दाङ – नेपाली कांग्रेस गढवा गाउँपालिका वडा नम्बर ६ का क्रियाशील सदस्य तथा थानदेउखुरी निवासी चन्द्रिका प्रसाद यादवको १३औँ दिनको पुण्यतिथिका अवसरमा सोमबार शोकसभा सम्पन्न भएको छ ।
शोकसभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि अनुराग यादवले स्वर्गीय चन्द्रिका प्रसाद यादवको निधनले पार्टीलाई अपूरणीय क्षति पुगेको बताउनुभयो । उहाँले स्वर्गीय यादव पार्टी संगठनप्रति निष्ठावान् र प्रजातान्त्रिक विचारप्रति प्रतिबद्ध व्यक्तित्व रहेको उल्लेख गर्दै उहाँको राजनीतिक तथा सामाजिक योगदान सधैँ स्मरणीय रहने बताउनुभयो ।
त्यसैगरी शोक मन्तव्य व्यक्त गर्दै निवर्तमान क्षेत्रीय सभापति भेषराज पाण्डे, नेपाली कांग्रेस क्षेत्र नम्बर १ (क) का सभापति किरण पौडेल, जिल्ला सदस्य टिपुर यादव, अग्रज सामाजिक व्यक्तित्व राम सुमिरन यादव र नेपाली कांग्रेस गढवाका निवर्तमान गाउँपालिका सदस्य श्रीराम यादवले स्वर्गीय यादवको राजनीतिक निष्ठा, संगठन निर्माण तथा सामाजिक योगदानको स्मरण गर्नुभयो । उहाँहरूले वडा सदस्य तथा पुजैया समितिको अध्यक्षका रूपमा उहाँले पुर्याउनुभएको योगदानको चर्चा गर्दै निधनप्रति दुःख व्यक्त गर्नुभयो ।
स्वर्गीय यादवका दुई छोरा र चार छोरी रहेका छन् । कार्यक्रममा नेपाली कांग्रेसका वडा तथा गाउँपालिका समितिका पदाधिकारी, क्षेत्रीय प्रतिनिधि, क्रियाशील सदस्य तथा शुभचिन्तकहरूको सहभागिता रहेको थियो । नेपाली कांग्रेस गढवा गाउँपालिका वडा नम्बर ६ का सभापति हुकुमराज यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन दुखहरण यादवले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्