तरकारी खेतीबाट आत्मनिर्भर बन्दै लमहीका किसान, उत्पादन बढे पनि बजारको चिन्ता

प्रिया स्मृती गजमेर
प्रिया स्मृती गजमेर ७ मंसिर २०८३, आईतवार
6 Min Read
Aa

दाङ – कुनै समय आफ्नै गाउँमा उत्पादन हुने सागसब्जीसमेत किनेर खानुपर्ने बाध्यता थियो । अहिले भने त्यही गाउँका किसान आफ्नै खेतबारीमा तरकारी उत्पादन गरेर बिक्री गर्न थालेका छन् । तरकारी खेतीप्रतिको आकर्षण बढ्दै गएको छ भने किसानको आम्दानी र आत्मविश्वास पनि बढ्न थालेको छ तर उत्पादन बढ्दै जाँदा बजार व्यवस्थापन भने किसानका लागि नयाँ चुनौती बनेको छ ।

लमही नगरपालिका वडा नम्बर ९ का भूपबहादुर रानाको अनुभव पनि यस्तै छ । मैने कृषक समूहमा आबद्ध रानाले अहिले आफ्नो खेतमा टमाटर, खुर्सानी, काउलीलगायतका तरकारी खेती गर्दै आउनुभएको छ । उहाँका अनुसार पहिले गाउँका अधिकांश मानिसले सागसब्जी किनेर खाने गरे पनि अहिले गाउँका प्रायः घरपरिवारले आफ्नै खेतमा उत्पादन गरेर बिक्रीसमेत गर्न थालेका छन् ।

यस सिजनमा मात्रै ५० किलो टमाटर बिक्री गर्नुभएका रानाले काउली बिक्री गरिसक्नुभएको छ । खुर्सानी उत्पादनका लागि तयार हुँदैछ भने उहाँ नयाँ तरकारी खेतीको तयारीमा जुट्नुभएको छ । तरकारी खेतीबाट आम्दानी गर्न सकिने भएपछि उहाँको कृषि कर्मप्रतिको उत्साह थपिएको छ ।

लमही नगरपालिका वडा नम्बर ८ को धनपुरवास्थित जयदुर्गा कृषक समूहका महिला किसानको अनुभव पनि उत्साहजनक छ । गत वर्ष लसुन खेतीबाट राम्रो आम्दानी भएपछि यस वर्ष उनीहरूले खेती गरिएको क्षेत्रफलसमेत विस्तार गरेका छन् ।

समूहकी अध्यक्ष सीता चौधरीका अनुसार लसुन खेतीबाट राम्रो प्रतिफल पाएपछि महिला किसानहरू व्यावसायिक खेतीतर्फ आकर्षित भएका छन् । तर उत्पादन राम्रो भए पनि बजारसम्म पुर्‍याउने र उचित मूल्यमा बिक्री गर्ने समस्या भने कायमै छ ।

समूहकी सचिव कञ्चना चौधरी भन्नुहुन्छ, उत्पादन गर्न किसानले मेहनत गरिरहेका छन् तर उत्पादित तरकारी तथा कृषि उपजको बजारीकरणमा स्थानीय सरकारले सहजीकरण गरिदिए किसानले आफ्नो मेहनतको उचित प्रतिफल पाउन सहज हुने थियो ।

किसानका यिनै प्रयासलाई थप प्रोत्साहन गर्न लमही नगरपालिका, सीआरएस र कारितास नेपालको सहकार्यमा कृषि तथा विपद् न्यूनीकरणसम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन भइरहेका छन् । नगरपालिकाका वडा नम्बर ७, ८ र ९ मा सञ्चालित तरकारी खेती, खोला तथा नदी कटान नियन्त्रण र विपद् न्यूनीकरणका योजनाहरूको हालै अनुगमन गरिएको छ ।

सीआरएस र कारितास नेपालले विभिन्न बस्तीका किसानलाई समूहमा संगठित गर्दै तरकारी उत्पादनमा जोड दिएको छ । रासायनिक मलको बढ्दो प्रयोगलाई निरुत्साहित गर्दै जलवायुमैत्री कृषि प्रविधि अपनाउन किसानलाई प्रेरित गरिरहेको छ ।

कारितास नेपाल प्रिपेयर परियोजनाका कृषि प्राविधिक वासुदेव पोख्रेलका अनुसार परियोजनाले किसानलाई कृषि सामग्री खरिदमा सहयोग गर्नुका साथै कृषक पाठशालामार्फत नियमित तालिमसमेत प्रदान गर्दै आएको छ । वर्षमा १८ देखि २० पटकसम्म किसान समूहलाई जलवायुमैत्री प्रविधिबाट कृषि उत्पादन गर्ने विषयमा प्रशिक्षण दिने गरिएको उहाँले बताउनुभयो ।

नगरपालिकाको समन्वयमा २ सय किसानलाई प्रतिकिसान १३ हजार रुपैयाँ बराबरको भौचरमार्फत कृषि सामग्री खरिदमा सहयोग गरिएको छ । यसले किसानलाई आवश्यक सामग्री जुटाउन र उत्पादन बढाउन सहज भएको छ ।

