हिंसामुक्त समाज निर्माणको सन्देशसहित राजपुरमा १६ दिने अभियान सुरु

दाङ समाचार
दाङ समाचार ११ मंसिर २०८३, बिहीबार
4 Min Read
Aa

दाङ– लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको पहिलो दिन दाङको राजपुर गाउँपालिकामा दीप प्रज्वलन कार्यक्रम गरी अभियानको शुभारम्भ गरिएको छ । लैङ्गिक हिंसा अन्त्यका लागि सचेतना अभिवृद्धि गर्ने, विभेदपूर्ण सोच र व्यवहार परिवर्तन गर्ने तथा हिंसापीडितलाई न्याय र संरक्षणको प्रत्याभूति दिलाउने उद्देश्यसहित दीप प्रज्वलन गरिएको हो ।

नेपाल नेत्रज्योति संघ, मानव कल्याण तथा संरक्षण केन्द्र, बिलिभ कार्यक्रम दाङ, सिपि नेपाललगायत विभिन्न संघसंस्थाको सहकार्यमा राजपुर गाउँपालिकाको बेला चोकमा दीप प्रज्वलन कार्यक्रम आयोजना गरिएको थियो ।

राजपुर गाउँपालिका उपाध्यक्ष धनपतिदेवी यादवको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष शरदकुमार बुढाथोकीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सहभागीहरूले लैङ्गिक हिंसा अन्त्यका लागि घरपरिवारदेखि समाज र राज्यका सबै तहबाट जिम्मेवार भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि शरदकुमार बुढाथोकीले लैङ्गिक हिंसा अन्त्य गर्न कानुनी व्यवस्था मात्र पर्याप्त नहुने भन्दै प्रत्येक व्यक्तिको सोच, व्यवहार र सामाजिक दृष्टिकोणमा परिवर्तन आउन आवश्यक रहेको बताए । हिंसामुक्त समाज निर्माणका लागि महिला तथा बालबालिकाको सम्मान, सुरक्षा र समान अधिकार सुनिश्चित गर्नुपर्ने उनको भनाइ थियो । उनले हिंसाका घटना लुकाउने प्रवृत्तिको अन्त्य गर्दै पीडितलाई खुलेर आफ्ना समस्या राख्न सक्ने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए ।

गाउँपालिका उपाध्यक्ष धनपतिदेवी यादवले लैङ्गिक हिंसा कुनै एक व्यक्ति वा परिवारको मात्र समस्या नभई समग्र समाजको साझा चुनौती भएको बताइन् । महिलामाथि हुने हिंसा, विभेद, शोषण र अन्याय अन्त्य गर्न सबै नागरिक सचेत र जिम्मेवार हुनुपर्ने उनको भनाइ थियो । उनले महिलालाई समान अवसर, सम्मान र निर्णय प्रक्रियामा अर्थपूर्ण सहभागिता गराउन सके मात्रै हिंसामुक्त समाज निर्माण गर्न सकिने बताइन् ।

नेपाल नेत्रज्योति संघ दाङका सचिव घनश्याम सुवेदीले लैङ्गिक हिंसाविरुद्धको अभियानलाई औपचारिक कार्यक्रम र नारामा मात्र सीमित राख्न नहुने बताए । समाजमा रहेका विभेदकारी सोच र व्यवहार परिवर्तन गर्न निरन्तर जनचेतनामूलक गतिविधि सञ्चालन गर्नुपर्नेमा उनले जोड दिए । हिंसा अन्त्यका लागि सरकारी निकाय, सामाजिक संघसंस्था र नागरिकबीच सहकार्य आवश्यक रहेको उनको भनाइ थियो ।

इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक साहिल बुढाथोकीले लैङ्गिक हिंसाका घटनालाई सामान्य रूपमा लिन नहुने बताए । हिंसामा परेका व्यक्तिले समयमै प्रहरी तथा सम्बन्धित निकायमा जानकारी गराउनुपर्ने उल्लेख गर्दै पीडितको गोपनीयता, सुरक्षा र न्यायलाई प्राथमिकता दिएर प्रहरी प्रशासनले काम गर्ने बताए । उनले हिंसा सहेर बस्नेभन्दा त्यसविरुद्ध आवाज उठाउन र कानुनी उपचार खोज्न सबैलाई आग्रह गरे ।

नेपाल नेत्रज्योति लमही आँखा अस्पताल प्रशासनिक समितिका संयोजक लीला शाहले महिलामाथि हुने हिंसा अन्त्यका लागि परिवार र समाजबाटै सकारात्मक व्यवहारको सुरुवात हुनुपर्ने बताइन् । महिला र पुरुषबीच समानता कायम गर्दै एकअर्काको सम्मान गर्ने संस्कार विकास गर्न सके हिंसा न्यूनीकरणमा महत्वपूर्ण योगदान पुग्ने उनको भनाइ थियो ।

त्यसैगरी कार्यक्रममा सहभागी किशोरी सञ्जु चौधरी र उमा भण्डारीले लैङ्गिक हिंसाविरुद्धको अभियानमा महिला, पुरुष, युवा तथा बालबालिकाको समान सहभागिता आवश्यक रहेको धारणा राखेका थिए । उनीहरूले हिंसाविरुद्ध बोल्ने, पीडितलाई सहयोग गर्ने र समाजमा विद्यमान कुरीति तथा विभेदकारी अभ्यास अन्त्य गर्न सबैले आ–आफ्नो ठाउँबाट पहल गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रमको सञ्चालन राजपुर गाउँपालिकाकी मनोविमर्शकर्ता मनिता चौधरीले गरेकी थिइन् । दीप प्रज्वलनमार्फत हिंसाविरुद्ध एकजुट हुने प्रतिबद्धता व्यक्त गर्दै सहभागीहरूले लैङ्गिक समानता, सम्मान र सुरक्षित समाज निर्माणको सन्देश प्रवाह गरेका थिए ।

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानले हिंसाविरुद्ध जनचेतना फैलाउने, पीडितको आवाजलाई सम्बोधन गर्ने र समाजमा सकारात्मक सोच तथा व्यवहार विकास गर्ने लक्ष्य राखेको छ । लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान मंसिर ९ देखि २४ गतेसम्म विभिन्न कार्यक्रम गरि मनाईने गरिन्छ ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्