देउखुरीमा गृहणी महिलाको सोंच बदल्न क्रियटिङ पोसिबिलिटिज नेपालको पहल

दुखहरण यादव
दुखहरण यादव १५ फाल्गुन २०८२, शुक्रबार
6 Min Read
Aa

दाङ – देउखुरी क्षेत्रका धेरै महिलाको जीवन लामो समयसम्म घरको घेराभित्र सीमित रह्यो । चुलो चौका, घर गृहस्थी र पारिवारिक जिम्मेवारीमै केन्द्रित दैनिकीका कारण उनीहरूको विचार, अनुभव र क्षमता सार्वजनिक स्थानसम्म पुग्न सकेको थिएन। बोल्ने इच्छा हुँदाहुँदै पनि आत्मविश्वासको अभाव, सामाजिक संकोच र अवसरको कमीले उनीहरू मौन रहन बाध्य थिए ।

तर पछिल्ला वर्षहरू क्रियटिङ पोसिबिलिटिज नेपालले सञ्चालन गर्दै आएको वक्तृत्वकला क्षमता अभिवृद्धि तालिमले यही मौनतालाई आवाजमा रूपान्तरण गर्ने काम गरिरहेको देखिएको छ । संस्थाले देउखुरी क्षेत्रका विपन्न तथा पिछडिएका महिलालाई लक्षित गर्दै सञ्चालन गरेको भाषण तथा उद्घोषण तालिमले महिलामा केवल बोल्ने सीप मात्र होइन, नागरिक अधिकार, कर्तव्य र सामाजिक जिम्मेवारीबारे चेतना समेत बढाएको सहभागीहरूको अनुभव छ ।

तालिमपछि महिलाहरू समूह, समिति, संघ संस्था र स्थानीय तहको नेतृत्वमा आफूहरू पनि सक्षम रहेको प्रतिक्रिया दिन थालेका छन । सहभागीहरूका अनुसार यो तालिमले भाषण सिकाउनु मात्र होइन, सार्वजनिक स्थानमा जाँदा, मञ्चमा उभिँदा वा माइक समात्दा लाग्ने डर र लाजलाई आत्मविश्वासमार्फत सहज रूपमा हटाउने अभ्यास गराएको छ ।

तालिममा सहभागी महिलाहरूको अनुभव अझ भावनात्मक र परिवर्तनकारी देखिन्छ । सहभागी निरमा चौधरी भन्छिन्, “पहिले सार्वजनिक कार्यक्रममा उभिनु त परको कुरा, आफ्नो नाम भन्न पनि डर लाग्थ्यो । अहिले माइक समातेपछि डर होइन, जिम्मेवारी महसुस हुन्छ । अब गाउँको समस्या बोल्न र देश निर्माणका विषय उठाउन तयार छु ।”

त्यस्तै शिवा वलिले ले तालिमले जीवन दृष्टिकोण नै बदलिदिएको बताइन्। “हामीलाई बोल्न नसक्ने भनेर कमजोर ठानिन्थ्यो । तर यहाँ सिकेपछि बुझियो डर मनभित्रको भ्रम रहेछ । अब सभा, विद्यालय, आमा समूह जहाँ पनि निर्धक्क बोल्न सक्छु,” उनले भनिन ।

अर्की सहभागी नन्दा कुमारी चौधरीका अनुसार तालिमले सामाजिक व्यवहारमै परिवर्तन ल्याएको छ । “पहिले सार्वजनिक स्थानमा जाँदा लाजले टाउको झुक्थ्यो । अहिले कसरी उभिने, कसरी बोल्ने र कसरी आफ्ना कुरा स्पष्ट राख्ने भन्ने सिक्यौं । आत्मविश्वास बढेपछि परिवारले पनि फरक दृष्टिले हेर्न थालेको छ,” उनले सुनाइन ।

तालिमको अर्को महत्वपूर्ण पक्ष प्रशिक्षकसँगको आत्मीय सम्बन्ध बनेको सहभागीहरूले बताएका छन । रेडियो प्रस्तुति र सञ्चार क्षेत्रका दुखहरण यादवले प्रशिक्षणका क्रममा सहभागीहरूको व्यक्तिगत डर, संकोच र जीवनका पीडाहरू सुन्ने वातावरण बनाएका थिए । सहभागीहरूका अनुसार आफ्ना दुःख र भोगाइ खुलेर सुनाएपछि मन हलुका भएको र त्यसले बोल्ने आत्मबल झनै बढाएको अनुभव भयो । “हामीलाई कसैले यति ध्यान दिएर सुनेको पहिलो पटक थियो,” सुनिता चौधरी पौडेलले भनिन्, “मन हलुका भएपछि आवाज पनि स्वतः खुल्दो रहेछ ।”