कृषि उत्पादनसँगै विपद् व्यवस्थापनलाई पनि परियोजनाले प्राथमिकता दिएको छ । राप्ती नदी तथा अन्य खोलाले कटान गर्ने जोखिमयुक्त तटीय क्षेत्रमा कम लगानीमा जैविक तटबन्ध निर्माण गर्ने काम भइरहेको छ । यसले बस्ती तथा खेतीयोग्य जमिनलाई कटानबाट जोगाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीले किसानलाई व्यावसायिक कृषि उत्पादनमा जोड्दै उनीहरूको आर्थिक अवस्था सुधार गर्ने उद्देश्यले नगरपालिकाले विभिन्न कार्यक्रम अघि बढाएको बताउनुभयो । किसानले उत्पादन गरेको कृषि उपजलाई बढावा दिनुका साथै आधुनिक तथा जलवायुमैत्री कृषि प्रविधिको प्रयोगलाई प्राथमिकता दिनुपर्ने उहाँको भनाइ छ । किसानले मेहनत गरेर उत्पादन बढाए पनि बजारको उचित व्यवस्थापन हुन नसके अपेक्षित लाभ लिन नसक्ने भएकाले स्थानीय सरकारले बजारीकरण, कृषि सामग्रीको उपलब्धता र आवश्यक प्राविधिक सहयोगका विषयमा ध्यान दिनुपर्ने उहाँले बताउनुभयो ।

नगर उपप्रमुख लक्ष्मी योगीले कृषि क्षेत्रको विकासका लागि किसानको सक्रियता, स्थानीय सरकारको समन्वय र सहयोगी संस्थाको सहकार्य महत्त्वपूर्ण हुने बताउनुभयो। विशेषगरी महिला किसानहरू समूहमा आबद्ध भएर तरकारी खेती तथा अन्य कृषि उत्पादनमा सक्रिय हुनु सकारात्मक पक्ष भएको उहाँको भनाइ छ । किसानलाई उत्पादनमा मात्रै सीमित नराखी उनीहरूले उत्पादन गरेका वस्तुको उचित मूल्य पाउने वातावरण निर्माण गर्न आवश्यक रहेको उहाँले बताउनुभयो ।

उहाँले किसानलाई रासायनिक मलको अत्यधिक प्रयोगबाट निरुत्साहित गर्दै जैविक तथा जलवायुमैत्री कृषि प्रणालीतर्फ आकर्षित गर्नुपर्नेमा जोड दिनुभयो । कृषि उत्पादनसँगै बाढी, नदी कटान तथा अन्य प्राकृतिक विपद्बाट किसानका खेतबारी र बस्ती जोगाउन पूर्वतयारी र न्यूनीकरणका कार्यक्रमलाई निरन्तरता दिनुपर्ने उहाँको भनाइ थियो ।

अनुगमनमा निमित्त प्रमुख प्रशासकीय अधिकृत केशव लम्साल, योजना शाखा प्रमुख सुनिता पोख्रेल, कृषि शाखा प्रमुख अमर चौधरी, कार्यपालिका सदस्यहरू सुनिता चौधरी र देवा परियार कारितास नेपालका अनुगमन तथा मूल्याङ्कन संयोजक गणेश भट्ट, कोहलपुर कार्यालय प्रमुख जनक शर्मा, परियोजना संयोजक शुभम पौडेल, विपद् व्यवस्थापन अधिकृत सुरेश शर्मा, अनुगमन तथा मूल्याङ्कन अधिकृत प्रताप चौधरी, कृषि अधिकृत दिवश देवकोटा, कृषि प्राविधिक वासुदेव पोख्रेल र सामाजिक परिचालक सरस्वती सुवेदीतथा पत्रकारहरूको सहभागिता थियो । सीआरएस र कारितास नेपालका प्रतिनिधिहरूले सञ्चालित तथा सम्पन्न योजनाबारे जानकारी गराएका थिए ।

किसानको मेहनतले गाउँमा तरकारी उत्पादन बढ्दै गएको छ । खेतबारीमा हरियाली फर्किएको छ र किसानको आम्दानीको आधार पनि विस्तार हुँदैछ तर उत्पादन गरेर मात्रै किसानको जीवनस्तरमा अपेक्षित परिवर्तन आउँदैन । उत्पादित वस्तुको उचित मूल्य, सहज बजारीकरण र दिगो कृषि प्रणालीको सुनिश्चितता पनि उत्तिकै आवश्यक छ । किसानले उत्पादन गरेको तरकारी बजारसम्म पुर्‍याउने वातावरण बनाउन सके लमहीका गाउँहरू तरकारी उत्पादनका केन्द्र मात्र होइन, कृषकको आर्थिक समृद्धिका आधारसमेत बन्न सक्छन् ।

प्रिया स्मृती गजमेर

प्रतिक्रिया दिनुहोस्