देउखुरीमा विमानस्थल आवश्यक छ – मेटमणि चौधरी

दिवाकर पोख्रेल
दिवाकर पोख्रेल १६ माघ २०८२, बिहीबार
2 Min Read
Aa

दाङ – लुम्बिनी प्रदेशको स्थायी राजधानी घोषणा भइसकेपछि देउखुरीको पूर्वाधार विकासलाई लिएर बहस चर्किरहेका बेला पूर्व शहरी विकासमन्त्री मेटमणि चौधरीले देउखुरीमा विमानस्थल निर्माण अब अपरिहार्य भइसकेको बताउनुभएको छ । राजधानीको हैसियत, भौगोलिक उपयुक्तता र क्षेत्रीय पहुँचलाई आधार मान्दै उहाँले देउखुरीमा विमानस्थल निर्माण सम्भव मात्र नभई आवश्यकताको विषय भइसकेको दाबी गर्नुभएको हो ।

बिहीबार दाङको लमहीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट दाङ क्षेत्र नं. १ का उम्मेदवारसमेत रहनुभएका चौधरीले देउखुरी छिमेकी जिल्लाका लागि पनि पायक पर्ने क्षेत्र भएकाले विमानस्थल विकास अब आफ्नो प्रमुख एजेन्डा भएको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, ‘देउखुरी राजधानी हो । छिमेकी जिल्लाका लागि पनि पायक पर्छ । अब मेरो एजेन्डामध्ये विमानस्थल पनि पर्छ । यो गज्जबले सम्भव छ ।’

लमही–गढवा सडकखण्डअन्तर्गत राप्ती पुलदेखि पूर्वतर्फ फैलिएको बगर क्षेत्रमा प्रशस्त जग्गा उपलब्ध रहेको उल्लेख गर्दै उहाँले उक्त क्षेत्र विमानस्थल निर्माणका लागि उपयुक्त रहेको औँल्याउनुभयो ।

आफू शहरी विकासमन्त्री रहँदा शिक्षा क्षेत्र र भौतिक पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर बजेटको व्यवस्था तथा कार्यान्वयनमा पहल गरेको स्मरण गराउँदै चौधरीले अब सेवा विस्तारमा केन्द्रित हुने प्रतिबद्धता व्यक्त गर्नुभयो । विगतमा गरेका कामकै कारण यसपटकको निर्वाचनमा आफू जितको नजिक रहेको उहाँको दाबी थियो ।

देउखुरी स्वास्थ्य सेवाको हिसाबले पछाडि रहेको स्वीकार गर्दै उम्मेदवार चौधरीले लमहीमा संघीय सरकारअन्तर्गत रहने गरी सेवा विस्तारसहितको ट्रमा सेन्टर स्थापना तथा भालुवाङमा विशेषज्ञ सेवासहितको आधुनिक अस्पताल निर्माणलाई प्राथमिकतामा राखिने बताउनुभयो ।

विगतमा सम्पन्न गरिएका कामको विस्तृत तथ्यांक र बजेट सार्वजनिक गर्दै उहाँले आगामी योजनासमेत प्रस्तुत गर्नुभयो । यसका आधारमा आफू निर्वाचन जितको नजिक पुगेको उहाँको भनाइ थियो ।

चुनाव प्रचार–प्रसार समितिका संयोजक अर्जुन अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य इन्द्रजित चौधरी, दामा शर्मा, वीरबहादुर केसी, सुदन खनाल, रामप्रसाद घिमिरेलगायतको उपस्थिति थियो । कार्यक्रमको सहजीकरण पत्रकार चुमा आचार्यले गर्नुभएको थियो ।

दिवाकर पोख्रेल

प्रतिक्रिया दिनुहोस्