“पहिले भीड देख्दा नै डर लाग्थ्यो, बोल्न त परै जाओस्, उभिन पनि सक्दिनथेँ,” सहभागी कृष्णलता चौधरीले भनिन्, “अब कसरी बोल्ने, कसरी उभिने र कसरी आफ्नो कुरा राख्ने भन्ने सिक्यौँ । डर आफैँ घट्दै गएको महसुस भयो ।” अर्की सहभागी पानमति चौधरीले थपिन्, “यो तालिमले हामीलाई शब्द मात्रै दिएको होइन, सार्वजनिक ठाउँमा आफूलाई प्रस्तुत गर्ने आत्मविश्वास दिएको छ।”

सिपि नेपालका कार्यक्रम निर्देशक दिनेशराज सापकोटाका अनुसार अहिलेसम्म देउखुरी क्षेत्रका दुई सयभन्दा बढी घरमा सीमित महिलालाई तालिममार्फत सार्वजनिक अभिव्यक्तिको अभ्यास गराइएको छ । “घरभित्र मात्र सीमित भएका दिदीबहिनीहरू अहिले कार्यक्रम सञ्चालन गर्ने, मन्तव्य राख्ने र नेतृत्व लिन सक्ने अवस्थामा पुगेका छन्,” उनले बताए, “यो परिवर्तन बोलाइको मात्र होइन, सोच र आत्मविश्वासको परिवर्तन हो ।”

यही अभियानअन्तर्गत गढवामा महिला सशक्तिकरणका लागि दुई दिने वक्तृत्व क्षमता अभिवृद्धि कार्यशाला सिपि हलमा सम्पन्न भएको छ । सिपि नेपालकी केन्द्रीय सदस्य जुनु चौधरीको सभाध्यक्षता तथा कार्यक्रम संयोजक दिनेशराज सापकोटाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा महिलाको अभिव्यक्ति क्षमता विकासलाई केन्द्रमा राखिएको थियो ।

कार्यक्रममा सिपि नेपालकी सरिता चौधरी, दीपा चौधरी, हेमराज शर्मा र रिया चौधरीले मन्तव्य राख्दै महिलाले बोल्न सिक्नु भनेको केवल मञ्चमा उभिनु मात्र नभई समाज परिवर्तनको आधार तयार हुनु भएको धारणा व्यक्त गर्नुभयो । उहाँहरूले महिलाको सक्रिय सहभागिता बिना समावेशी विकास सम्भव नरहेको उल्लेख गर्दै यस्ता व्यवहारिक तालिमले महिलालाई नेतृत्वतर्फ अग्रसर गराउने बताउनुभयो ।

महिला शसक्तिकरणको लागि महिला सशक्तिकरणका विषयमा प्रशिक्षण दिँदै सिपि नेपालकि सरिता चौधरीले महिलालाई अवसर र आत्मविश्वास प्रदान गरियो भने परिवर्तन स्वाभाविक रूपमा सम्भव हुने बताउनुभयो । “महिला बोल्न नसक्ने होइनन्, बोल्ने वातावरण नपाएका हुन्,” उहाँले भन्नुभयो, “जब उनीहरूले डरभन्दा माथि उठेर आफ्नो अनुभव व्यक्त गर्न थाल्छन्, त्यहीँबाट सशक्तिकरण सुरु हुन्छ ।” क्रियटिङ पोसिबिलिटिज नेपालको पहलले ग्रामीण समाजमा गहिरो रूपमा बसेको मौनताको संस्कारलाई चुनौती दिएको देखिन्छ ।

सामाजिक संकोच, आत्मविश्वासको कमी र अवसर अभावका कारण दबिएका आवाजहरूलाई तालिममार्फत सार्वजनिक संवादमा ल्याउने प्रयासले स्थानीय स्तरमा सकारात्मक सामाजिक रूपान्तरणको संकेत दिएको छ । विशेषगरी विपन्न समुदायका महिलालाई लक्षित गरी सञ्चालन गरिएको कार्यक्रमले सशक्तिकरणलाई भाषणभन्दा व्यवहारमा रूपान्तरण गरेको सहभागीहरूको अनुभवले पुष्टि गर्छ ।

कार्यक्रमको समापनमा सभाध्यक्ष जुनु चौधरीले महिलाको आवाज बलियो भए मात्र समाज समावेशी र सन्तुलित बन्न सक्ने बताउँदै यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने आवश्यकता औँल्याउनुभयो । देउखुरी क्षेत्रमा सञ्चालन भइरहेको यो पहलले स्पष्ट सन्देश दिएको छ सशक्तिकरण केवल नीतिगत घोषणा होइन, अभ्यास, आत्मीय मार्गदर्शन र आत्मविश्वास निर्माणको निरन्तर प्रक्रियाबाट सम्भव हुन्छ । चुलो–चौकामा सीमित आवाजहरू जब सार्वजनिक मञ्चमा निर्धक्क गुञ्जिन थाल्छन, हो त्यहीँबाट समाज रूपान्तरणको वास्तविक यात्रा सुरु हुन्छ ।

दुखहरण यादव

प्रतिक्रिया दिनुहोस्