएर आगो लगाउँदा गम्भीर घाइते भएको घटनाप्रति सरकारको ध्यानाकर्षण गराउँदै सहमहामन्त्री चौधरीले दोषीलाई हदैसम्मको कारबाहीको माग गर्नु भएको छ ।
साथै समाजमा यस्ता आपराधिक घटनाहरू दोहोरिन नदिन र आपराधिक गतिविधि नियन्त्रण गर्न सरकारको गम्भीर ध्यानाकर्षण हुन आवश्यक रहेको उहाँले बताउनुभएको छ । नागरिकको सुरक्षा सुनिश्चित गर्न राज्यले प्रभावकारी कदम चाल्नुपर्नेमा समेत उहाँले जोड दिनुभएको छ ।
उहाँले घाइतेको उपचारमा कुनै पनि कसर बाँकी नराख्न तथा आवश्यक सम्पूर्ण उपचारको व्यवस्था मिलाउन नेपाल सरकारसँग आग्रह गर्नुभएको छ । घाइतेको जीवन रक्षाका लागि राज्यले गम्भीरतापूर्वक पहल गर्नुपर्नेमा जोड दिँदै उहाँले उपचारमा आवश्यक सहयोग र समन्वय गर्नसमेत सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्