दाङ – लमही नगरपालिका ४ स्थित बगही खोलामा पक्की पुल निर्माण भएपछि स्थानीयवासीलाई आवतजावतमा सहज भएको छ । विगतमा खोला गहिरो हुँदा विशेषगरी वर्षायाममा आवतजावत गर्न समस्या भोग्दै आएका स्थानीयलाई पुल निर्माणपछि राहत मिलेको छ ।
पुल नहुँदा वर्षायाममा खोला तर्न निकै कठिन हुने गरेको थियो । विद्यालय जाने बालबालिका, बजार आवतजावत गर्ने स्थानीय तथा खेतबारीमा जाने किसानले सास्ती खेप्नुपर्ने अवस्था थियो । तर अहिले पक्की पुल निर्माण भएपछि दैनिक आवतजावत सहज भएको स्थानीय रामदिन चौधरी बताउनुहुन्छ ।
स्थानीय चौधरीका अनुसार पुल निर्माण हुनुअघि वर्षायाममा खोला तर्न निकै समस्या हुने गरेको थियो । अहिले भने बालबालिका, किसान तथा सर्वसाधारणलाई आवतजावत गर्न सहज भएको छ ।
करिब एक करोड रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको उक्त पुलको लमही नगरपालिका ४ का वडा अध्यक्ष सुवास न्यौपाने र लमही नगरपालिकाका नगर प्रमुख जोगराज चौधरीले संयुक्त रूपमा शिलान्यास गर्नुभएको थियो ।
पुल निर्माणपछि स्थानीयको आवतजावत सहज हुनुका साथै उक्त मार्गको उपयोगिता पनि बढेको वडा अध्यक्ष सुवास न्यौपाने बताउनुहुन्छ । उहाँका अनुसार अहिले यही मार्ग हुँदै मानिसहरू कोइलाबाससम्म पुग्ने गरेका छन् ।
वडा अध्यक्ष न्यौपानेले पुल निर्माणले स्थानीयको वर्षौंदेखिको आवागमन समस्यालाई समाधान गर्न सहयोग पुगेको उल्लेख गर्दै आगामी दिनमा पनि वडाको आवश्यकताअनुसार विकास निर्माणका कामलाई प्राथमिकता दिने बताउनुभएको छ ।
वडा अध्यक्ष न्यौपानेले नागरिकलाई सहज र सुरक्षित आवागमनको सुविधा उपलब्ध गराउने उद्देश्यले नगरपालिकाले पूर्वाधार विकासलाई प्राथमिकता दिएको बताउनुभएको छ । उहाँका अनुसार स्थानीयको आवश्यकता र मागका आधारमा सडक, पुल तथा अन्य विकास निर्माणका कामलाई अगाडि बढाउँदै लगिएको छ ।
बगही खोलामा पक्की पुल निर्माण भएपछि वर्षायाममा खोला तर्नुपर्ने बाध्यता हटेको छ । यसले स्थानीयको दैनिक जीवनयापन सहज बनाउनुका साथै शिक्षा, कृषि, व्यापार तथा अन्य सामाजिक गतिविधिमा समेत सहयोग पुर्याएको छ ।
स्थानीय आवश्यकतालाई सम्बोधन गर्दै निर्माण गरिने यस्ता पूर्वाधारले नागरिकको दैनिकी सहज बनाउनुका साथै समग्र क्षेत्रको विकासमा समेत महत्वपूर्ण योगदान पुर्याउने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्