दाङ – नेपाल विद्युत् प्राधिकरण लमही वितरण केन्द्रले विद्युत् महसुल बक्यौता असुलीलाई तीव्रता दिने भएको छ । ६० दिनभन्दा बढी समयदेखि महसुल नबुझाएका ग्राहकको विद्युत् लाइन विच्छेद गर्न केन्द्रले मंसिर १२ र १३ गते विशेष अभियान सञ्चालन गर्ने भएको हो ।
विद्युत् सेवा उपभोग गरेबापत नियमित महसुल भुक्तानी नगर्ने ग्राहकको बक्यौता बढ्दै गएपछि असुली प्रक्रियालाई प्रभावकारी बनाउन अभियान सञ्चालन गर्न लागिएको वितरण केन्द्रले जनाएको छ । कार्यालय प्रमुख इन्जिनियर ज्ञानबहादुर फर्सालले लामो समयदेखि विद्युत् महसुल नबुझाएका ग्राहकलाई तत्काल बक्यौता रकम भुक्तानी गर्न आग्रह गरेका छन् ।
उनका अनुसार मिटर रिडिङका क्रममा बिलको पछाडिपट्टि महसुल भुक्तानीसम्बन्धी सूचना उल्लेख गर्नुका साथै केन्द्रको फेसबुक पेजमार्फत समेत पटक–पटक ताकेता गरिँदै आएको छ । तोकिएको समयमा महसुल भुक्तानी नगर्ने ग्राहकको विद्युत् लाइन प्रचलित कानुनी व्यवस्था र नेपाल विद्युत् प्राधिकरणको नियमअनुसार विच्छेद गरिने उनले जानकारी दिए ।
यसैगरी, लमही वितरण केन्द्रले विद्युत् महसुल अनिवार्य रूपमा अनलाइन माध्यमबाट भुक्तानी गर्न उपभोक्तालाई आग्रह गरेको छ । केन्द्रले २०८२ साल मंसिरदेखि अनलाइन भुक्तानी अभियान सञ्चालन गर्दै आएकोमा २०८३ साल साउनदेखि अनलाइन माध्यमबाट मात्र महसुल भुक्तानी गर्नुपर्ने व्यवस्था लागू गरेको हो । अनलाइन भुक्तानी प्रणालीलाई प्रभावकारी बनाउँदै उपभोक्तालाई सहज र छिटो सेवा उपलब्ध गराउने तथा भुक्तानी प्रक्रियालाई पारदर्शी बनाउने उद्देश्यले यस्तो व्यवस्था गरिएको कार्यालय प्रमुख फर्सालले बताए ।
प्राधिकरणको व्यवस्थाअनुसार विद्युत् महसुल निर्धारित समयमा भुक्तानी नगरे थप दस्तुर लाग्नेछ । महसुल भुक्तानी गर्ने म्यादको १६औँ दिनदेखि ३०औँ दिनसम्म ५ प्रतिशत, ३१औँ दिनदेखि ४०औँ दिनसम्म १० प्रतिशत र ४०औँ दिनपछि २५ प्रतिशत थप दस्तुर लाग्ने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्