दाङ – देउखुरीमा दुईवटा मोटरसाइकलको ठक्करबाट एक साइकल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा गढवा गाउँपालिका–७ मानपुर निवासी ३० वर्षीय रामकुमार चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।
प्रहरीका अनुसार बिहीबार बेलुका साढे ७ बजेको समयमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेका चौधरीलाई सोही दिशाबाट आइरहेको गढवा गाउँपालिका–६ बगरापुर निवासी सुनिल चौधरीले चलाएको लु ६ प ७७३ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो ।
पहिलो मोटरसाइकलको ठक्करबाट अनियन्त्रित भई लडेका चौधरीलाई पछाडिबाट सोही दिशातर्फ जाँदै गरेको सोही ठाउँ निवासी २९ वर्षीय भुवन चौधरीले चलाएको लु ८४ प ९८८४ नम्बरको अर्को मोटरसाइकलले समेत ठक्कर दिएको थियो । दुईवटा मोटरसाइकलको ठक्करबाट उनी गम्भीर घाइते भएका थिए ।
घाइते चौधरीलाई इलाका प्रहरी कार्यालय गढवाले तत्काल उद्धार गरी उपचारका लागि लमही अस्पताल पुर्याएको थियो । अस्पताल पुर्याएलगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
दुर्घटनामा ठक्कर दिने दुवै मोटरसाइकल चालक सामान्य घाइते भएका छन् । उनीहरू दुवैलाई म्याद थप गरी आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्